
कालीबहादुर नेपाली
जाजरकोट । वि.स.२०४२ साल असार १५ गते नलगाड नगरपालिका ६ भारगाउँमा वुवा लालबहादुर वली र आमा धनी वलीको माईलो सन्तानको रुपमा अर्जुन कुमार वलीको जन्मभयो । जन्मिएका केही बर्ष गाउँमा हाँस्दै खेल्दै विते । त्यतिवेला गाउँमा विद्यालय थिएनन् । भएका विद्यालयमा राम्रो संग पढाई समेत सूचारु थिएन् ।
विद्यालयमा पढाई गरेर भविष्य उज्जवल बनाउने सपना बोेकेर अर्जुन गाउँ बाट सदरमुकाम खलंगा झरे । सदरमुकाममा उनको घर थिएन् । काजिवारामा भाडाकै घरमा बस्न थाले । खलंगाको हनुमान प्राथमिक विद्यालय बाट उनले कखरा सिके । कखरा मात्र सिकेनन् प्राथमिक तह सम्म त्यही विद्यालय बाट पुरा गरे । घरपछिको दोस्रो पाठशाला बन्यो हनुमान प्राथमिक विद्यालय । त्यहाँ बाट प्राथमिक तह सकेर त्रिभुवन माद्यामिक विद्यालय खलंगामा कक्षा ६ मा भर्ना भए । छ कक्षा सकेर सात कक्षामा भर्ना भएर बार्षिक परीक्षा दिए ।
बार्षिक परीक्षाको रिजल्ट आएको थिएन् । त्यही वेला देशमा तत्कालिन माओवादीले शसस्त्र जनयूद्धको थालनी गरेको थियो । अर्जुनको परिवार त्यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य थिए । अर्जुन उमेरले १२ बर्षका थिए । माओवादीको जनयुद्धले ठुलो रुप लिदैथियो । गाउँगाउँमा माओवादी कार्यकर्ता पसे । तत्कालिन शाही नेपाली सेनाले पनि राजाको निर्देशन बमोजिम माओवादी कार्यकर्ता खोज्दै गाउँघर धाउन थाले ।
उनी त्रिभुवन माद्यामिक विद्यालयमा अध्ययन गरिरहेका थिए । एकदिन अहिलेका त्रिभुवन माद्यामिक विद्यालयका सहायक प्रधानध्यापक हरि सन्दर्भलाई कोठामा छोड्न जाँदा एक्कासी गस्तीमा रहेको सेनाले लखेट्यो । उनले भने, ‘यतिवेला हामी हरि सन्दर्भ सरलाई कोठामा पु¥याउन गएका थियौं, त्यही वेला सेनाले एक्कासी लखेट्यो, त्यहाँ बाट बचेर कोठामा गएर सुतेका थियौ, सन्जिव कार्की, रितेश कार्की र म, त्यही वेला सेनाले हामीलाई गिरफ्तार गर्यौ, सन्जिव शौचालय गएकोले उसलाई सेनाले केही गरेन, रितेश र मलाई वेस्सरी प्रहरीले कुट्यो’ उनले थपे, ‘काजिवारा कोठामा सुतेका हामीलाई प्रहरीले गाउँ बाट आएका माओवादी भन्दै कुटेर गैरीखाली सम्म पु¥यायो, त्यहाँ हामीलाई बर्साएर ३÷४ वटा लठ्ठी समेत भाँच्यो ।’
सेनाको कुटाईको पीडाले २०५४ सालमा पढ्ने सपनामा व्रेक लगाएर तत्कालिन माओवादीले सुरु गरेको जनयूद्धमा अर्जुन लागे । पार्टीमा प्रवेश गरेपछि अर्जुनले सेनाको भुमिका निर्वाह गरे । अहिलेका माओवादी नेता कालीबहादुर मल्ल, शक्ति बस्नेत, भक्तबहादुर शाहले उनलाई सपना देखाए । उनीहरुले देखाएको सपनामा उनी निरन्तर लम्कीरहे ।
वि.स. २०५४ साल मै साविक लहँ गाविस वडा ४ निवासी ताराकुमारी रावल संग वैवाहिक बन्धनमा बाँधिए । वैवाहिक बन्धनमा बाँधिएपछि ताराका परिवार काँग्रेस पार्टीका सदस्य, अर्जुनका परिवार राप्रपा थिए । अर्जुन मात्र माओवादी पार्टीमा लागेका थिए । समाजमा रहेका विकृति विसंगति, छुवाछुत, धनी गरिवी विचको विभेद अन्त्यका लागि अर्जुनले माओवादी अंगालिरहेको उनीहरुलाई थाहा नै थिएन् ।
ताराका परिवारले अर्जुन माओवादी भएको भन्दै पटकपटक धमक्याउने,छोरीलाई पाल्न सक्दैन् भन्दै टर्चर दिईरहेका थिए । विहे भएको केही समयपछि अर्जुन र तारा देश छोडेर भारतको हिमाञ्चाल प्रदेशको रुडु क्षेत्रमा गए । त्यही उनीहरुले पहिलो सन्तान छोरा जन्माए ।
२०५५ सालमा श्रीमति र नावालक छोरालाई छोडेर आमावावा भेट्न दशैको अवसर पारी अर्जुन नेपाल आए । नेपाल आएको केही समयपछि आफ्नी छोरीलाई अर्जुनले बेचेको भन्दै माइती पक्षले तत्कालिन जनसरकारमा मुद्धा दिए । माओवादीले थालनी गरेको जनसरकारमा जनताका न्यायका काम गरिन्थ्यो । त्यही वेला जनसरकारको टोली र माईतीपक्षले अर्जुनलाई खेप्न नसक्ने यातना दिई रहे ।
यातनाको विचमै अर्जुनले आफ्नो श्रीमति र छोरालाई निकै मायाका साथ भारतमा बसालिरहेको बताईरहेका थिए । तर माईती पक्षलाई भने विश्वास लागेको थिएन् । जनसरकार र माईती पक्षको कुटाई समेत अर्जुनले खाए । त्यसपछि आफ्ना ससुरालाई लिएर भारतको रुडु क्षेत्रमा गए । ६ सात महिना ससुरा उतै बसे । अर्जुनले कमाएको ३०÷४० हजार दिएर अर्जुनले ससुरालाई नेपाल पठाए । ज्वाईले छोरीलाई राम्रै संग पालेर राखेको सन्देश गाउँभरी दिए ।
२०५७ सालमा अर्जुन सह– परिवार सहित नेपाल आए । नेपाल आएको पहिलो दिन ससुराली गाउँ बसे । भोलीपल्ट आफ्नो घरतिर लागे । २०५७ सालपछि अर्जुन फेरी नियमित रुपमा माओवादी आन्दोलनमा जोडिए । जनमुक्ति सेना भए । माओवादीमा जोडिएर छोरीलाई पाल्न नसक्ने, छोरीलाई निकै धोका दिएको भन्दै माईती पक्षले पुनः जनसरकारमा मुद्धा दियो ।
मुद्धा पश्चात पार्टीले उनलाई कारवाही ग¥यो । माईती पक्षले माओवादी संग विवाह नगराउने भन्दै सम्बन्धविच्छेदको माग गरेपछि अर्जुन र तारा विच सम्बन्धविच्छेद भयो । अर्जुनले आफ्नी श्रीमति त्यागे तर पार्टी त्याग्न सकेनन् । २०५७ सालपछि परिवारको ख्याल नगरी निरन्तर माओवादी आन्दोलनमा लागे । जनमुक्ति सेनाभएपछि अर्जुनले एक दर्जन भन्दा बढी आन्दोलनमा सहभागी भए ।
चर्चित रुकुम खारा यूद्ध, कालिकोटको पिली, दैलेखको नौमुलीको यूद्ध, पूर्वको सन्धी खर्क, मालारानी सुर्खेत,रोल्पाको होलेरी, दाङ कुसुम, दाङ सेना ब्यारेक, जुम्ला, माझपाल डोल्पा लगायतका ठूलो युद्धमा अर्जुन सहभागी थिए । उनको घाँटीमा गोली लागेछ, हातका औला भाँचिएर काम गर्न सकिदैन्, खुटाका पिरौलामा सबै गोली लागेको छ ।
उनले भने, ‘अहिले कतिवेला निकै पछुतो लाग्छ, पार्टीका लागि भनेर परिवार समेत त्याग्न तयार भए, अहिले कहाँ छन् हामीलाई सपना बाँड्ने हाम्रा कमाण्डर ?’ त्यही जनयूद्धमा भएका घाउचोटहरुले उनी पटकपटक विरामी समेत परिरहन्छन् । चार बर्ष सम्म जनमुक्ति सेनामा सहभागी भएका अर्जुका आँखै वरिपरी ३ सय भन्दा बढी सहयोद्धाहरुले सहादत प्राप्त गरे । तर अर्जुनले कहिले हार नखाएका उनका सहपाठीहरु बताउँछन् ।
अर्जनले भने, ‘प्रचण्ड कामरेडले सपना मात्र देखाए, आम जनताका छोराछोरीहरुलाई घाईते बनाए, तर हामीले भनेको जस्तो क्रान्ति ल्याएनन्, कहिलेकाँही हामीलाई लाग्छ, जनताको छोराछोरीको रगतले प्रचण्डलाई किन पोल्दैन् ?’ जनमुक्ति सेनामा विताएका अर्जुन २०६३ सालमा शान्ति सम्झौता भएपछि उनी दाङ बसे ।
जनमुक्ति सेनालाई समेत पार्टीले ठुलो आशा देखायो । माओवादीकै नेतृत्वमा २०६४ साल चैत्र २८ गते पहिलो संविधान सभाको चुनाव तोकियो । अहिलेका माओवादी नेता कृष्णबहादुर महराको क्षेत्रमा चुनाव प्रचारप्रसारमा लागे । उनी संगै गएका कालीबहादुर मल्ल, भक्तबहादुर शाह, शक्तिबहादुर बस्नेत जाजरकोट फर्किए ।
दाङको चुनाव प्रचारपछि कृष्णबहादुर महरा विजयी भए । चुनावपछि पार्टीले खटाएको क्याटिनमा अुर्जन आए । उनले भने, ‘पहिले पनि प्रचण्ड र वैद्यको टिमविच मारामार थियो, उनीहरु छुट्न चाहान्थे, रोल्पा देखि गोरखाको पालुनटार सम्म पार्टी भित्र दुई लाईन संघर्ष चलिरहेको थियो, पछि गोरखाको पालुनटारमा गएर माओवादी दुई टुक्रा भयो, प्रचण्ड र वैद्य छुट्टिए ।’ त्यसपछि अर्जुन क्रान्ति सकिएको छैन भन्दै वैद्य टिममा लागेर दुई बर्ष काम गरे । वैद्यको टीमले पनि क्रान्तिलाई अगाडि बढाउन सक्दैन्, नयाँ क्रान्तिको परिकल्पना गर्न नसक्ने देखेपछि वैद्य टीम छोडे ।
विस २०७४ साल बाट नेत्र विक्रम चन्द ( विप्लव) ले नेतृत्व गरेको नेकपाको राजनीतिक यात्रा सुरु गरे । कहिले श्रीमति ल्याउने, छोराछोरी जन्माउने भन्ने कहिल्यै सोच्न पाएका छैनन् । विगत छ बर्ष देखि जाजरकोटका गाउँ वस्तीमा एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद जिन्दावाद भन्दै जनतामाझ गईरहेका छन् ।
नेपाली जनताको मुक्ति र जनतामुखि राज्य सत्ता बनाउने संकल्प बोकेर अर्जुन महाभारतका अर्जुन जस्तो दृष्टि राखेर बढीरहेका छन् । हामीले गरेको प्रश्न थियो, तपाईले किन प्रचण्ड, वैद्य र विप्लव रोजिरनुभएको छ ? उनले भने, ‘जनयूद्ध शुरु गर्दा फेरी नेपाली राजनीतिमा प्रचण्ड हिरो थिए, उनको धेरै राम्रो विचार थियो, तर पछि संविधान सभाको निर्वाचनपछि उनी दलाल संसदीय व्यवस्थामा भुले, उनले गर्न नसक्ने भएपछि वैद्यले गर्छनकी भनेर त्यहाँ गए उनी पनि त्यस्तै रहेछन्, अव नयाँ जनक्रान्तिको बाटो हिड्नका लागि महासचिव विप्लवले ल्याएको वैज्ञानिक समाजवादी यात्रामा अहिले म छु ।’
कृषि क्रान्ति संग उत्पादन जोडेर राज्यलाई टेवा पुर्याउने, क्रान्तिलाई निरन्तरता दिने कुरामा महासचिव बाट धोका हुदैन् भन्ने कुरामा अर्जुनले ढुुक्क रहेको दावी गरे । क्रान्ति कै लागि अर्जुनले जीन्दगीको आधा दशक विताईसकेका छन् ।
उनी नेपाली जनताको मुक्तिका लागि लडिरहेका छन्, जनताको सरकारका लागि लडिरहेका छन्, आम मान्छेको परिवर्तनका लागि लडिरहेका छन् । जनयूद्ध लडेर बाँचेका उनी ज्यूदो सहिद मानिन्छन् । उनले भने, ‘क्रान्तिको यात्रा………. बाँकी छ ।’
















































। २५ पुष २०७८, आईतवार