छेडागाडका सामुदायिक विद्यालय एकहप्ता बन्द गर्ने विद्यालय कर्मचारीको निर्णय

जाजरकोट  । सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिका, कार्कीगाउँ जाजरकोटले एकहप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएकाे हाे ।

छेडागाड नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय यही भदौ १२ गतेदेखि १८ गतेसम्म बन्द गर्ने निर्णय शुक्रबार गरेको संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै विद्यालय कर्मचारी भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४,७३० मासिक तलब र २०० रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता रू २०० गरि रू २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ को संशोधन गरि विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई सम्मानजनक अवकाशको व्यवस्था गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता, तथा सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग विद्यालय कर्मचारीले राखेका छन् ।


तपाईको प्रतिक्रिया