प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा जाजरकोटका कार्की निर्वाचित


जाजरकोट । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको कर्णाली प्रदेश अन्तर्गतको केन्द्रीय उपाध्यक्षमा जाजरकोटका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

हेटौंडामा भएको महाधिवेशनको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट उनका प्रतिस्पर्धी भानुभक्त ढकाललाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । यस भन्दा पहिले केन्द्रीय सदस्य रहेका कार्की अन्नपूर्ण पोस्ट दैनिकका संवादाता तथा जाजरकोट बाट सञ्चालित प्रवाह अनलाईनका सम्पादक समेत हुन् ।

नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भईसकेका कार्की इतिहासमै पहिलो पटक नेपाल प्रेस यूनियनको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । यसभन्दा पहिले जाजरकोट बाट कोही निर्वाचित भएका छैनन् । यस्तै, नेपाल प्रेस युनियनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ ।

नयाँ हेटौंडामा भएको महाधिवेशनको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहित अधिकांश पदमा संस्थापन इतर विजयी भएको हो ।

अध्यक्षमा शिवले संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरेका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरेका हुन् । उपाध्यक्षमा नकुल अर्याल र भिष्मराज ओझा विजयी भएका छन् ।

राममणी दाहाल र शेखर रेग्मी पराजित भएका छन् । उपाध्यक्ष महिलामा संस्थापन इतरकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन् । महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया