
खलंगा । जाजरकोटका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर दुर्गम बस्तीमा पुगेका छन् ।
सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका उप महासचिव शक्ति बस्नेत, प्रदेशसभा–२ का नेपाली काँग्रेसका उम्मेदवार राजीव विक्रम शाह लगायत नेता तथा कार्यकर्ताहरू छेडागाड नगरपालिकाका गाउँ बस्तीमा पुगेर मतदातासँग भोट मागिरहेका छन् ।
प्रदेश सभा १ का सत्ता गठबन्धनका उम्मेदवार वेदराज सिंह, नेकपा एमालेका उम्मेवार डम्बरबहादुर सिंह, प्रदेशसभा दुईका उम्मेदवार खीमबहादुर शाही यतिवेला जनताको घरदैलोमा व्यस्त देखिन्छन् । प्रतिनिधी सभा क्षेत्र १ रहेको जाजरकोटमा सत्ता गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत र नेकपा एमालेका उम्मेदवार निरज आचार्य चुनावी घरदैलोमा व्यस्त छन् । यस्तै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पनि घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

सत्ता गठबन्धन दलहरूले जाजरकोटमा साझा चुनावी एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, पर्यटन जडिबुटी विद्युत, खानेपानी, नलगाड हाइड्रोपावरको निर्माण सुरु, कुशे बाट जुम्ला सुरुङमार्ग निर्माण, विभिन्न खानीहरुको उत्खनन्, बाढी पहिरो पीडितलाई राहत तथा पुर्नवासका विषय उठाएका छन् ।
प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले समेत घरदैलो कार्यक्रमलाई अघि बढाईरहेका छन् । विभिन्न उम्मेदवारहरुले भने पुरानै चुनावी एजेण्डाहरुलाई अघि बढाईरहेका छन् । चुनावी घोषणा पत्रमा समेत शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत, रोजगारीलाई प्राथमिकता राखेका छन् ।
















































। १३ कार्तिक २०७९, आईतवार