शसस्त्रको काँडेतार भित्र पशु अस्पताल !


जाजरकोट । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि पशु अस्पताल तथा पशु सेवा कार्यालय शसस्त्र प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्नु परेको छ । जनता सँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध रहने कार्यालय तीन बर्ष देखि शसस्त्र प्रहरी बलको काँडेतार भित्र गुम्सिएर बस्नु पर्ने बाध्यता आइलागेको छ । भवन र ठाँउ अभावमा पशु अस्पताल संचालनमा आउन सकेको छैन ।

सदरमुकाम स्थित थाप्लेमा कार्यालयको नाममा सात रोपणी जमिन छ । उक्त जमिनमा पाँच ओटा भवन छन् । अरु सवै शसस्त्रले प्रयोग गर्न थालेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालयको भनाई छ । संघीय संरचना अन्र्तगत कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुम स्थित पशुपंक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही अफिस बाट भैरहेको थियो ।

२०७४ सालमा सरकारले जाजरकोटमा शसस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय गरिएको थियो । केही समय जिल्लाका अन्य ठाँउमा बसेपनि उपयुक्त ठाँउ नपाएको शसस्त्रलाई तत्कालिन जिल्ला सुरक्षा समिति र राजनैतिक दलको सहमतिमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असार देखि शसस्त्र प्रहरी बस्न थालेको हो । पुनः पशुपंक्षी सम्बन्धि कार्यालय जिल्लामा रहुन पर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दी सहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । उक्त निर्णय पछि २०७६ साउन देखि नै कार्यालय संचालनमा आयो ।

‘उता शसस्त्रको कार्यालय स्थापना भैसकेको थियो भने पशु अस्पताल तथा पशु सेवा कार्यालय आफ्नो घर जग्गा छोडेर अन्यत्र जाने कुरै भएन सँग सँगै बस्दै गयौ , तर साह्रै गाह्रो भैरहेको छ पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कमलबहादुर महताराले भने, ‘सुरक्षा पोष्ट बाहिर भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भैरहेको छ । अहिले सम्म पशु अस्पताल समेत स्थापना गर्न सकेका छैनौ, पशुचौपायाको उपचार बाटोमै गर्ने गरेका छौ धेरै समस्या भयो उनले भने ‘निकासका लागि धेरै ठाँउ पहल गरयौ तर सुनुवाई भएन । दुवै अफिस एकै ठाँउ हुँदैन तत्काल विकल्प खोज्नु पर्छ ।’

त्यसो त शसस्त्र प्रहरी गुल्म पनि सरकारी संस्था हो । राज्यले जहाँ ब्यवस्था गर्छ त्यही बस्ने हो । त्यतिवेला अफिस खालि थियो । सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त देखिएपछि त्यहाँ बस्यो । तर अहिले शसस्त्रलाई पनि दुवै कार्यालय सँगै बस्नुन पर्छ अफ्ठयारो लागि रहेको छ । एक सय ५० जना शसस्त्र प्रहरीलाई स्वभाविक रुपमा फराकिलो ठाँउ चाहिन्छ । तर अर्को कार्यालय सँग मिलेर बस्नु पर्दा धेरै गाह्रो भैरहेको शसस्त्र प्रहरी गुल्मका प्रमुख डिएस्पी लालसिंह विष्टले बताए ।

डिएसपी विष्टका अनुसार गुल्मका लागि भेरी नगरपालिका–४ पाखेदहमा जग्गा हेरि फाइल सम्बन्धित निकायमा पठाइसकेको र अबको एक बर्ष भित्रमा समस्याको समाधान हुने बताए ।

तपाईको प्रतिक्रिया