पत्रकारिताबाट राजनीतितिर: चुनावी मैदानमा कर्णालीका यी पत्रकार


०६० सालदेखि पत्रकारितामा सक्रिय नमन कुमार शाही दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार छन् । समाजसेवा गर्ने उद्देश्यका साथ पत्रकारितामा लागेको बताउने उनी अहिले पनि उही उद्देश्यका साथ राजनीतिमा आएको तर्क गर्छन् ।
एकीकृत समाजवादीबाट उपप्रमुखको टिकट पाएका उनी भन्छन्, ‘जति मुल नीतिमा फर्केर गर्न सकिन्छ, त्यति बाहिर रहेर गर्न सकिँदो रहेनछ । राजनीतिक दलहरुले गरेका कमिकमजोरीका विरुद्धमा रेडियोमा आवाज उठायौँ । कलमका माध्यमबाट लेखिरहँदा हल्लिएनन् । र, पत्रकारिताको उद्देश्य पनि समाजसेवा नै भएकाले मैदानमा उत्रिनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हो ।’

शाहीका आफ्नै दाइ सुर्यबहादुर शाही सोही नगरपालिकाका वर्तमान मेयर छन् । दाइ नेकपा एमालेबाट मेयर रहेपनि उनले भने समाजवादी रोजे । राजनीतिमा लागेर जनताका हक, अधिकार प्रत्याभूति गर्ने कुरामा अग्रणी भूमिका आफैंबाट गर्नुपर्छ भनेर नै मुल धारकै खुल्ला राजनीतिमा आएको उनले बताए । शाहीले ०६१ सालमा इन्सेकको दैलेख जिल्ला प्रतिनिधि हुँदै मानवअधिकारका क्षेत्रमा समेत लामो अनुभव संगालेका छन् ।

पत्रकार महासंघ दैलेखको पूर्वअध्यक्ष समेत रहेका उनले गोरखापत्र दैनिकमा पनि काम गरे । ‘म माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पनि पार्टी पङ्क्तिसँग नजिक नै थिएँ । तर उच्च शिक्षामा पत्रकारिता पढें । पत्रकारिता र मानवअधिकार क्षेत्रमा सँगसँगै अघि बढ्दा समाजलाई नजिकबाट बुझ्ने अवसर पनि पाएँ,’ शाहीले भने, ‘बेला पनि जनताकै हक अधिकारका लागि लडिएको हो ।’ शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर मैदानमा होमिएका उनले एमाले र काँग्रेससँग प्रतिस्पर्धा गर्दैछन् । गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले समाजवादीलाई मेयर दिएको थियो ।

तर काँग्रेसले गठबन्धनको निर्णय नमानेपछि दलहरु एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् । एकीकृत समाजवादीबाट नै कालिकोटको शुभकालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार छन्, पत्रकार पुष्पराज आचार्य । उनी यदि गठबन्धन बनेको खण्डमा साझा उम्मेदवार हुन्थे । तर माओवादी र काँग्रेसको बलमिच्याइले गर्दा एक्ला एक्लै चुनावी मैदानमा छन् ।

‘म खास गठबन्धनकै उम्मेदवार भएपनि गठबन्धन दलहरुबीच कुरा नमिल्दा अहिले एक्लै चुनावी मैदानमा होमिएको हो,’उनले रातोपाटीसँग भने,‘म यो पालिकाको लागि योग्य छु । जनताले पनि मलाई उपयुक्त पात्रको रुपमा स्वीकार गरेका छन् । अन्य दलका नेताहरु पुरानो पुस्ताका छन् । म युवा छु । युवाले नेतृत्व गर्नुभएको छ भनेर जनताले प्रशंसा गरेका छन् ।’

आफू चुनावी प्रचारमै रहेको बताउँदै आचार्यले फोनमा कुरा गर्दै भने, ‘जहाँ पुग्यौं त्यहाँबाट राम्रो ‘रेस्पोन्स’ आएको छ । जनताले भोट दिने बाचा गरेका छन् । त्यो हिसाबले मैले चुनाव जित्छु भन्ने आत्मविश्वास छ । उनले आफुले जित्ने आधार भनेकै लामो समय पत्रकारिता र विद्यार्थी राजनीति, गैरसरकारी संघ संस्थाहरुमा अनुभव रहेको सुनाए ।

पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष रमेश गौतमले पनि एकीकृत समाजवादीबाट भारदा नगरपालिकाको उपमेयरका उम्मेदवार छन् । जनयुद्धको समय (२०५८) पत्रकारिता सुरु गरेका उनले पत्रकारका विभिन्न संघ संगठनमा रहेर काम गरेका छन् । चार वर्षअघिदेखि नै सक्रिय राजनीतिमा लागेका उनले भने,‘ पत्रकारिताका माध्यमबाट समस्याहरु लेखियो, बोलियो । हिजो राज्यले यो गर्नुपर्छ ऊ गर्नुपर्छ भनेर भनियो । तर सोचे जसरी समाज अनि हाम्रा राजनीतिक दलहरु न सचेत भए न त समाज परिवर्तनको खाकालाई सहि तरिकाले अघि नै बढाए । अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने उद्देश्यका साथ मेरो उम्मेदवारी हो ।’

‘हामी हिजो नेताहरुलाई समाजमा दलित, महिलाका मुद्दाहरु कसरी उठाउनुहुन्छ ? भनेर प्रश्न गर्नेतिर थियौं । हो तीनै मुद्दाहरूलाई कार्यान्वयन गर्नका लागि जिम्मेवारी बढेको अनुभूति मलाई भएको छ,’ उनले थपे ।
जाजरकोट बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट वीरबहादुर गिरी उम्मेदवार छन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष भइसकेका उनीपनि घरदैलोमै भोट माग्न छन् । गिरी गठबन्धनका साझा उम्मेदवार महेन्द्रबहादुर शाहसँग प्रतिस्पर्धा गर्दैछन् । शाह यसअघि पनि अध्यक्ष बनेर एक कार्यकाल अनुभव बटुलिसकेका छन्।

तर पनि गिरीले चुनाव जित्ने दाबी गरे । उनले भने, ‘एमालेप्रति जनताको विश्वास र भरोसा बढेको हुँदा गठबन्धन भएपनि हामी जित्छौँ भन्ने विश्वासका साथमा अघि बढेका छौं । राजनीतिक दलले जनताका बीचमा जाँदा एजेण्डाहरु लिएर जाने हो । तर उनीहरु (गठबन्धनका उम्मेदवार) बीना उद्देश्य जनताको बीचमा गएका छन् । त्यो भएर जनताले गठबन्धनका विरुद्धमा जनता उभिएका छन् । यही नै मेरो जित्ने आधार हो ।’

पत्रकारिता र राजनीति दुबै समाज सेवाका क्षेत्र हुन,’उनी भन्छन्, ‘पत्रकारिताबाट हेर्न सकिन्छ भने राजनीतिबाट देखिने कुराहरु गर्न सकिन्छ । समस्याहरु हल गर्न सकिन्छ ।’
यसैगरी दैलेखको गुराँस गाउँपालिका–८ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, दीपेन्द्र ओली । लामो समय सुर्खेतमा बसेर सक्रिय पत्रकारिता गरेका उनले रेडियो माध्यममा धेरै समय बिताए । ओली भन्छन्,‘ मेरो पत्रकारिता गरिब, निमुखा, आर्थिक विपन्नताहरुको पक्षमा भयो । मेरो उम्मेदवारी पनि यिनै पक्षमा रहेर अघि बढ्ने हो ।’ साथै ओलीले वडाको मात्र होइन समग्र गाउँपालिकाको विकास मोडेलका रुपमा ‘विकासको गुराँस मोडेल’ तयार गरेका छन् । सोही अनुसार आफूलाई अपग्रेड गर्ने लक्ष्य उनको छ । उम्मेदवार बनेका सबैले पत्रकारिताबाट बिदा भएको घोषणासहित राजनीतिमा होमिएका हुन् ।

भोट किन दिने ?

तपाईंहरुलाई जनताले भोट चाँहि किन दिने ? भन्ने प्रश्न रातोपाटीले राखेको थियो । उपप्रमुखका उम्मेदवार नमन शाहीले व्यवसायिक कृषि र गुरुयोजना सहितको पूर्वाधार विकास गर्नुपर्छ भन्ने मेरो योजना रहेको सुनाए । जनताका आवश्यकताका आधारमा बजेट ल्याउने, सुशासनलाई मुल मन्त्र बनाएर अघि बढ्ने उनको भनाइ छ । शुभकालिकाका अध्यक्षका उम्मेदवार शर्माले पनि शाहीकै जस्तो जवाफ दिए । ‘मैले केही सिद्धान्त अघि सारेको छु,’उनले भने,‘ सोही अनुसार दीर्घकालिन लक्ष्य र उद्देश्यका साथ काम गर्ने मेरो मुल मन्त्र नै हो ।’

तर शारदाका उपप्रमुखमा उम्मेदवार रमेश गौतमले फरक विचार राखे । ‘स्थानीय सरकार कसरी सञ्चालन गर्नुपर्छ र ऐन, कानुनका कुराहरु हामीले बुझेका छौं’, उनले भने, ‘स्थानीय तहलाई सही तरिकाले चलाउनका लागि पनि हामी अग्रसर हुन्छौं । अर्को कुरा नगरको विकास, समृद्धिका र सुशासन कायम गर्नका लागि हामीलाई जनताले मत दिनुपर्छ । हाम्रो प्रतिबद्धता पनि त्यही किसिमको बनाएका छौं ।’ बारेकोटका अध्यक्षका उम्मेदवार गिरीले पहिलेको सरकारले उदाहरणीय कार्य गर्न नसकेकाले नै आफूलाई मत दिनुपर्ने तर्क गरे ।
रातोपाटी

तपाईको प्रतिक्रिया