महाकालीमा गाडी गुड्ने पुल बनाउन नेपाल र भारत बिच सम्झौता

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्न गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता भएको छ ।

पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा आज (मंगलबार) हस्ताक्षर भएको काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

सम्झौता पत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरे।

सम्झौतापत्रमा हस्ताक्षर हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसमेत उपस्थित थिइन्।

महाकालीमा बन्ने पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीच सीमापार आवतजावत सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई अझ दरिलो बनाउने अपेक्षा भारतीय दूतावासबाट जारी विज्ञप्तिमा गरिएको छ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्ध सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार सम्पर्कअनुरुप रहेको छ।

महाकालीमा पुल निर्माण चाँडै शुरु हुने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया