युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी छ- मन्त्री सिंह

No description available.

सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु भएको छ।
आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले देशको समग्र विकास र परिवर्तनका लागि युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु भएको हो ।

उहाँले युवाहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो। समाजमा मौलाउन खोजेको नकारात्मक भावको अन्त्य गरि सकारात्मक र सिर्जनात्मकताको विकासका लागि युवाहरू अघि सर्नुपर्ने मन्त्री सिंहको भनाइ छ। सकारात्मक सोच र कर्मले नै सही दिशामा अघि बढ्न सक्ने भन्दै मन्त्री सिंहले यसका लागि युवाहरूलाई शुभकामना दिनुभयो । शैक्षिक बेरोजगारी अन्त्य गर्न, युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन प्रदेश सरकार लागिपर्ने मन्त्री सिंहले बताउनुभयो।

प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट युवामैत्री आउने मन्त्री सिंहले विश्वास दिलाउनुभयो। `समृद्ध नेपाल निर्माणका लागि कर्णालीबाटै सुरुआत गर्ने जिम्मेवारी तपाईं-हाम्रो काँधमा छ। त्यसकारण प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति, कार्यक्रम, बजेट युवाहरूले महसुस गर्नेगरि ल्याउने कोसिस गर्नेछौं´, मन्त्री सिंहले भन्नुभयो।

मन्त्रीले सिंहले कर्णालीमा रहेको गरिबी, बाल विवाह, सबै किसिममा भेदभावका समस्यालाई न्यूनीकरणको सुरुआत गर्ने बताउनुभयो । यसमा युवाहरूको पनि साथ चाहिने मन्त्री सिंहको भनाइ छ ।
`तपाईंहरूको यो महोत्सव प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम र बजेटका लागि सकारात्मक सहयोग गरोस् । मार्गदर्शक बनोस्। सरकार तपाईंहरूको साथमा छ´, मन्त्री सिंहले भन्नुभयो।
`समुन्नत कर्णालीका लागि साझा अठोट´ भन्ने नारासहित सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव सोमबार सकिने आयोजक संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए।

No description available.

तपाईको प्रतिक्रिया