जनताको भोटले नेता जित्ने र जनता हार्ने !


हाम्रो अगाडि एउटा यस्तो चुनौती खडा छ । जो कि जनताले जहिले पनि विश्वास गरेर नेताहरुलाई भोट दिएर जिताउने नेताहरु भने कुर्सी पाएदेखि जनतालाई देखाएका सपनाहरुलाई चटक्क बिर्सेर भ्रष्टाचारको महासागरमा चुर्लुम्ब डुब्छन् ।

म जनताको सेवक हुँ भन्ने कुरा बिर्सेर म जनताको राजा हँु भन्ने दम्ब देखाउँछन् । अनि जनताका सपनाहरु माथी खेलवाड गर्न थाल्छन् । अब जनताहरुले राम्रो संग सोच्ने बेला आएको छ । देशै भरीका स्थानीय तहहरुमा यति बेला निर्वाचनको रौनक चढेको छ ।

जता ततै सबै पार्टीका कार्यकर्ताहरु आ –आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गर्दै गाउँ गाउँ वस्ति वस्तिहरुमा पुगेका छन् । टोल टोलमा आमसभा भेला गरेर जनतालाई आफू तिर तान्न तम्सिएका छन् । एक पार्टीले अर्को पार्टीको आलोचना गर्दै, अर्को पार्टीले अर्को पार्टीको पोल खोल्दै, त्यो पार्टी यस्तो यो पार्टी यस्तो भन्दै नानाथरीका आरोपहरु एक पार्टीले अर्को पार्टीलाई थुपार्दै जनतालाई मख्ख बनाई रहेका छन् ।

जनताहरु पनि तिनीहरुका चर्का चर्का भाषणहरु सुनेर मख्ख छन्, तर नेताहरुले यो पाँच बर्ष भित्र के काम गरे,कति काम गरे भनेर कुनै पनि जनताले रेकर्ड राखेको भने देखिदैन्, हिजो जनताको घरमा एक वोतल रक्सी उधारो खाने व्यक्ति स्थानीय तहको जनप्रतिनिधी भैसकेपछि त्यो उधारो रक्सी दिने बुढा बा आमालाई चटक्कै बिर्सेका छन् ।

गाउँ गाउँमा आफै ठेकेदार बनेर जनताको पैसाले डोजर किनेर डाँडा पाखाहरु भत्काउदै विकासको नामको माला जप्दै फेरि गाउँ बस्तीहरुमा भोट माग्न आईपुगेका छन् । बर्सेनि एउटा वडामा कम्तिमा २ करोड भन्दा बढी रकम आउछ । विडम्बना त्यो वडाको जनताहरु आफ्नो परिवार पाल्नको लागि ईन्डियाको कुना कुनामा गएर २÷४ हजार कमाएर आफ्नो जहान परिवार पाल्न बाध्य हुनुपर्छ,भने कोही जनताहरु बालबच्चा श्रीमति लिएर इन्डिया मै जीवन यापन गर्न बाध्य हुनुपर्छ ।

जनप्रतिनिधीहरु भने सानवानका साथ गाउँमा कुम हल्लाउदै हिड्छन्, डोजरले काटेको रोडलाई बर्षायामको झरीले बगाएर बाढी पहिरो जस्तै बनाई दिएको छ । तर रोडको किनारमा डेवाल लगाउने काम कतै भएको देखिदैन् तर यहाँ नेताहरु के भन्दैछन,भने हामीलाई भोट दिएर जिताउनु होस् हामी यो बर्षमै यो रोडलाई कालो पत्रे गरेर मजबुत बनाउछु र यो गाउँलाई नमुना गाउँ बनाउछु भन्दै झुट्टा आश्वासन दिदै हिडेका छन् । हे मेरा आदरणीय नेताहरु हो, गाउँ गाउँमा रोड पुर्याएर मात्र विकास हुदैन्,जब त्यो गाउँका जनताहरु संग गाडी चढ्ने पैसा हुदैन् भने त्यो विकासको कुनै औचित्य हुदैन्,त्यसैले जनताको जनस्तर उकास्न जरुरत छ ।

जनता माझ सीपमुलक कार्यक्रमहरु ल्याउनु आवश्यक छ । गाउँमा अलिकति भए पनि कृषिमा आधुनिकरण ल्याउनु आवश्यक छ । गाउँमा हुने सबै प्रकारका विकासहरु जनमुखीकरण गरिनुपर्ने आवश्यक छ । जनतालाई गाउँमै गरिखाने व्यवस्था गर्नु होस्, जनतालाई सुखको अनुभुति दिलाउनु होस्,जनताले यो काँग्रेस, एमाले माओबादीको नेता हो भन्नू भन्दा पनि यो जनताको नेता हो, हाम्रो नेता हो भन्ने गरी काम गर्नुहोस्, भ्रष्टाचारको नाम निशाना मेटाउनुहोस्, भ्रष्टाचार मुक्त वडा, पालिका बनाउनु होस्, यति गर्नुभयो भने हजुरले भोट माग्न जानू पर्दैन, जनता आफै हजुर कहाँ आएर हामी हजुरलाई भोट दिन्छु, हजुर फेरि चुनावमा उठिदिनुहोस् भन्ने परिस्थितिको सिर्जना हुन्छ ।

तपाईको प्रतिक्रिया