उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्वपूर्ण : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

त्रिविले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको तर्क गरे। उनले भने,‘त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ, नेपालमा उच्च शिक्षा प्रवर्द्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्‍याएको योगदान हामी सबैका सामु जगजाहेर छ।’

अहिले मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयले नै उत्पादन गरेको उनले बताए। ‘यस्तो महत्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो,’उनले भने।

उनले यस विश्वविद्यालयबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताए। ‘शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक छ,’उनले भने।

त्रिविका अनुसार आज १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित भएका छन्। स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच सय ४९, एमफिल ५५ र विद्यावारिधितर्फ ९७ जना दीक्षित भएका छन्। उक्त समारोहमा दुई जनासम्म अभिभावक विद्यार्थीहरुले ल्याएका थिए।

तपाईको प्रतिक्रिया