इंग्लिस प्रिमियर लिग : लिभरपुल लिड्ससँग स्तब्ध, चेल्सीको पोस्टमा ब्राइटनको ४ गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति शीर्ष क्लबहरूले अप्रत्यासित हार सामना गरेका छन्।

जारी सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुल लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध हुँदा चेल्सी भने ब्राइटनसँग उसैको मैदानमा ४–१ ले पराजित हुन पुग्यो। तर टोटनह्यामले भने पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा पुग्यो।

चेल्सी फराकिलो गोल अन्तरले हराउने क्रममा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक–एक गोल गरे। चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा फराकिलो हार भोग्यो। चेल्सीका लागि माटेओ कोभासिसले एक गोल फर्काएका थिए।

लिभरपुल भने घरेलु मैदानमै लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध बन्यो। लिड्सलाई महत्त्वपूर्ण जित दिलाउन रोड्रिगो मोरेनो र क्राइसेन्सिओ समरभिलले गोल गरे। घरेलु समर्थकमाझ लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए।

अर्को खेलमा टोटनह्यामले भने सानदार पुनरागमन गर्दै जित हासिल गर्‍यो। दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बर्नमाउथलाई ३–२ ले पराजित गर्न टोटेनह्याम सफल रह्यो।

त्यसअघि के मुरले दुई गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए। तर खेलमा फर्किएको टोटनहमका लागि राएन सेसेगोन, बेन डेभिस र रोड्रिगो बेन्टानकुरले गोल गरे। बेन्टानकुरले इन्जुरी टाइममा विजयी गोल गरे।

त्यस्तै न्युक्यासल युनाइटेडले एस्टन भिल्लामाथि ४–० को जित निकाल्यो। घरेलु मैदान न्युकासलललाई जित दिलाउन कलुम विल्सनले दुई तथा जोएलिन्टन र मानुएल अल्मिरोनले एक–एक गोल गरे। त्यस्तै फुलह्याम र एभर्टनले गोलरहित बराबरी खेल्दा ब्रेन्टफोर्ड र वल्भसले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

शनिबारको खेलपछि चेल्सी १२ खेलबाट २१ अंकसहित चौथो स्थानमा रहँदा ब्राइटन १२ खेलबाट १८ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ। त्यस्तै लिभरपुल १२ खेलबाट १६ अंकसहित नवौँ स्थानमा रहँदा लिड्स १२ खेलबाट १२ अंक जोडेर १५औँ स्थानमा उक्लिन सफल रह्यो।

टोटनह्याम भने जितपछि १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा कायम रह्यो। न्युक्यासल युनाइटेड १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया