कुशेका गाउँगाउँमा भाइरल ज्वरो,कोरोनाको त्रास


जाजरकोट । कुशे गाउँपालिकाका विभिन्न गाउँमा कोरोनाको लक्षण जस्तै मिल्ले भाइरल ज्वरा विरामीको संख्या ह्वातै बढेको छ । गाउँपालिका भित्रका ढिमे,पैंक, जहरगाउँ,अर्छानी,टालेगाउँ लगायतका गाउँमा विरामीको संख्या बढेको कुशे गाउँपालिका ५ जहरगाउँका स्थानीय कालीप्रसाद थापाले जानकारी दिए ।

ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, शरीर दुःख्ने, लगायतका लक्षणका विरामीहरुको संख्या गाउँभरी वृद्धि भईरहेको छ ।

स्थानीय स्वास्थ्य चौकीमा समेत उपचार गर्न आउने भिड लाग्ने गरेको छ । खुर्पामा रहेको लक्ष्मी माद्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरु समेत विरामी परेका छन् ।

गाउँगाउँमा भाइरल ज्वरो फैलिएपछि कोरोनाको त्रास बढीरहेको थापाले बताए । उनले भने, ‘गाउँगाउँमा कोरोनाको लक्षण सँग मिल्ने विरामीहरुको संख्या बढीरहेको छ, चेकचाँज समेत गरिएको छैन्, निकै त्रास बढीरहेको छ ।’ भाइरल ज्वराका कारण स्थानीयले हैरानी खेपिरहेका छन् ।

२ जनामा कोरोना पुष्टी
कुशे गाउँपालिका वडा नं ५ खुर्पामा एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर रोकायले दिएको जानकारी अनुसार गाउँपालिका भित्र कोरोना जस्तो लक्षणका विरामीहरुको संख्या बढ्ेपछि ४० जनाको स्वास्थ्य परिक्षण गर्दा २ जनामा कोरोना देखिएको हो ।

बर्ष ४० को महिला र ३५ बर्षिय पुरुषमा कोरोना देखिएको छ । कोरोना संक्रमण भएकालाई सुरक्षित होम आइसोलेसनमा बस्न आग्रह गरिएको प्रमुख रोकायले बताए । गाउँगाउँमा विरामी परेकाहरुमा कोरोना हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । स्वास्थ्य शाखाले कोरोनाको परीक्षणका लागि एन्टीजेन परीक्षण र एन्टीवाइटिक औषधी समेत वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया