जाजरकोट । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफैं उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुहरु उत्पादन गरी बाहिर निर्यात गर्ने उद्धेश्यका साथ विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । नगरभित्र मह,लसुन मकै लगायतका उत्पादनहरु बिक्रिका लागि अन्यत्र जाने गरेको उनले बताए ।
नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ सम्म पुगेर विक्री हुने गरेको छ ।
सिंचाई योग्य भूभागमा सिंचाई सुविधा, कृषिमा यान्त्रिकरण र उपयूक्त समयमा मल उपलब्धसमेत गराएको गिरीले बताए । भेरी करिडोरसँग अधिकांश भूभाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्रीहरु बाहिर लैजान सजिलो भएको छ । यस्तै, नलगाड जलविद्युत आयोजनाले निर्माण गरेको सडक समेत यही ठाउँमा पर्छ ।
नगरपालिका भित्रका प्रत्येक वडामा यातायातको सुविधा पुगेको छ । आयात मात्र नभई निर्यात समेत गर्ने पालिकाको रुपमा नलगाड चिनिन्छ । पछिल्लो बर्ष यहाँ बाट लसुन, प्याज भारी मात्रामा अन्य जिल्लामा बाहिरएको थियो । नलगाड नगरपालिकाको कुल ३८ हजार ७४४ हेक्टरमध्ये ३४ सय ४० खेतीयोग्य जमिन रहेकोमा २७ सय ५६ हेक्टरमा खेती गरिएको छ ।
। २३ माघ २०७९, सोमबार