मलेसियासँग पपुवा न्युगिनी पनि पराजित

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्युगिनी मलेसियासँग ९ रनले पराजित भएको छ। काठमाडौंस्थित टियू मैदानमा भएको खेलमा मलेसियाले शानदार ब्याटिङ गर्दा पिएनजी यो सिरिजमा लगातार दोस्रो हार भोग्न बाध्य भयो। यसअघि पिएनजी सोमबार घरेलु टोली नेपालसँग पराजित भएको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । जवाफमा पिएनजी १९ ओभर ३ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमै समेटियो ।

पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा कप्तान अहमद फैजले ५६ रन बनाए । साइद अजिज ४७ रनमा आउट भएका थिए। पिएनजीका लागि नोर्मान भनुवाले २ विकेट लिएका थिए ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको पिएनजीका लागि टोनी उराको ५६ रन सर्वाधिक रह्यो। नोर्मान भनुवाले ४५ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा असाद भालाको ११ तथा सिमोन अटाइको १७ रन रह्यो ।

मलेसियाका लागि सर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिँदा महमद वाफीक र पवनदिप सिंहले ३÷३ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया