
जाजरकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले राजीनामा गरेका छन् । नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख घर्तीलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय अनुसार नै पुनः भेरी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको घर्तीले बताए ।
उनको राजीनामा नगर उपप्रमुख भावना भण्डारीले स्वीकृत गरेकी छन् । नगरप्रमुखसँगै सात जना वडाध्यक्ष र ६ जना वडा सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । बाहालवाला जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनीहरुले राजीनामा दिएका हुन् । निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बाहलवाला जनप्रतिनिधीले धमाधम राजिनामा दिन थालेका छन् । यस्तै, कुशे गाँउपालिकाकी उपाध्यक्ष रामछाया शाहीले राजिनामा दिएकी छन् । उनले पुनः उम्मेदवार हुने इच्छा राख्दै राजिनामा दिएको बताएकी छन् ।
उनले कुन पदमा उम्मेदवारी दिने भने खुलाएकी छैनन् । तर उनको चाहना अध्यक्षमै रहेको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशकी उपमहामन्त्री रहेकी शाहीले टिकट आफैले पाउने दावी गरेकी छन् ।
त्यस्तै सोही गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकबहादुर हमाल, शिवालय गाँउपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपक खड्का, भेरी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य यज्ञ बटाला लगायतले राजिनामा दिएका छन् । हमाल र खड्का अध्यक्षमै दोहरिने चाहना राखेका छन् भने बटाला अध्यक्षमा दावी गरेका छन् ।
यस अघि नै जुनीचाँदे गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले बुधवार आफ्नो पदबाट राजिनामा दिईसकेका थिए । छेडागाड नगरपालिका ९ का वडाध्यक्ष गोपालबहादुर नेपालीले पनि राजीनामा दिएको बताएका छन् ।
बाहालवाला जनप्रनिनिधिले मनोनयन दर्ता गर्नु अघि नै राजिनामा दिनु पर्ने प्रावधान अनुसार आगामी बैशाख ११ गते देखि लागु हुने गरि वडाध्यक्ष शाहीले राजिनामा दिएका हुन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । पार्टीले पुनः वडाध्यक्षमा दोहरयाउने निर्णय गरेपछि आफुले राजिनामा दिएको उनले बताए ।
















































। १० बैशाख २०७९, शनिबार