
कालीबहादुर नेपाली
जाजरकोट । प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाईन्छ । नारी दिवसको पूर्वसन्ध्या बाट शुरु हुन्छ महिला अधिकारका वहसहरु । संविधानका पान पल्टाईन्छ, अधिकारका कितावहरुमा सरोकारवालाहरुमा ध्यान पुग्छ ।
महिलाहरुले पनि पुरुष सरह बाँच्न पाउनुपर्छ भन्दै नारा लगाउने महिलाहरु नै श्रीमान बाट घरेलु हिंसाको शिकार हुने गरेका छन् । मार्च ८ मा मनाईने अन्तर्राष्ट्रिय नारी दिवस र महिला हिंसा विरुद्धको १६ दिने अभियानको समयमा मात्र महिला अधिकारका कुरा चल्छन् ।
गैर सरकारी संस्था र सरकारी निकायलाई बजेट सक्न चटारो हुन्छ । छेडागाड नगरपालिका १२ कि नाम परिवर्तित दिलमाया न्यायको प्रखाईमा छन् । उनी सँग एक जना प्रहरी जवानले अनैतिक सम्बन्ध राखी, पेटमा छ महिनाको बच्चा हुर्किरहेको छ । अहिले प्रहरी जवान सम्पर्कमै छैनन् ।

उनले भनिन्, ‘म कहाँ गएर न्याय पाउने, न्यायका लागि धेरै प्रयास गरे, अहिले केही दिन पर्खनुहोस् हामी बोलाउँछौ भनेर प्रहरी कार्यालयले भनेको छ ।’ भाडाको घरमा बसेकी दिलमाया अहिले कहाँ गएर न्याय पाउँछु भन्दै सरकारी कार्यालयको ढोका ढकढक्याई रहेकी छन् । उनी जस्तै बारेकोट गाउँपालिका २ रोकायगाउँकी तोल्मीसरा नेपालीका श्रीमानले दोस्रो विहे गरेर फरार छन् ।
न्यायका लागि प्रहरी चौकी धाईरहन्छिन् । तर कसैले उनको पीडा सुनेका छैनन् । उनले भनिन्, ‘खै कसलाई छुन्छ महिला दिवसले हामी जस्ता पीडामा रहेका महिलालाई छुने कहिल्यै होइन् ।’ उनीहरु त केही उदाहरण पात्र मात्र हुन् ।
अधिकांश महिलाहरु न्यायको प्रखाईमा रहेका छन् । उनीहरु आफनै आफन्त, छरछिमेक र श्रीमान बाटै हिंसाको शिकार भईरहेका छन् । प्रत्येक वर्ष दिवसका दिन मात्र महिला अधिकारका नाराहरु गुन्जिने गरेको र अन्य दिनहरुमा महिला अधिकारकर्मीहरु नै मौन बसेको पीडित महिलाहरुको गुनासो छ ।
प्रत्येक बर्ष महिला दिवसको अवसरमा पालिका केन्द्र र सदरमुकाममा नारा गुन्जिन्छन्, तर विकट वस्तीका महिलाहरुलाई दिवसले छुदैन् । उनीहरु उल्टै घरेलु हिंसा, श्रीमान्को यातना, बलात्कार जस्ता जघन्य अपराधका शिकार भईरहेका छन् ।
दिवसका दिन मात्र महिला अधिकारका कुरा नभई अन्य दिनहरुमा समेत महिलाका सवालहरु उठ्नुपर्ने बारेकोट गाउँपालिका २ अयर्नाकी धनकला नेपालीले बताईन् । ग्रामीण भेगमा मादक पदार्थ सेवन गरी श्रीमानले धेरै महिलाहरुलाई कुटेर घाईते बनाएका छन् ।

दिवसका दिनमा मात्र महिलाका कुरा उठाउने सरोकारवालाहरुले अन्य समयमा चुप लागेर बस्नु महिला अधिकारको सफल पक्ष नभएको कुशे गाउँपालिका ४ समाईलाकी तोल्मा शाहीले बताईन् । प्रहरी कार्यालयको तथ्यांकमा महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरु बढिरहेका छन् ।

दिवसका दिनमा मात्र नभई अन्य वेला पनि महिला अधिकारका कुरा उठाउनु, उनीहरुको समस्या समाधानका लागि पहल गर्नु आजको आवश्यकता देखिन्छ । सरकारी तथा गैरसकारी संस्थाहरुले महिला माथि हुने हरेक खाले विभेदको चिरफार गरे सभ्य समाजको कल्पना गर्न सकिन्छ ।
















































। २५ फाल्गुन २०७८, बुधबार