
जाजरकोट । जिल्लाका गाम्रीण सडकमा चल्ने सवारी साधनहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्काका परेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले निर्माण गरेका सडकहरुमा निजी तथा सार्वजनिक यातायातहरुले चर्काे भाडा लिएपछि स्थानीय मर्कामा परेका हुन् । स्थानीय तहले निर्माण गरेका नयाँ सडकमा रुटपरमिट समेत लागु गरिएको छैन् ।
प्रशासनले तोकेको भन्दा बाहिर रहेर मनपरी भाडा असुल्दै आएको यात्रुहरुले गुनासो गरेका छन् । ‘यात्रुहरु बाट मनपरी भाडा असुलिन्छ, आरामदायी यात्रा हुदैन्, क्षमता भन्दा दोब्बर यात्रु राखेर सवारी साधन चलाईन्छ, कसरी हुन्छ सुरक्षित यात्रा ?’ कुशे गाउँपालिकाका घीरेन्द्र बस्नेतले गुनासो गरे ।
घीरेन्द्र मात्र होइन् उनी जस्तै कुशे गाउँपालिकाका सर्वसाधारणले ३० किलोमिटरको १५ सय देखि २५ सय रुपैयाँ तिर्न बाध्य छन् । खलंगा देखि पाँचकाँटिया सडकखण्ड हुदैं गाउँपालिका केन्द्र सम्म जान १८ सय तिर्नुपरेको स्थानीय छविराज सिंहले बताए । कालीमाटी –बारेकोट सडकखण्डमा यात्रा गर्ने यात्रुहरुको गुनासो पनि यस्तै छ । ‘यात्रु कोचाकोच, भाडा महंगो, कच्ची रोडमा मरिन्छकी भन्दै यात्रा गरिन्छ’ बारेकोट २ का भुपेन्द्र नेपालीले भने ।
‘सरोकारवाला निकायको वेवास्ताले एकदुई पटक दुर्घटना पनि भईसकेको छ, अव पनि चासो नदिने हो भने यात्रुहरुले अकालमा ज्यान गुमाउने स्थिति सिर्जना हुन्छ’ नेपालीले थपे । सदरमुकाम खलंगा देखि गाउँपालिकाको केन्द्र लिम्सा सम्म पुग्न १ हजार ५ सय ५० भन्दा बढी भाडा तिर्न यात्रुहरु बाध्य छन् । कालिमाटी देखि बारेकोट गाउँपालिकामा केन्द्र लिम्सा सम्म सडकको लम्बाई ३३ किलोमिटर छ ।
रुटपरमिट लागु भएका सडकमा जिल्ला प्रशासन कार्यालयले भाडा निर्धारण गरेको भएपनि ग्रामीण क्षेत्रमा भने भाडादर लागु भएको छैन । रुटपरमिट लागु नभएका सडकमा मनपरी भाडा असुल्दै आएपनि स्थानीय तह र प्रशासन भने मौन देखिन्छन् । गाडीमा नत भाडादर नै टाँसिएको छ नत बसाई आरामदायी छ । त्यही पनि सर्वसाधरण नागरिक बाट मनपरी भाडा लिईरहेको यात्रुहरुको गुनासो छ ।
‘कालीमाटी देखि लिम्सा सम्म जम्मा ३३ किलोमिटर जति होला तर पनि एक हजार भाडा तिर्दा यो त लुटतन्त्र भएन र सरकार ?’ स्थानीय राजेन्द्र विकले आक्रोश पोखे । बारेकोट यातायातको पहँुचमा जोडिएपनि सर्वसाधारण नागरिक चर्काे भाडा तिर्दै हैरान भएका छन् । यात्रुवाहक सवारी साधनले क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको भएपनि कुनै निगरानी हुने गरेको छैन् ।
यस्तै, जिल्लाको जुनीचाँदे गाउँपालिकाका नागरिक महंगो भाडादरमा हिड्न बाध्य छन् । खलंगा देखि छेडाचौर सडक खण्डमा सरकारले निर्धारण गरेको भाडाडर तिरे पनि छेडादेखि जुनीचाँदे गाउँपालिकाको केन्द्र सम्म निजी तथा सार्वजनिक जीपहरुले मनपरी भाडा असुल्दै आएको स्थानीय हरिबहादुर बुढाले जानकारी दिए । उनले भने, ‘सुर्खेत देखि जुनीचाँदे गाउँपालिका १० ओखडा सम्म २५ सय, वडा नं ११ ताँगा १५ सय, वडा नं ४ लुहादह १५ सय, सानाखोला १५ सय, वडा नं ३ पराले सम्म १५ सय तिर्न बाध्य छन् ।’
रुटपरमिट लागु नभएकोले सडकको लम्बाई कति हो भन्ने समेत थाहा छैन् । जुनीचाँदे ९ को वडा कार्यालय सम्म २५ सय भाडातिर्नु बाध्यता रहेको स्थानीय महेन्द्र शाहीले बताए । कुशे, बारेकोट र जुनीचाँदे यी तीन स्थानीय तह मात्र होइन् जिल्लाका अन्य स्थानीय तहमा निर्माण गरिएका सडकमा यातायात व्यवसायीहरु भने मनपरी भाडा असुल्दै आएका छन । तर स्थानीय तह र प्रशासन भने मौन देखिएका छन् । नागरिकहरु बाट चर्काे भाडा असुल्दा समेत स्थानीय तह र प्रशासनले कुनै काम भने नगरेको स्थानीयहरुको गुनासो छ ।
अस्थायी रुटपरमिट जारी गरि निर्धारण गरिएको सडकमा भाडादर लागु हुन सकेको छन् । छेडा–जुनी सडक खण्डमा जोखिम मोलेर उनीहरु यात्रा गरिरहेको श्री माद्यामिक विद्यालयका शिक्षक प्रविन विकले बताए । ‘यात्रा पनि आरामदायी हुदैन, यात्रु कोचाकोच, भाडा महंगो कसरी हुन्छ सुरक्षित ?’ उनले भने । यातायात व्यवसायीको लाप्रवाहीका कारण पटकपटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
कुन सडकमा कति भाडा ?
२०७८ साल साउन २८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षमा बसेको बैठकले खलंगा देखि छेडाबजार सम्म ठुलो गाडीमा १ सय ९० र सानो गाडीमा २ सय ३० निर्धारण गरेको थियो । खलंगा– फेरा ठुलो गाडीमा १ सय २५ र सानो गाडीमा १ सय ७५ निर्धारण गरिएको छ ।
खलंगा – कुदु ठुलो गाडीमा ८० रुपैयाँ र सानो गाडीमा १ सय ३० रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै, खलंगा – मटेला ठुलो गाडीमा ४० रुपैया र सानो गाडीमा ५० रुपैयाँ, खलंगा रावतगाउँ ठुलो गाडीमा ५० र सानो गाडीमा ७५ रुपैयाँ निर्धारण गरिएको छ । खलंगा – पिपे ठुलो गाडीमा ७५ र सानो गाडीमा १ सय रुपैयाँ, खलंगा – रिम्ना ठुलोमा १ सय ७० र सानोमा २ सय २०, खलंगा – जगतिपुर ठुलो गाडीमा १ सय ६० र सानोमा २ सय १०,खलंगा – बुरुङ्गे सानो गाडीमा २ सय २० र ठुलो गाडीमा २ सय ७०, खलंगा – स्याउली ठुलोमा ३ सय र सानोमा ३ सय ५०, खलंगा – कालिमाटी सम्म ठुलो गाडीमा ४ सय ४८ र सानोमा ५ सय, खलंगा – राडीबजार ठुलोमा ५ सय १२ र सानोमा ५ सय ६२, खलंगा – पाँचकाटिया ठुलो गाडीमा ४ सय ५० र सानो गाडीमा ५ सय, खलंगा –तल्लुबगर ठुलोमा ४ सय २५ र सानोमा ४ सय ७५, छेडाचौर– थलह ३ सय ८५ र छेडाचौर – सुवानाउली ५ सय २० नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिकाको कालीमाटी देखि बारेकोट गाउँपालिकाको घाटबजार सम्म ५ सय, कालीमाटी देखि सिर्के सम्म ३ सय, सिर्के देखि सक्ला सम्म ८० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यस्तै, गाउँपालिकाको सक्ला देखि लिम्सा सम्म १ सय, लिम्सा देखि घाट सम्म २०, कालीमाटी देखि सेपुखोला सम्म २ सय, कालीमाटी देखि खारा सम्म १ सय र खारा देखि सेपुखोला सम्म १ सय रुपैयाँ निर्धारण गरेको थियो । गाउँपालिकाको कालिमाटी—खानटाकुरा—सिर्के— सक्ला—लिम्सा—घाटसम्म जम्मा ३९ किलोमिटर सडक रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको प्राविधिकको टोलीको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै, प्राविधिकहरुको टोलीले अस्थाई रुपमा सञ्चालन गरिएको सडकमा सात सिट क्षमता भएको साना सवारीलाई अस्थाई रुपमा सञ्चालन गरिने निर्णय गरेको थियो । मालवाहक सवारी साधनको सम्बन्धमा ५ टन भन्दा कम भार वहन क्षमता भएको सवारी साधन सञ्चालनका लागि अनुमति दिने र भाडादर जिल्ला दररेट निर्धारण समितिले तोके बमोजिम भाडा कामय हुने निर्णय गरिएको थियो ।
कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकाका अधिकांश ठाउँमा अस्थायी भाडादर समेत तोकिएको छैन् । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आफु काठमाण्डौं रहेको र भाडाका विषयमा फर्केपछि छलफल गर्ने बताए ।
















































। २ असार २०७९, बिहीबार