
बारेकोट । तिहार सकिए लगत्तै बारेकोट–२ रोकायगाउँका ६४ वर्षीय लालबहादुर रोकायलाई एक छिन फुर्सद छैन । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । पर्व सकिने बित्तिकै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको छ ।
यस्तै, कुशे गाउँपालिका–०३ का रामबहादुर सिंह पनि परिवारसहित धान काटन व्यस्त हुने गरेका छन् । फेरि गत वर्षजस्ते पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित उनी हतार हतार काम गरिरहेका छन् ।
यी दुई मात्र नभई जिल्लाका अधिकांश भेगमा वर्षातको समयमा लगाएको धान पाकेर पहेँलपुर भएपछि चाडपर्व सकिने बित्तिकै किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको छ । धानबाली उत्पादनबाट वर्षमा सात महिना सजिलै परिवारको गर्जो जुटाउँदै आएका भेरी नगरपालिका ०१ रावतगाउँका मधुकर नेपालीले तोरी तथा गहुँ छर्नका लागि धमाधम धान काटिरहेको बताए ।
दसैंताका सातासम्म परेको अविरल पानीले धानका बाला कालो भएपनि खासै समस्या नदेखिएको उनले बताए । ‘गत वर्षसम्म दुई÷चार दिन बिराउँदै पोकेको धानबाली काट्ने र झाट्ने गरिन्थ्यो । गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो । यसपालि पनि बर्षात हुन्छ भन्ने डरले धानबाली भित्रयाउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ,’ उनले भने ।
बारेकोट गाउँपालिका ०१ रामीडाँडाका किसान धर्मबहादुर पुनले मानो छरेर मरी भित्रयाउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको बताए ।
यसपालि आफ्नोतिर गतवर्षभन्दा धानबाली राम्रो भएको उनले बताए । ‘पाकेको धान दसैं लगत्तै काटनु पर्ने थियो तर वर्षातका कारण आठ÷१० दिन त्यत्तिकै बित्यो । अहिले धेरै सुकेर झर्न थालिसकेका छन् । गहुँ लगाउन पनि ढिलाई हुन थालिसकेको छ । त्यही भएर अन्य कामलाई थाती राखी सबै मिलेर धान भित्रयाउन जुटनु परेको छ,’ उनले भने ।
धानबालीबाट कम्तीमा पनि सात महिना खान पुग्ने भएकाले फुर्सदिलो समयमा भारत अगायत अन्यत्र गएर काम गर्ने चाँजोपाजो मिलाउन मौसम सफा हुने बित्तिकै घरका सबै तथा छिमेकीको साथ लिएर पाकेको धानबाली काटन, झाट्न खटिएको जुनीचाँदे गाउँपालिका स्थित सानाखोलाका किसान वीरेन्द्र बस्नेतले बताए । पाकेको बाली भित्रयाए ढुक्कसँग अन्य काम गर्न पाइने उनले जानकारी गराए ।
















































। १३ कार्तिक २०७९, आईतवार