गाडीवालासँग मासिक रकम असुल्छन् प्रहरी !

File Photo

जाजरकोट । नेपालगन्जदेखि गत आइतबार जाजरकोट आउने क्रममा बाँकेको चिसापानी बजारस्थित प्रहरीको चेकपोस्टमा एउटा गाडी रोकियो । सनराइज यातायातको सार्वजनिक जिपका चालक चेकपोस्टनजिकै गाडी रोकेर इन्ट्री गर्न गए । इन्ट्री गर्ने क्रममा उनले खल्तीबाट केही झिकेर प्रहरीलाई दिए । त्यसपछि चालक आएर पुनः गाडी हुइँक्याउन थाले ।
‘खल्तीबाट प्रहरीलाई के झिकेर दिनुभयो ?’ भन्ने प्रश्नमा, ‘के गर्ने ? यो चेकपोस्टमा दैनिक एक सय रुपैयाँ चढाउनैपर्छ । नत्र त अनेक बहाना झिकेर हामीलाई सताउँछन्, प्रहरीसँग लफडा गर्नुभन्दा त दाम चढाइदिए सजिलो हुन्छ ।’

गाडी हुँइक्याउँदै उनले थपे, ‘यतिमात्र कहाँ हो र ? नेपालगन्ज–जाजरकोट रुटमा नौ ठाँउमा हामीले मासिक रूपमा पाँच सय रुपैयाँ र दुई ठाउँमा त दैनिक एक सय रुपैयाँ बुझाउनुपर्छ, नदिएमा दुुःख दिन्छन् । जरिवाना भन्दै रसिद काट्छन्, पैसा त प्रहरीमा बुझाउँदैमा सकिन्छ ।’

गाडी देउराली हुँदै अघि बढ्यो । बर्दिया र सुर्खेतको सीमानानजिक बबई बजार पुग्न करिब एक किलोमिटर जति बाँकी थियो । दुई जना ट्राफिक प्रहरी बाटोमै उभिएका थिए । उनीहरूले गाडी रोक्न इसारा गरे । गाडी रोकेर चालकले एक सय रुपैयाँ निकालेर दिए । गाडी फेरि घुइँकियो । सुर्खेतको मेहेलकुना, बोटेचौर र राकम, सल्यानका बालुवासंग्रही र सल्लीबजार, जाजरकोटका छेडाचौर, कुदु, मटेला र खलंगामा गरी नौ ठाउँमा मासिक पाँच सयका दरले चालकहरूले प्रहरीलाई बुझाउने गरेका छन् ।

उनका अनुसार नौवटा चेकपोस्टमा मासिक चार हजार पाँचसय र दैनिक चिसापानी र बबईमा एक सयका दरले दुई सय गरी मासिक ६ हजार तथा अन्य प्रहरी र ट्राफिक प्रहरीलाई खाजा गरी मासिक १२÷१४ हजार जति रुपैयाँ खर्च हुन्छ । बबई पछिका चेकपोस्टमा मासिक रूपमा बुझाएका कारण दैनिक बुझाउनु नपर्ने उनले खुलाए ।

उनले आफ्नो नाम र गाडी नम्बर नखुलाउन आग्रह गरे । परिचय सार्वजनिक हुँदा प्रहरीले थप सताउने उनको त्रास थियो । कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिममा गाडीहरू यही रुटबाट चल्ने गर्छन् । दैनिक पाँच सयवटा गाडीबाट एक सय रुपैयाँका दरले हिसाब गर्दा पनि दैनिक ५० हजारभन्दा बढी रुपैयाँ असुली हुने गरेको अनुमान छ तर यसतर्फ कुनै नियमनकारी निकायको ध्यान जान सकेको छैन ।

एक चालकका अनुसार प्रहरी र ट्राफिक प्रहरीले गाडीवालाबाट अवैध रूपमा असुलेको रकम माथिल्लो निकायमा समेत जाने गरेको छ । जाजरकोटदेखि नेपालगन्ज रुटमा फोर्स गाडी चलाउँदै आएका नाम खुलाउन नचाहने अर्का एक जना चालकले पनि नौवटा चेकपोस्टमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म मासिक बुझाउने गरेको बताए ।

सुर्खेतको छिन्चु र जाजरकोटको छेडामा मासिक एक हजार र अन्य चेकपोस्टमा मासिक पाँच सय रुपैयाँ बुझाउने गरेको उनको भनाइ छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले त्यसरी प्रहरीले गाडीवालाबाट पैसा असुलेको प्रमाणसहित फेला परेमा प्रहरीमाथि कडा कारबाही गरिने बताए । प्रहरीले पैसा मागे तत्काल आफूलाई खबर गर्न समेत उनले आग्रह गरे ।

यस्तै, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रज्वल महर्जनले गाडीवालाबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको र मासिक रकम लिने गरेको गुनासोका सम्बन्धमा छानबिन गर्ने बताए ।
चालकबाट प्रहरीले पैसा असुलेको प्रमाणसहित पेस गर्न आग्रह गर्दै उनले भने ‘गलत गर्नेलाई कारबाही हुन्छ।’

जाजरकोटको खलंगादेखि नेपालगन्जसम्म जाने क्रममा गाडीले ठाउँठाउँका प्रहरी पोस्टमा चेकिङ र इन्ट्री गर्नुपर्दा यातायात व्यवसायी र यात्रुले निकै सास्ती खेप्नु परेको छ । करिब दुई सय किलोमिटरको सडकमा १४ ठाउँमा गाडी इन्ट्री गर्नुपर्ने बाध्यता छ । ठाउँठाउँमा गाडी इन्ट्री गर्दा झन्झट र ढिलाइ हुने गरेको सनराइज यातायात समिति खलंगाका इन्चार्ज रमेश श्रेष्ठले बताए । उनी भन्छन्, ‘सबै ठाँउमा इन्ट्री गर्दा करिब एक घण्टा समय खेर जान्छ ।’ नेपालगन्ज–जाजरकोट रुटमा गाडीवाला नौ ठाउँमा मासिक ५ सय र दुई ठाउँमा त दैनिक एक सय रुपैयाँ बुझाउँछन् ।
अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया