स्मरण : जब मैले १२ बर्षकै उमेरमा माओवादी आन्दोलन रोजे !


पटक पटक दिइरहनुपर्ने परीक्षाको अर्को नाम हो राजनीति । मेरो राजनीतिक यात्राको सुरुवाती चरण । २०५७ साल भाद्र १३ गतेको दिन थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको आन्दोलनले निकै मुलुकलाई तताईरहेको थियो । गण्डक जनसाँस्कृतिक कलाकार टिमले जनसाँस्कृतिक अभियान संचालन गरिरहेको थियो । गण्डकको कलाकार टीम हाम्रो जिल्ला जाजरकोट प्रवेश गरेसंगै हाम्रो गाउँ बारेकोटको साविक नायकवाडा गाविस वडा नं ८ को मेरो गाउँ ताँसी घर्तीगाउँमा प्रवेश गरेको थियो । त्यो दिन म निकै खुशी पनि थिए ।

कलाकारिता क्षेत्रमा निकै चिन्ता चासो भएर नि होला त्यो टिमलाई व्यवस्थापनको जिम्मा लिएर खाना बस्नको व्यवस्था गरियो । गाउँमा जनवादी कलाकार भनेपछि निकै रुचाउथे । कार्यक्रम हेर्नेको पनि निकै भीड हुन्थ्यो । अर्को दिन कलाकार टीमले साँस्कृतिक कार्यक्रम पनि गर्यो । गाउँमा जनवादी कलाकारको कार्यक्रम हेर्नेहरुको पनि वाक्लो उपस्थिति थियो । मेरो उमेर सानै भएपनि समाजमा भएको अन्याय, अत्याचार, सामाजिक क्षेत्रमा हुने विभिन्न मतभेदको बारेमा जानकार नै थिए ।

उमेरले सानो भएपनि कलाकारिता क्षेत्रमा निकै चासो थियो । मलाई मादल बजाउन गीत गाउन भने राम्रो संग आउथ्यो । एरिया कलाकार जोडिएको पनि थिए । एरिया कलाकारको अध्यक्ष रोकाया गाउँकी क.कविता भन्ने दिदी हुनुहुन्थ्यो । म सानो भएपनि उमेरको हिसावले अपरिपक्व नै थिए । तर त्यो दिन कमरेड कविताले मलाई हौसला दिदै भन्नू भयो । अब भाइ धनजीत, ‘तिमी राम्रो मान्छे गाउने बजाउने कुरामा अव्वल छौं, अब हाम्रो टीमको राम्रो कलाकार बन्नुपर्छ ।’ भाइ भन्दै मेरो प्रशंसा गर्नुभयो । मेरो नाम लिदै गण्डकको कलाकार टीम सँग परिचय गराउदै भन्नू भयो ।

‘उहाँ कमरेड धनजीत धेरै राम्रो कलाकार हाम्रो टीमको राम्रो गीत र मादल बजाउनु हुन्छ भनेर गण्डकको कलाकार टीम सँग मेरो परिचय आफै दिदै भन्नुभयो, ‘उहाँ हाम्रो भेरी कर्णाली कलाकारको टीमको अध्यक्ष क. आकाशको भाइ राम्रो क्षमता राख्नुहुन्छ ।’ भनेर सबै कलाकार टीमको अगाडी मेरो बारेमा भन्नू भयो । मलाई पनि खुशी लाग्यो । ल एउटा गीत सुनौ न त भनेर गण्डकको कलाकार टीमले भनेपछि मैले एउटा गीत जानेको थिए ।

(जेल तोडियो, पर्खाल फोडियो सदरमुकाम डोल्पाको दुनै कब्जा भो) भन्ने गीत त्यो कलाकार टीम सँग तालमा ताल स्वरमा स्वर मिलाउदै क्रान्तिकारी गीत पनि गाइयो । सानो मान्छे चञ्चले मन रमाइलो गर्ने वानीले होला मेरो मनले सोचिरहेको थियो । अब भुमिगत भएर हिड्नुपर्छ भन्ने सोच थियो । मान्छे जन्मेदेखि मृत्यु प्रान्त सम्म नयाँ काम केही गर्नुपर्छ भन्ने नै थियोे । जनयुद्धको रापतापले निकै आन्दोलन तातिरहेको थियो राज्यले नि निकै दमन गरिरहेको थियो । माओबादी जनयुद्धको नाम निशाना मेटाउनुपर्छ भनेर राज्य एकातिर निरंकुश ढंगबाट अघि बढेको थियो । धमाधम दङ्गा पुलिसहरु भर्ती गर्दै गाउँ गाउँमा गस्ती पठाउथ्यो । तिनै गस्ती दङ्गा पुलिसहरु यति सम्म गर्थेकी ।

सरकार आदेशमा गाउँमा पसेर कैयौं चेलीबेटी माथी बलात्कार गर्थे । निर्दोष मान्छेलाई माओवादी भन्दै राइफल को कुन्दाले घोचेर पिटथे भने कैयौंलाई सिधै गोली हानेर मारी दिन्थे । त्यो निरंकुशता अन्याय, अत्याचार सहन नसकि कोही रहरले कोही बाध्यताले निरंकुश राजतन्त्रको विरुद्धमा माओवादी आन्दोलनमा ‘कि मृत्यु कि मुक्ती’ भनेर हजारांै मान्छेहरुको लाइन लाग्यो । मैले पनि त्यो निरंकुश राजतन्त्रको विरुद्धमा कलिलो उमेरमै कलम समात्ने हातले बन्दुक समात्ने निदो गरे । तर चिन्ता भने एक्कासी कसरी घर छोडेर भाग्ने हो भन्ने नै थियोे । भर्खरै मेरो आमाको मृत्यु भएको २ बर्ष बितिसकेको थियो । घरमा सानो बहिनी बाबा र म थियौ । आफूभन्दा जेठो दाइ पनि २०५४ सालमै पार्टीमा भुमिगत भैसक्नु भएको थियो । दाई त्यतिवेला भेरी कर्णाली कलाकार टीमको अध्यक्ष हुनुहुन्थ्यो । आमाको मृत्यु भएको करिब १ वर्ष पूरा भएको थियो । त्यतिवेला मेरो घरमा बाबा, माइलो दाई र बहिनी र ठुली भाउजू हुनुहुन्थ्यो । भाउजू दाइ पार्टीमा हिडिसके पछि माइती घरमै बस्नुहुन्थ्यो । माइलो दाई पैसा कमाउने सिलसिलामा छिमेकी देश भारत जानु भएको थियो । बाँकी घरमा बस्ने सानो बहिनी बाबा र म मात्र थियौ ।

सानो बहिनी र बाबालाई आमाको मृत्यु भइसकेपछि आमाको भुमिका म आफैले निभाउनु परेको थियोे । घरको काम पशुवस्तुलाई घाँस काट्ने लगायतको सबै काम । खाना पकाउने बहिनीलाई खुवाउने घरको सबै कामको जिम्मा मेरै थियो । सानै उमेरमा थुप्रै चुनौती र जिम्मेवारी आफ्नो काँधमा आइसकेपछि । विद्यालय नगएको पनि करिब १ बर्ष भैसकेको थियो । तर पनि मैले त्यो नाबालिका बहिनी र मेरो वृद्ध अनि दु :खी बाबालाई एक्लै घरमा छोडेर वर्गीय मुक्ती आन्दोलनमा लाग्ने विचार आट साहस गरे । जुन दिन म क्रान्तिकारी भए । त्यो एउटा घटनाले म क्रान्तिकारी भएको थिए । जतिबेला निरंकुश राजतन्त्रले किलोसेरा टु अप्रेसन संचालन गरेको थियो । दङ्गा पुलिसले गस्ती गरिरहेका थियो । एक दिनको कुरा हो म र मेरो माइला दाइ पिठो पिस्न आफ्नै पाइप घट्ट गएका थियौ । हामी सधै घट्ट जान्थौ । एकदिन को कुरा हो करिब साझको ५ : ३० बजेको थियो । माओवादीका साथीहरु ५ जना पिठो पिस्ने भनेर हाम्रो घट्टमा आए । उहाँहरु आएको करिव आधा घण्टा भएको थियो । वारिपारी बाट दंङ्गा पुलिसले कासन गरिहाल्यो ।

ल ठोक माओवादीलाई ठोक भनेर चारैतिर घेरी सके भागाभाग भयो । अरु सबै भाग्न सफल भए एकजना जाजरकोट भेरी नगरपालिका वडा नं २ ढिंगा पोखराकी शिला नाम गरेको दिदी कामरेड सुर्य दिदी हुनुहुन्थ्यो । उहाँ दौडिन सक्नु भएन दौडिन नसकेर बिस्तारै गएर झाडी भित्र पसेर लुक्नु भएको थियो । पुलिसले टाढैबाट राइफलको गोली खुट्टामा हान्यो । उहाँ पल्टिनुभयो । दङ्गाको केही सिपाई नजिकै आएर समातेर । आज राम्रै माल भेटियो भन्दै केके बोले बोले प्रयोग गर्नै नमिल्ने शब्दहरु ठुला मान्छे त कोही थिएनन् । हामी दुई भाई अरु गाउँका साना भाइहरु थिए । हामीलाई थर्काउदै ओइ ! फुचेहरु भाग भन्दै थर्काउदै लखेटे घाइते दिदी सुर्यको शरीरको कपडा निकालेर ती राक्षसहरुको समुहले सामुहिक वलात्कार गर्न सुरु गरे । हामी केही समयपछि घर फर्किसक्यौ । करिब साझँको झिसमिसे अधँेरो पनि भईसकेको थियो । पछि राक्षसहरुको कहाँ गए भन्ने थाहा पनि भएन । अर्को दिन खबर आयो । दिदी सुर्यलाई तत्कालिन प्रहरी चौकी रामीडाँडा लगेर शरीरलाई मट्टीतेल छर्केर आगो लगाएर मारी सक्यो भन्ने खबर सुनियो ।

त्यो मर्मस्पर्शी घटनाले मेरो मनमा क्रान्तिकारी विचार पलायो । म क्रान्तिकारी मान्छे बने । त्यसकारण सानै उमेरमा मेरो मानसपटलमा विद्रोहको आगो दन्किन थाल्यो । यो निरंकुश राजतन्त्रको विरुद्ध लड्नुपर्छ भन्ने सहास पैदा भयो । अब पार्टी क्रान्ति र आन्दोलन नै जीवन हो भन्दै भुमिगत भएर लढ्ने इच्छा जाग्यो । संयोग बस गण्डकको कलाकार टीम पनि आएको थियोे । त्यही समयको साइत गरी आफ्नो व्यक्तिगत जीवन घर परिवार घरको सबै जिम्मेवारी कुनै प्रलोभनमा नपरी कि मुक्ती कि मृत्यु भनेर पार्टीमा त्यो दिनमै हिड्ने पलान बन्यो । गण्डक कलाकार टीमले साँस्कृतिक कार्यक्रम संचालन गरिरहेकै थियो । एकछिन घर सम्म पुगेर बाबालाई केही बाहाना गरेर निस्कनुपर्छ भन्ने सोच बनाए जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै त्यतिवेला भाद्र महिना चलिरहेको थियो । महिलाहरुको हरितालिका तीज पनि नजिकिदै थियो । बाबालाई भने बाबा तीज आउदैछ । सानो बहिनीलाई व्रत बस्ने भए केरा चाहिन्छ होला मलाई पैसादिनु भोलि साथीहरू जादैछन् भनेर बाबा बाट पैसा पनि मागे बाबाले पैसा पनि दिनुभयो । हुन्छ बाबा म अहिले साथीको घर जान्छु भोलि केरा ल्याएर आउछु भनेर घर बाट निस्किए ।

तर साथीहरू संग आज राती हिड्नु पर्छ भन्ने सल्लाह भएको थियो । कार्यक्रम गर्दैगर्दा राती भैसकेको थियो कहाँ जाने के गर्ने कुनै थाहा नै हुदैन्थ्यो ? भन्ने कुरापनि भएन राती करिव ९ः०० बजेको समयमा अधेरो रातमा टर्च बाल्न मिल्दैन्थ्यो । टीम हाम्रो गाउँ बाट निस्कियो । म पनि संगै गए हिन्दाहिन्दा रातिको बाटो करिब २ः०० बजे जिरीको लिम्क भन्ने ठाउँमा पुगियो । सानो मान्छे भोकले नि साह्रै सतायो । पहिलो दिन गाह्रो पनि भयो । खाना खाएर सुतेका थिए ।

दु :खको कुरा विहान ६ः ०० बजेको समयमा रुदै कराउदै मेरो बाबा पनि छोराको मायाले त्यही ठाउँमा पुगिहाल्नु भयो । बाबाले रुदै भन्नू भयो, ‘आँसु झार्दै जेठो छोरा नि पार्टीमै छ यो सानो छोरा नि यतै हिडेपछी म कसको सहारामा बाँच्ने भनेर भक्कानिएर रुदै हातमा मुसाको औषधी निकाल्दै खोलेर खाएर म मर्छु बरु भन्दै डाको छोडेर रुना थाल्नु भयो ।’ मेरो बाबा त्यो अबस्था देखेपछि हाम्रो साथीहरूले बाबालाई सम्झाउनु भयो । मलाई नि सम्झाएर अहिले बरु बाबा संग जाउ पछि यतै एरिया तिरै जोडिएर काम गर्नुपर्छ भनेपछि म पनि बाबा संगै फर्के । किनकी म पनि सानो उमेरको थिए । घरमा पनि पारिवारिक समस्या निकै थियो । तर पनि सर्बश्रेष्ठ पार्टी आन्दोलनलाई नै मुख्य ठानियो । क्रान्ती प्रतिको माया कहिल्यै मरेन हिजो पनि क्रान्तिकारी रगत यो शरीरमा सल बलाइ रह्यो । आज पनि रातो तातो रगत यो शरीरमा सर्कुलर भैरहेको छ । त्याग तपस्या बलिदानको मुल्यांकन इतिहासले पुष्टि गर्नेछ ।

लेखक महर नेकपा (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया