किरणद्वारा निर्वाचन पद्धति सुधार गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नागरिक समाज,मिडिया र संबैधानिक अंगका अधिकारीहरु सहितको निर्वाचन सुपरिवेक्षण गठन गरौं ।

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले प्रधानमन्त्री शेर बहादुर देउवालाई निर्वाचन पद्धति सुधार गर्न ध्यानाकर्षण पत्र पठाएका छन् ।

आवधिक निर्वाचनहरु प्रति सदैव शंका उत्पन्न हुने र आम नागरिक विश्वस्त हुने वातावरण नबन्नु लोकतन्त्रका लागी सुखद नरहेको किरणको आशय छ ।

यस्ता छन् प्रधानमन्त्रीलाई किरणले दिएका तत्काल र दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने विषयहरु ।

तत्काल सुधार गर्नुपर्ने विषयहरु :

निर्वाचन चिन्ह – राजनैतिक दलहरूले निर्वाचनमा आफ्नो चिन्ह प्रयोग गर्न नपाउने कुरा अलोकतान्त्रिक पद्धति हो । ४ वर्ष पहिले सम्पन्न आम निर्वाचनको मतलाई केन्द्रमा राखेर अस्तित्वमा रहेका दलहरूलाई मात्र चिन्ह उपलब्ध गराउने कुरा अवैज्ञानिक मात्र होईन जनभावना बिपरित छ । पुरानो जनमतलाई आधार बनाउने र केही सिमित दललाई सहज तरिकाले चिन्ह उपलब्ध गराउने विभेद अन्त्य होस् ।
सबै राजनैतिक दलहरुलाई निर्वाचन चिन्ह प्रयोग गर्ने वातावरण मिलाउने कुराको अविलम्ब थालनी होस् ।

निर्वाचन समय – आम निर्वाचन हुँदै प्रदेश र स्थानीय तहको निर्वाचन क्रमशः हुनुपर्ने हो , अथाह तिनै तहका निर्वाचन एकै समयमा हुनुपर्छ । सरकारले संविधान संसोधन गरेर निर्वाचन सप्ताहको सुनिश्चितता गरिनुपर्छ जसले गर्दा आवधिक निर्वाचन एकै समयमा हुने र गराउने कुरामा राज्य प्रतिबद्ध हुन्छ ।

निर्वाचन प्रक्रिया – स्थानीय तह देखि आम निर्वाचन सम्म उम्मेदवारहरुले करोडौं खर्च गर्नुपर्ने बाध्यात्मक अबस्था छ ।
निर्वाचन पैसा हुनेहरुको शक्ति आर्जन गर्ने उत्सव जस्तै बनिरहेको छ । उम्मेदवारहरुलाई सामान्य निर्वाचन प्रचारका लागी सरकारले बजेट ब्यबस्थापन गरोस् । नागरिक समाज,मिडिया र संबैधानिक अंगका अधिकारीहरु सहितको निर्वाचन सुपरिवेक्षण गठन गरेर निष्पक्ष तरिकाले निर्वाचन आचारसंहितालाई पालना गरियोस् ।
नियम बिपरित जाने उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने पद्धति बसाल्नु ढिलाइ नगरौं ।

दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने विषयहरु :

प्रत्यक्ष निर्वाचन – नेपाली जनतालाई प्रत्यक्ष रूपमा आफ्नो सरकार प्रमुख चुन्न पाउने अधिकारको सुनिश्चितता नगरेसम्म लोकतन्त्र पुर्ण हुन सक्दैन । प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने पद्धति संविधान संसोधन वा जनमतसंग्रह द्वारा स्थापित हुनुपर्छ ।

शक्ति पृथकिकरण – कार्यपालिका,न्यायपालिका र व्यबस्थापिका बीच शक्ति संतुलन हुनुपर्छ । सरकार प्रमुख चुन्ने अधिकार व्यबस्थापिकालाई प्रदान गर्नु हुदैन, व्यबस्थापिकालाई कार्यपालिकामा प्रवेश गर्न रोक लगाउनुपर्छ ।

बुधबार किरणले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।

तपाईको प्रतिक्रिया