जाजरकाेट । आइतबार देखि जाजरकोट बहुप्राविधिक शिक्षालय काफलचौरको मुल ढोकामा तालाबन्दी गरिएको छ । शिक्षालयमा तालाबन्दी भएपछि विद्यार्थीको पढाई सँगै नयाँ भर्ना समेत ठप्प छ । सीटीईभीटी बाट सञ्चालित जाजरकोट जिल्लाकै एकमात्र सरकारी शिक्षालय काफलचौरमा राजनीतिक दलको दवावले नै तालाबन्दी गरिएको त्यहाँ अध्ययनरक्त विद्यार्थीहरुले बताएका छन् ।
राजनीतिक दलहरुका दवावका कारण शिक्षालयलाई राजनीतिक थलो बनाउने, अनेत्र शिक्षालयमा नभएका राजनीतिक दलका हर्कतहरु जाजरकोट बहुप्राविधिक शिक्षालयमा देखिएको र शिक्षालय प्रमुखलाई त्यहाँ बाट हटाउन राजनीतिक दल लागि परेको, शिक्षालयमा नियमित पढाई नभएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
शिक्षालयमा विभिन्न राजनीतिक दल र तिनीहरुका विद्यार्थी संगठनहरुले शिक्षालय नभई आफ्नो कार्यालय बनाउन खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरुले शिक्षालयमा तालाबन्दी गरेको बताएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई पत्र पठाउदै विद्यार्थीहरुले शिक्षालयमा नियमिति पठनपाठनको वातावरण तयार पारिदिन आग्रह गरेका छन् ।
यस्तो छ प्रशासनलाई लेखेको पत्र
उपरोक्त सम्बन्धमा यो निवेदन पेश गर्नुको खास कारण यो छकि आज मिति २०८०÷०४÷२२ गतेका दिन यस जाजरकोट बहुप्राविधिक शिक्षालयमा निरन्तर रुपमा पठनपाठन अवरोध आउनुका साथै यस शिक्षालयमा हुने गरेका विविध कारणहरु ( राजनीतिक दमन, तथा अन्य शिक्षालयमा गर्न मनाही हुने क्रियाकलापहरु ) हुने भएकोले सोही विषयमा राजनीतिक दबरले शिक्षालयमा उपस्थित भएर विभिन्न गर्न नहुने क्रियाकलापहरु गरेकोले यो शिक्षालय हो वा कुनै पार्टी कार्यालय हो छुट्याउन हम्मे भएको छ ।सोही विषयमा केही राजनीतिक दलका व्यक्तिहरु आएर कलेज बाट चन्दा (रकम) मागेर अनावश्यक कुरामा हाम्रो शिक्षालय प्रमुख सँग लफडा गरिएको छ । जहाँ विद्यार्थीलाई शैक्षिक सामग्रीका समानहरु उपलब्ध गर्न निकै कठिन छ । शिक्षालय प्रमुख सरलाई ( जुत्ताको माला, कालोमोसो दलेर पठाउँछु ) भन्ने जस्ता बोल्न नहुने कुरा बोलेर आधात पुगेको छ ।
त्यस्तो हुदाँ पनि हाम्रा शिक्षकहरु समेत मौन रहेको देखिन्छ । उक्त विषयमा राजनीतिक हो या, अन्य कुनै कुरा ? सोही विषयमा निश्कर्ष पाउनुछ । हामीलाई विभिन्न कुरामा निरन्तर पठनपाठन, शैक्षिक सामग्री, शिक्षक उपलब्ध आदि तपशिल बमोजिमका मागहरुलाई ध्यानआकर्षण गर्दै जिल्ला प्रशासन समक्ष यो निवेदन पेश गरिन्छ ।
आशा छ यो माग छिट्टै पुरा हुने छ ।निवेदक
जाजरकोट बहुप्राविधिक शिक्षालय
अध्ययनरक्त विद्यार्थीहरु
‘प्रिन्सपल सरसँग चन्दा मागियो’
शिक्षालयका विद्यार्थीहरुले शिक्षकलाई न्याय दिलाउन शिक्षालयमा ताला लगाएका छन् । जाजरकोटको भेरी नगरपालिका ५ मा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले शिक्षालयका प्रिन्सिपल दानबहादुर ठकुरीलाई न्याय दिलाउन शिक्षालयमा ताला लगाएका हुन् । सोमबार प्रिन्सिपल ठकुरीका लागि विद्यार्थीहरुले ताला लगाएका हुन् ।
आइतबार एमालको भातृ संगठन अनेरास्ववियु आफ्नो संगठन विस्तार गर्न बहुप्राविधिक शिक्षालयमा पुगेको थियो । सोही क्रममा सहयोगका लागि भनेर अनेरास्ववियुका नेताहरुले प्रिन्सिपल ठकुरीसंग ५० हजार मागेको र ठकुरीले दिन सकिन्न भनेपछि उनलाई धम्की दिइएको त्यहाँका एक शिक्षकले बताए । धम्कीपछि प्रिन्सिपल ठकुरी आफू असुरक्षित रहेको भन्दै शिक्षालयबाट भागेको बताइएको छ ।
प्रिन्सिपल ठकुरी शिक्षालयबाट भागेपछि शिक्षकलाई धम्की दिने अनेरास्ववियुका नेतालाई कार्वाहीको माग गर्दै सोही शिक्षालयमा पढ्ने विद्यार्थीहरुले ताला लगाएका हन् । शिक्षालय जस्तो पवित्र स्थानमा आएर राजनीति गर्नु र शिक्षकलाई धम्कि दिनु सही नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थी कृष्ण खत्रीले बताए । प्रिन्सिपल ठकुरीलाई सम्मानका साथ शिक्षालयमा उपस्थित गराउन पनि विद्यार्थीहरुले माग गरेका छन् ।
‘तालाबन्दी हामीले गरेका होइनौं, भ्रम फैलाईयो’
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले जाजरकोट बहुप्राविधिक शिक्षालयमा तालाबन्दी नगरेको बताएको छ । संगठनका जिल्ला अध्यक्ष प्रकाशमान सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षालयमा आफ्नो संगठनले तालाबन्दी नगरेको बताएका हुन् ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा संगठनको नाममा भम्रपूर्ण सूचना, समाचार तथा अफवाह फैलाउने काम भएकाले संगठनको गम्भीर ध्यानआकर्षण भएको अध्यक्ष सिंहले बताए । आगामी दिनमा यस्ता गलत सूचना तथा समाचार प्रकाशन नगर्न आग्रह समेत गरेका छन् ।
कमिटी गठनमा शिक्षालय प्रमुखले रोक लगाए : अनेरास्ववियु
जाजरकोट बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियुको कमिटी गठनमा शिक्षालय प्रमुख दानबहादुर ठकुरीले रोक लगाएको भन्दै संगठनको गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । ‘जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु’ संगठनको अभियान अन्तर्गत साउन २१ गते शिक्षालयमा कमिटी गठन गर्न अनेरास्ववियूका केन्द्रीय सदस्य दिनेश गौतम, प्रदेश कमिटी सदस्य विवश भारती र जिल्ला संयोजक प्रकाशनमान सिंह सहित गएका थिए । त्यहाँ शिक्षालय प्रमुख दानबहादुर ठकुरीले कमिटी गठन तथा वितरण कार्यमा अवरोध गरेको आरोप संगठनको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘कार्यक्रमको अघिल्लो दिन ( श्रावण २० गते ) नै शिक्षालयका प्रमुखलाई कार्यालयमा नै भेटेर संगठनको कार्यक्रमका बारेमा आधिकारिक रुपमा जानकारी गराई प्रमुख स्वयंमले कार्यक्रमका लागि आवश्यक हल देखाएकोमा भोलिपल्ट कमिटी गठनको लागि विद्यार्थी भेला गरेको समयमा शिक्षालय प्रमुख ठकुरी कार्यक्रम स्थलमा गई अर्मयादित शैलीमा यो किन, कसरी गरेको ? भनेर आक्रमक रुपमा प्रस्तुत भएको र कार्यक्रम पश्चात सोही विषयमा कुरा गर्न खोज्दा कलेज तपाईहरु नै चलाउनुहोला भन्दै गैर जिम्मेवारी ढंगले गाली गलौज गर्दै निस्किएको र पछि प्रमुख ठकुरीले संगठन बाट ज्यान मार्ने धम्की आयो भन्ने जस्ता अत्यन्त भ्रमाहक र तथ्यहीन कुराहरु फैलाएर हाम्रो संगठनको वदनाम गरेको प्रति हाम्रो घोर आपति छ ।
शिक्षालय प्रमुख जस्तो जिम्मेवार व्यक्तिले निश्चित व्यक्ति र संगठनको ओक्साहटमा लागेर कुनै संगठनको बदनाम हुने गरी हुदै नभएका विषयलाई अतिरंजित गर्नु खेतजनक छ । प्रमुखको जिम्मेवारीमा रहेका ठकुरीलाई कमिटी विस्तार गर्न पाउने हाम्रो सांगठनिक अधिकारलाई ख्याल गर्न आफ्नो पदिय मर्यादा नभुल्न र अन्यथा जिम्मेवारी बाट विदा भएर बाटो खुल्ला गर्न चुुनौती दिन चाहान्छौं । यस अघि पटकपटक शिक्षालयमा कार्यरत स्टाप तथा विद्यार्थीहरु सँग अस्वभाविक रुपमा प्रस्तुत हुने गरेका प्रमुख ठकुरीलाई यस्ता गल्ती नदोेहो¥याउन सचेत गराउँदै यथासिघ्र शिक्षालयमा उपस्थित भएर निजको अनुपस्थितिले विद्यार्थीहरुद्धारा गरिएको तालाबन्दी खोली नियमित पठनपाठनको लागि सहजीकरण गर्न माग गर्दछौं ।’
शिक्षालय प्रमुख सँग सम्पर्क भएको छैन्, दुवै पक्षलाई राखेर छलफल गर्छौ : सीडीओ शर्मा
जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जाजरकोट बहुप्राविधिक शिक्षालयका प्रमुख दानबहादुर ठकुरी सँग सम्पर्क हुन नसकेको बताए । २१ गते ठकुरी छिन्चु पुगेपछि प्रजिअ शर्माले फोन गरेका थिए । त्यसपछि प्रमुख ठकुरीले आफुलाई जाजरकोट बस्न मिल्ने वातावरण नभएको र आफु माथि विद्यार्थी संगठनका नेताहरुले दुव्र्यवहार गरेको कुरा प्रजिअ शर्मा सँग बताएका थिए ।
त्यसपछि ठकुरीलाई प्रजिअ शर्माले तपाई जाजरकोट आउनुहोस् बस्ने वातावरण हामी मिलाउछौं भने, तर ठकुरीले शिक्षालयमा निकै राजनीति करण भएको, विद्यार्थी नेताहरुले धम्की दिएको भन्दै गुनासो पोखेको प्रजिअ शर्माले बताए । अहिले शिक्षालय प्रमुख ठकुरीको मोबाइल स्वीच अफ छ । यता प्रजिअ शर्माले २२ गते अनेरास्ववियुका नेता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, जनप्रतिनिधीहरुलाई राखेर छलफल गरेको बताए ।
विद्यार्थी नेताहरु र प्रमुख ठकुरीलाई सँगै राखेर छलफल गर्दा निष्कर्शमा पुगिन्थ्यो, प्रजिअ शर्माले भने, ‘शिक्षालय प्रमुख ठकुरी सँग सम्पर्क हुन सकेको छैन, विद्यार्थी नेताहरु सँग हिजो छलफल भएको थियो । खासमा के भएको हो भन्ने बुझ्न सकिएको छैन् ।’ विद्यार्थीका गुनासाहरु आएका छन् हामी तत्काल शिक्षालयको तालाबन्दी खोल्ने प्रयासमा छौं । प्रमुख ठकृरीलाई जाजरकोट ल्याउन समेत प्रयास गरिएको शर्मा बताए ।
हाम्रो पहुँच संवाददाता । २३ श्रावण २०८०, मंगलवार