
जाजरकोट । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा सहभागी हुन बाँकी रहेका दुई जनालाई सहभागी गराउनका लागि माओवादीले हालका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएको हो।
पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ। माओवादीले रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्रिपरिषद्मा पठाउने तयारी थालेको छ।
केसीले पार्टी केन्द्रको निर्देशन अनुसार सिंह र विष्टलाई फिर्ता बोलाएर कामी र शाहलाई मन्त्रिपरिषद्मा पठाउन लागिएको बताइन्। ‘संसदीय दलको बैठकले निर्णय गरेर सरकारमा सहभागी हुनेहरुको नाम मुख्यमन्त्रीलाई सिफारिस गरिसकेका छौं,’ केसीले भनिन्, ‘एक–दुई दिनभित्रै सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि कामी र शाह सरकारमा सहभागी हुनुहुन्छ।’
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। ति मध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो।
कर्णाली: माओवादीले दुई मन्त्री फिर्ता बोलायो, शाह र कामीलाई जिम्मेवारी दिने निर्णय
तपाईको प्रतिक्रिया
















































। १० भाद्र २०७९, शुक्रबार