सल्यान पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

No description available.
नविन पिएम
सल्यान । सल्यानलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देशकै ६८ औं जिल्लाको रुपमा सल्यानलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जन्मदेखि १५ महिना सम्मका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि बुधबार सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार पाँच सय ७७ बालबालिकाले पूर्णरूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यान जानकारी दिएको छ ।

जसअनुसार शारदा नगरपालिकाका पाँच सय ३६, वनगाड कुपिण्डे नगरपालिकाका पाँच सय ३३ र बागचौर नगरपालिकाका पाँच सय १६ बालबालिकाले पूर्ण खोप पाएका छन् ।

छत्रेश्वरी गाउँपालिकाका तीन सय ८९,कपुरकोट गाउँपालिकाका दुई सय १५, त्रिवेणी गाउँपालिकाका दुई सय ४८, सिद्ध कुमाख गाउँपालिकाका दुई सय ११, कालीमाटी गाउँपालिकाका दुई सय ३९, दार्मा गाउँपालिकाका तीन सय ४१ र कुमाख गाउँपालिकाका तीन सय ५१ बालबालिकाले पूर्ण खोप पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ ।

‘पूर्ण खोपयुक्त घोषणाको लागि तयार पारिएका सबै सूचक पूरा गरेका छौं, त्यसको आधारमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हौं’ ‘तर खोप अभियान भने निरन्तर नै चल्नेछ । आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने र कोही पनि बालबालिका खोप लगाउनबाट नछुट्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले
बताए ।

No description available.
जिल्लाका सबै वडाहरुको अनुगमन गरी वडा हुँदै जिल्लाका १० वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपश्चात जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । घोषणासँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चितताका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख अशवीर बुढाथोकीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले अब खोपको पूर्ण मात्रा नलगाउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै उनीहरुको बृद्धि विकासमा समेत असर गर्ने भएकाले सरकारले तोकेबमोजिमको खोपको मात्रा सबै बालबालिकाले पाउनुपर्ने ,जिल्लामा अब कोही पनि बालबालिका खोपको पहुँच बाहिर रहँदैनन् भन्ने संकल्पका साथ सल्यान जिल्ला अगाडि बढेको उनले बताए ।

यस्तै, प्रदेशसभा सदस्य गुलावजंग शाहले आजका बालबालिका भविष्यका कर्णाधार भएकाले उनीहरुको लागि पूर्णखोप अनिवार्य भएको र कोही बालबालिका पनि पूर्णखोपबाट छुट्न नहुने भनाई राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य,कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्का, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया