कुशेले बनायो स्थानीय पाठ्यक्रम “हाम्रो कुशे, हाम्रो खुशी”

कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय पाठ्यक्रममा कुशे गाउँपालिकाको संस्कृति, सम्पदा, पेशा, व्यवसाय र प्रविधि जस्ता परिचय, जीवन उपयोगी सीप, वातावरण, सामाजिक चुनौती, विपद व्यवस्थापन र खुशीका लागि शिक्षा जस्ता बिषयहरुलाई पाठ्यक्रममा समावेश गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिए ।

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गरेको व्यवस्था अनुसार कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय पाठ्यक्रममा कुशे गाउँपालिकाको संस्कृति, सम्पदा, पेशा, व्यवसाय र प्रविधि जस्ता परिचय, जीवन उपयोगी सीप, वातावरण, सामाजिक चुनौती, विपद व्यवस्थापन र खुशीका लागि शिक्षा जस्ता बिषयहरुलाई पाठ्यक्रममा समावेश गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिए ।

१ कक्षादेखि ८ कक्षासम्मका लागि निर्माण गरिएको स्थानीय पाठ्यक्रमलाई गाउँपालिकाका सबै विद्यालयहरुमा वितरण गरी पठन पाठन भईरहेको शाखा प्रमुख शाहले बताए ।

गत बैशाख १५ गतेको बैठकबाट “हाम्रो कुशे, हाम्रो खुशी” मुल शीर्षकको स्थानीय पाठ्यक्रमलाई स्वीकृत गरी चालु शैक्षिक सत्रबाट लागु गरिएको छ शाखा प्रमुख शाहले भने–“स्थानीय पाठ्यक्रमले शिक्षण सिकाई उपलब्धी हासिल गर्न सहयोग गर्नुको साथै स्थानीय आबश्यकता परिपुर्ति गर्ने, जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने छ भने, स्थानीय कला, संस्कृतिको संरक्षण हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।”

पाठ्यक्रम निर्माण गर्ने प्राविधिक काम भएको बताउदै शाखा प्रमुख शाहले सेवा निर्वित्त उपसचिव जीत बहादुर शाहको विज्ञतालाई उपयोग गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए । कुशे गाउँपालिकाको स्थानीय पाठ्यक्रमको प्रमुख संरक्षकमा गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत रहेका छन भने, संरक्षकमा गाउँपालिका उपाध्यक्ष देवीका कुमारी सिंह रहेकी छन् ।

पाठ्यक्रम निर्माणको समन्वय गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज गिरीले गरेका थिए भने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाही स्थानीय पाठ्यक्रमको सल्लाहकार रहेका छन् ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शाहको संयोजकत्वमा निर्माण गरिएको स्थानीय पाठ्यक्रमको लेखन तथा सम्पादन स्रोत व्यक्ति कृष्ण बहादुर गिरीले गरेका छन् । मुख्य ६ वटा बिषय तथा क्षेत्रमा केन्द्रित रहेको स्थानीय पाठ्यक्रबाट कुशे गाउँपालिकामा उन्नत जीवन जिउन तथा सभ्य नागरिक बन्न र बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेको छ ।

तपाईको प्रतिक्रिया