जाजरकोटमा खोलामा डुबेर दुई जनाको ज्यान गयो


जाजरकोट । छेडाखोलामा माछामार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका १ स्थित छेडाखोलामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार छेडागाड नगरपालिका १ का ५० बर्षिय नरबहादुर नेपाली र शिवालय गाँउवालिका ९ का ४९ बर्षका धनबहादुर बुढाको डुबेर ज्यान गएको हो । लेकतिर पानी परेका कारण छेडाखोला केही बढेको र धमिलो थियो । धमिलो पानीमा माछा मर्ने भएकाले ति दुई जना जाल लिएर विहिवार दिउसो खोलामा गएका थिए ।

जाल खेल्ने क्रममा गहिरो ताल परेको ठाँउमा एक जना जाल अड्किएर डुबेपछि बचाउन गएका अर्काको पनि डुवेरै ज्यान गएको स्थानिय गणेश जैसीले बताए । दिउसो चार बजे तिर घटना भएको थियो । माछा मार्न खोलामा गएका उनीहरु डुबेपछि प्रहरी र स्थानियले खोजतलास गर्दा दुवै जना ताल भित्र मृत अवस्थामा जालमा बेरिएको अवस्थामा फेला परेको जैसीले बताए ।

यो खोलामा जाल खेलेर बषौं देखि माछा मारेर धेरैले जीविका चलाउने र कतिपयको ज्यानै समेत जाने गरेको छेडागाड नगरपालिका १ का वडाध्यक्ष रामबहादुर बुढाले बताए ।

तपाईको प्रतिक्रिया