चुनावको तयारीमा एमाले, प्रदेशस्तरीय प्रशिक्षण गर्दै

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निर्वाचनको तयारीमा होमिएको छ। एमालेले चुनावको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ।

महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन्।

सरकारले ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रमको आयोजना गरेको एमालेले जनाएको छ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ।

प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषय, स्थानीय तहमा पाँच वर्ष उपलब्धी र अनुभव र स्थानीय तह निर्वाचनको तयारीमा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुको बिषयमा छलफल हुने भएको छ।

प्रशिक्षणमा प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सह इन्चार्ज, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट निर्वाचित जिसस प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख र पालिका पार्टी कमिटीका अध्यक्ष सहभागी हुने जनाएको छ।

तपाईको प्रतिक्रिया