महंगो प्रचार गर्दै दलहरु

May be an image of 6 people, people sitting, people standing, headscarf and outdoors

सत्तागठबन्धन दलहरुले प्रचार गर्दै तस्विर : हाम्रो पहुँच

जाजरकोट । स्थानीय निवार्चन नजिकिएसँगै जिल्लाका सबै उम्मेदवारहरू भड्किलो प्रचारप्रसारसहित गाउँ पसेका छन् । गाडी र कार्यकर्ताहरूको लस्कर लगाएर उम्मेदवारहरूले घरदैलो, आमसभा र मतदाता भेटघाटलाई जारी राखेका छन्  । प्रचारप्रसारमा पनि उम्मेदवारको प्रतिस्पर्धाले गाउँगाउँमा चुनावको रौनक छाएको छ  । भड्किलो प्रचारशैलीसहित उम्मेदवारहरू गाउँ पसेपछि चुनाव नजिकिएको आभास भएको छेडागाड नगरपालिका ४ का प्रकाशी सुनारले बताईन्  । ‘अहिले ४०÷५० जना कार्यकर्तालाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,’ उनले भनिन्, ‘५÷७ वटा गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू विपन्नका घरघरमा पुग्दा नकारात्मक सन्देश गएको छ ।’

गाउँगाउँमा गाडीमा चुनावी नारा र गीत घन्काउँदै प्रचारप्रसार भइरहेको उनले बताइन् । कुनै पार्टीका उम्मेदवार एक ठाउँमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा चलेको उनको भनाइ छ ।
दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् ।

जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिए पनि विश्वास गर्ने भरपर्दो आधार नभएको स्थानीय युवा प्रेम विकले बताए । ‘पहिलेका घोषणापत्रका एकतिहाइ बाचा पनि पूरा नगरी जनप्रतिनिधिले पहिलो कार्यकाल सकाए,’ उनले भने, ‘अहिले पनि त्यस्तै बाचासहित विभिन्न प्रलोभन देखाइरहेका छन्, प्रचारप्रसारको भड्किलो शैलीका कारण पनि उनीहरूले प्रतिबद्धता पूरा गर्लान् भन्ने आशा छैन ।’

आफ्नो पक्षमा माहोल सिर्जना गर्न दलबलसहित उम्मेदवारहरू घरदैलोमा व्यस्त बनेको उनको भनाइ छ । जिल्लाका सात वटै स्थानीय तहमा दलहरु वीच गठबन्धन भएको छ । कुशे बाहेक अन्य पालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी तालमेल भएको छ भने कुशेमा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र वीच गठबन्धन भएको छ ।
प्रचारप्रसारलाई भड्किलो बनाउनुभन्दा पनि जनतालाई विश्वास दिलाउने व्यवहारसहित उम्मेदवार घरदैलोमा आउनुपर्ने भेरी नगरपालिका ८ का दीपेन्द्र विश्वकर्माले बताए । ‘एउटा उम्मेदवार ४०÷५० जना कार्यकर्ता लिएर आउँछन्, यसले त बरु मतदातालाई त्रसित बनाएको छ,’ उनले भने, ‘असुरक्षा भएर पनि नहोला, मेरा कार्यकर्ता यति छन् भनेर उनीहरूले भड्किलो प्रचारप्रसार गरिरहेजस्तो लाग्छ ।’ उनले मतका लागि प्रतिस्पर्धा हुनु स्वाभाविकै भए पनि प्रचारप्रसारमै प्रतिस्पर्धा गर्नु राजनीतिक संस्कारविरुद्धको काम भएको बताए ।

कतिपय उम्मेदवारले पैसाको दम्भ देखाएर पनि तडकभडक गरिरहेको उनले बताए । ‘अब पैसाले मात्रै चुनाव जित्ने सम्भावना कम छ, मतदाताले उम्मेदवारको क्षमता पनि हेर्नेछन्,’ उनले भने, ‘हामी सबैले यही कुरा मनन गरेर मतदान गर्नुपर्छ ।’ बारेकोट गाउँपालिका प्रचारप्रसारमा प्रतिस्पर्धा गर्नुभन्दा जिल्लाको विकासमा प्रतिस्पर्धा गर्नु राम्रो हुने बताए ।

तपाईको प्रतिक्रिया