रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका


वासिङटन : अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ।

प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथि लगाइने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ।

उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। प्रतिबन्धबाट रूसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन्।

म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। बेलायत र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ। अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामर्थ्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रूसलाई अमेरिकी चुनौतीका रूपमा प्रस्तुत गरेको थियो।

चीन र रूसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेको पेन्टागनले बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया