
जाजरकोट । स्थानीय तह निर्वाचन नजिँकदै गर्दा पछिल्लो समय अवैध रुपमा बेवारिसे अवस्थामा दैनिक रुपमा भरुवा बन्दुक भेटिन थालेका छन् ।
बुधबार दिउँसो करिब ३ बजेतिर छेडागाड नगरपालिका –२ डेढकुला भन्ने स्थानमा जंगलभित्र रहेको ओढारमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सुचनाका आधारमा अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटबाट प्रहरी टोली खटिई गई उक्त १ नाल भरुवा बन्दुक फेला पारेको थियो भने ” अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बिहिबार बिहान करिब साढे १० बजेतिर प्रहरी चौकी पैंक जाजरकोटबाट खटिएको प्रहरी टोली गस्ति गर्दै जाने क्रममा कुशे गाउँपालिका वडा नं.८ बिजुलिडाँडा स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको र प्रहरी बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए ।
गत २४ गते नलगाड नगरपालिका वडा न.०५ खानटाकुरा कैचु जंगलमा बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको थियो। त्यसैगरी चैत २७ गते भेरी नगरपालिका वडा न.११ कार्की गाँउस्थित शिरुबारी जंगलमा बेवारिसे अवस्थामा दुई नाले भरुवा बन्दुक फेला पारेको थियो ।
करिब १५ दिन भित्रमा ४ वटा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको तथ्यांक प्रहरीसंग छ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि प्रशासनमा बुझाउन भने संगै प्रहरीले पनि कडाईका साथ निगरानी गर्न गस्तीहरु बढाइएको हुदाँ यसरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए ।
इजाजत प्राप्त हतियार आगामी १२ गते सम्म बुझाउन जिल्ला प्रशासन कार्यालयले म्याद दिएको र सोही अनुसार बुझाइरहेकाले यसरी बेवारिसे अवस्थामा भेटिने अवैधवाला नै हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।
















































। १० बैशाख २०७९, शनिबार