गाउँगाउँमा चुनावी घरदैलो

May be an image of 3 people, people sitting, people standing and outdoors
जाजरकोट । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम लगायत जिल्लाका व्यापारिक केन्द्रहरू सुनसान बनेका छन् । गाउँमा चुनावी रौनक बढेको छ । सबै दलका उम्मेदवारहरू गाउँमा पुगेपछि चुनावी रौनक छाएको हो ।
दलहरूले आफ्ना सबै चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित गरेका छन् ।

‘दिनहुँजसो आमसभा र कार्यक्रमहरू भएका भएकै छन्,’ बारेकोट गाउँपालिका २ रोकायगाउँका प्रेम शाहीले भने्, ‘चुनावले गाउँमा चहलपहल बढाएको छ, ठूला नेताहरू पनि गाउँ पस्ने क्रम बाक्लिएको छ ।’ उनका अनुसार उम्मेदवारहरू घरदैलोमा व्यस्त बन्न थालेका छन् । कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म प्रचारप्रसारमा होमिएका छन् ।

कुनै न कुनै दलले नजिकको विद्यालयमा दिनहुँ कार्यक्रम गरिरहेका कुशे गाउँपालिका २ टालेगाउँका छविराज सिहंले भने, ‘उम्मेदवारहरू विभिन्न वाचासहित गाउँमा पसेको अहिले गाउँ नै चुनावमय बनेको छ ।’ नजिकै टोलटोलमा पार्टीका झन्डा र फरकफरक पार्टीका आमसभाले चुनाव नजिकिएको आभाष भएको बताए । अहिले गाउँमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । नेताहरू लावालस्करसहित ३÷४ वटा गाडी ल्याएर गाउँमा आउने गरेको स्थानीय प्रकाश विकले बताए ।

‘अहिले ४०÷५० जना कार्यकर्तालाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,’ उनले भने, ‘५÷७ वटा गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू विपन्नका घरघरमा पुग्दा नकारात्मक सन्देश गएको छ ।’ गाउँगाउँमा गाडीमा चुनावी नारा र गीत घन्काउँदै प्रचारप्रसार भइरहेको उनले बताए । कुनै पार्टीका उम्मेदवार एक ठाँउमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा चलेको उनको भनाइ छ ।

दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन्  । जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिए पनि विश्वास गर्ने भरपर्दो आधार नभएको नलगाड नगरपालिकाका ६ का यूवा प्रविन विकले बताए ।

तपाईको प्रतिक्रिया