बारेकोट । बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालका लागि शिलान्यास गरेको १८ महिला पुग्यो । तर अहिले सम्म अस्पतालको जगसमेत खनिएको छैन् । गाउँपालिका कर्मचारी र ठेकेदार कम्पनीको लाप्रवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ ।
गाउँपालिकाको दावी अनुसार ठेकेदार कम्पनी ( खानी/ धुलिखेल/ जेके बिल्डक्स जेभी ) को लाप्रवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाई भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिईसकेको छ ।
१५ शैयाको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप एक करोड ८१ लाख रुपैयाँ पेश्की लिईसकेको छ । सम्झौता अनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो । साढे दुई करोड बढी रकम झ्वाम पारिसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाई भएको दावी गरेको छ । गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध आएको ठेकेदार कम्पनीले दावी गरेको छ ।
१५ शैयाको अस्पताल भवन बनाउन करिब ११ कट्टा जग्गा आवश्यक हुन्छ । तर हाल सम्म लिम्सा स्वास्थ्य चौकीको नाममा ४ रोपनी मात्र जग्गा रहेको छ । भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गाधनी पूर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा ढिलाई भएको हो । स्थानीय तहको हचुवाको निर्णयले समेत थप समस्या थपिएको ठेकेदार कम्पनीले बताएको छ ।
तत्कालिन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पातलको जग्गा प्राप्त नगरी भवन निर्माणको टेण्डर गराएका थिए । ठेकेदारकै कारण भवन निमार्णमा ढिलाई भएको जनाएको छ । भवन निमार्णका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीले बताए । ‘अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ, उनले भने, तर ठेकेदारले तीन पटक म्याद थप गर्दा समेत काममा चासो दिएन् ।’
ठेकेदारको लाप्रवाहीका कारण भवन निर्र्माणमा ढिलाई भएको उनको दावी छ । कर्मचारी र ठेकेदारको मिलेमतोमा भवन अलपत्र परेको गिरी आरोप छ । स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाई भएको बताउँछन् । गाउँपालिकाको पुस २८ गतेको निर्णयमा विद्यालयको जग्गा प्राप्तीको प्रक्रिया थालिएको रोकायले बताए ।
लिम्सामा १५ शैयाको अस्पतालको भवन निर्माणका लागि कुल लागत २३ करोड बजेट स्टमेट गरिएको थियो । ठेकेदारले घटेर १८ करोड ३९ लाख ४९ हजार २ सय ६ रुपैयाँमा निर्माणको ठेक्का लिएको गाउँपालिका इन्जिनियर केशव श्रेष्ठले जानकारी दिए ।
। २३ माघ २०७९, सोमबार