जाजरकोट । शिवालय गाउँपालिकामा जनप्रतिनिधि आएको ६ वर्षमा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । शुरुमा निमित्त कार्यकारी अधिकृत भएर गुल्मी जिल्लाबाट गोमा पन्थी २०७३ फागुन ३० गते आएर १० दिन मात्रै बसेको शिवालय गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । तर गोमा पन्थीले आफू शिवालय गाउँपालिकामा अहिलेसम्म नगएको दाबी गर्छिन् ।
गाउँपालिकाको तथ्यांक बोर्डमा उनको नामक शुरुमै राखिएको छ । ‘गोमा पन्थी पद निमित्त कार्यकारी अधिकृत जिल्ला गुल्मी अवधि २०७३ फागुन ३० गतेदेखि चैत १० गते’, बोर्डमा लेखिएको छ । उनको सरुवा भएको भोलिपल्ट देखि नै बाँफिकोट गाउँपालिका ६ रुकुमबाट लोक बहादुर कुसारी आए । उनले जसोतसो सात महिना कटाए । उनी २०७३ चैत ११ गते आएर २०७४ असोज १९ गते अन्य जिल्लामा सरुवा भए ।
उनको सरुवा भएको भोलिपल्ट देखि नै रुकुमबाट रविन्द्र बुढा क्षेत्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आए । बुढा क्षेत्री २०७४ असोज २० गते आएर २०७५ जेठ २० गते सरुवा भए । उनी करिब नौ महिना गाउँपालिकामा बसे । उनको सरुवापछि अर्घाखाँचीबाट नुमानन्द दमासे प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएको तथ्यांकमा उल्लेख छ ।
उनी २०७५ जेठ २१ गते आएर साउन २७ गते नै सरुवा भए । उनी सरुवा भएकै दिन गाउँपालिकाले स्थानीय प्रमुख प्रशासकीय अधिकृतका रुपमा धनिराम शर्मालाई पायो । शर्मा २०७५ साउन २८ गते आएर २०७७ असार १५ गते सरुवा भए । उनले दुई वर्ष १० महिना गाउँपालिकामा काम गरे ।
उनको सरुवा भएको भोलिपल्टदेखि नै दैलेखबाट अनिल कुमार पाण्डे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए । २०७७ असार १६ गते आएका पाण्डेको २०७८ वैशाख ३१ गते सरुवा भएको गाउँपालिकाले जनाएको छ । उनले करिब १० महिना गाउँपालिकामा काम गर्ने अवसर पाए ।
पाण्डेको सरुवापछि बर्दियाबाट नरबहादुर विक २०७८ जेठ एक गते शिवालयमा आए । तर उनी आएको रेकर्ड पालिकामा भए पनि सरुवा भएको रेकर्ड नभएको गाउँपालिकाका सूचना अधिकारी प्रमोद न्यौपाने बताउँछन् । यस्तै विक पछि भेरिनगरपालिका जाजरकोटबाट सुदिप सिंह सुनार २०७८ पुस २१ गते आए । उनी पनि आएको रेकर्ड छ तर सरुवा भएको रेकर्ड गाउँपालिकासँग छैन । उनको सरुवा भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका ४ का राजेन्द्रकुमार चन्द २०७८ चैत २१ गते आए । आएको पाँच महिनापछि उनी पनि शिवालयबाट अन्य जिल्लामा सरुवा भए ।
हाल शिवालय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जाजरकोट भेरी नगरपालिका २ का दल बहादुर बाँठा कार्यरत रहेका छन् । उनी २०७९ भदौ एक गते आएका हुन् । बाँठा पनि शिवालयमा कति समय टिक्छन् भन्ने कुनै टुंगो छैन् ।
यसरी हेर्दा पछिल्लो छ वर्षको अवधिमा गाउँपालिकामा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । स्थानीय धनिराम शर्मा बाहेक अरु सबै एक वर्ष पनि टिक्न सकेनन् । स्थानीय सरकारको मुख्य प्रशासनिक काम गर्ने व्यक्ति नै पालिकामा टिक्न नसक्दा विकास निर्माणका साथै अन्य प्रशासनिक कामकाज र गाउँसभा र गाउँकार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।
किन टिक्दैन प्रमुख प्रशासकीय अधिकृत ?
कुनै पनि निजामती कर्मचारी विशेष परिस्थिति बाहेक सरुवा भएर आएको अवधिदेखि कम्तिमा एक वर्ष काम गर्नुपर्ने हुन्छ । तर शिवालयमा भने त्यसो हुन सकेको छैन । एक जनाबाहेक अरु सबै एक वर्ष पनि शिवालयमा टिक्न नसकेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।
शिवालय गाउँपालिकामा २०७४ जेठ १९ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा अर्घाखाँचीबाट आएका नुमानन्द दमासे आए । उनी त्यहाँ करिब दुई महिना पनि राम्रो सँग बस्न सकेकन् । उनले आफू शिवालयबाट सरुवा हुनुमा गाउँपालिकाका जनप्रतिनिधिको अनावश्यक दखल अन्दाजीकै कारण बाध्य भएर अन्य जिल्लामा सरुवा भएको बताए ।
उनले आफ्नो ज्वाई काठमाडौंमा बिरामी भएका हुँदा उनलाई हेर्ने मान्छे नभएको र शिवालयमा स्थानीय धनिराम शर्माले अधिकृतका रुपमा इच्छा देखाएको हुँदा आफू सरुवा भएको जानकारी दिए । यस्तै २०७८ जेठ एक गते हाकिमका रुपमा बर्दियाबाट आएका नरबहादुर विकले आफ्नै व्यक्तिगत समस्याका कारण अन्य जिल्लामा सरुवा भएको बताए । उनी त्यँहा आठ महिना मात्र टिक्न सफल भए ।
यस्तै, २०७८ चैत २१ गते बाँकेबाट राजेन्द्र कुमार चन्द शिवालयमा गए । उनी पनि त्यँहा पाँच महिना बसे । उनीले आफू सरुवा हुनुमा विशेष नयाँ जनप्रतिनिधिसँग काम गर्न पनि अप्ठ्यारो हुनुका साथै आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले त्यहाँबाट सरुवा भएको बताए ।
#मध्याह दैनिक# साभार#
हाम्रो पहुँच संवाददाता । १२ फाल्गुन २०७९, शुक्रबार