रमाईलो मेला : जाडोमा नचाउँदै कलाकार


खलंगा । जाजरकोट उसैमा उच्च पहाडी जिल्ला । यहाँ मंसिर,पुस र माघ महिनाको अन्त्य सम्म निकै जाडो हुने गर्छ । यतिवेला पुस महिनाको आधा सयम वितिरहेको छ । यो निकै जाडो हुने समय हो । सोमबार देखि मौसममा आएको बदली संग यहाँका उच्च पहाडी क्षेत्रमा हिमपात र बेसी क्षेत्रमा बर्षा भयो । अहिले अत्याधिक जाडो बढिरहेको छ ।

विशेषत बालबालिका र वृद्धवृद्धाहरुलाई एकदमै समस्या भईरहेको छ । गाउँगाउँमा अत्याधिक आगो पात्ने, ध्वनी बाल्ने र बजार क्षेत्रमा हिटर तथा अन्य सामग्रीको प्रयोग भईरहेको छ । प्रत्येक बर्ष जाजरकोट सदरमुकाम खलंगामा लाग्ने रमाईलो मेला पनि लागिरहेको छ ।

रमाईलो मेलामा डोल्पा, दैलेख, जुम्ला र रुकुमका मानिसहरु मेला हेर्नका लागि आउँछन् । अहिले जाजरकोट यूवा क्रिकेट क्लवको आयोजनामा चलिरहेको मेलामा खेलकुदलाई प्राथमिकतामा राखिएको छ । संगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती पनि रहने गरेको छ ।

जाडोको समयमा सञ्चालित मेलामा बालबालिका देखि वृद्धवृद्धा सम्म कलाकार संगै नाचिरहेका छन् । कलाकारहरुले गीत गाउँछन्, नाच्छन् संग संगै दर्शकहरुलाई समेत नचाउने गरेका छन् । विहीबार लोकदोहरी गायक राजु सुनामले गीत आए धेरैलाई नचाईरहेका थिए । मेलामा गएका ५५ बर्षिय गोपाल वली समेत कलाकार संगै नाचिरहेका थिए ।

उनी भन्छन्, ‘कलाकार संगै नाच्दा जाडो पनि कता हराएर जान्छ, गीतको तालमा नाच्दा जाडोको महसुस हुन्न, क्या रमाईलो लाग्छ ।’ गायक बसन्त विकले समेत धेरैलाई नचाईरहेका छन् । एक दर्जन बढी कलाकारको प्रस्तुतिले रमाईलो मेला हेर्न आउने जो कोहीको मन नाँचिरहन्छ ।

अझ यहाँका पौराणिक खाँचो नाँच, सिंगारु नाँच, मयूर नाँचले समेत वृद्धावृद्धहरुको मन लोभ्याईरहेको छ । जिल्लाका सात वटै स्थानीय तहका पर्यटकीय स्थल, नाचगान, खेलकुदले यहाँ आउने दर्शकको मन लोभ्याईरहेको हुन्छ । बालबालिकाका लागि पिङ, घोडा दौडले समेत स–साना बालबालिकाहरु निकै खुशी हुने गरेको इतिहासकार राजुराजा सिंहले बताए ।

उनले भने, ‘अत्याधिक जाडोको समय बालबालिका देखि वृद्धवृद्धा सम्म नाँचिरहेका छन्, यसले एकदमै फाइदा गरेको छ ।’ मेलामा झण्डै एक हजार भन्दा बढी दर्शकहरुको उपस्थित भईरहेको मेला आयोजक समितिका अध्यक्ष अनिश कार्कीले बताए ।

उनले भने, ‘यस पटक यूवाहरुले सबैलाई नचाउने भन्ने सोेचेका थियौं, प्राकृतिक रुपमा मौसममा गडबडी आएर बर्षा संगै हिमपात भयो, यसले केही दर्शक घटाए पनि मेलामा दैनिक एक हजार भन्दा बढी आईरहेका छन् ।’ आगामी १८ गत्ते सम्म चेल्ले मेलामा लगातार कलाकारहरुको प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया