सल्यानका किसान बाख्रापालनबाट मनग्य आम्दानी


सल्यान । आफ्नै गाउँठाउँमा बाख्रापालन गरी सल्यानका किसानहरूले मनग्य आम्दानी गर्दै आएका छन् ।

कालीमाटी गाउँपालिकका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बाख्रापालनबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा उनले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रा पाल्दै आएका दीपेन्द्र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताउँछन्। स्थानीय जातभन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । ‘बाख्रापालनबाट मनग्य आम्दानी हुँदो रहेछ‚’ उनले भने ‘गाउँघरमै उद्यम गरे परिवारसँगै बस्न पाइएको छ ।’

व्यावसायिक बाख्रा फर्म सञ्चालन गर्दै आएका दीपेन्द्रले आफू बाख्रापालनबाट निक्कै खुशी भएको बताए ।

यस्तै‚ कालीमाटी–४ सालटाकुराका दुर्गाबहादुर खत्रीले पनि व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । स्थानीय खरी जातका बाख्रा पाल्दै आएका खत्रीले वार्षिक चार लाख रूपैयाँ आम्दानी हुँदै आइरहेको बताए। सुरुका वर्षमा लगानी उठाउन गाह्रो भए पनि अहिले भने सबै खर्च कटाएर चार लाख रूपैयाँ आम्दानी हुँदै आइरहेको उनको भनाइ छ ।

लकडाउनका समयमा बजार बन्द हुँदा बजारीकरणमा समस्या भए पनि अहिले बजारको कुनै समस्या नभएको खत्रीको भनाइ छ। व्यापारीहरु घरमै खरिदका लागि आउने भएकाले बिक्री वितरण गर्न समस्या नभएको उनले बताए ।

उनले भने‚ ‘बाख्रापालनबाट आएको आम्दानीले घरखर्च देखि छोराछोरी पढाउनेसम्म यसैबाट हुँदै आइरहेको छ ।’

घरका सबै सदस्य व्यवसायमा संलग्न रहेको बताउँदै उनले अब स्थानीय जातका बाख्रालाई विस्तारै विस्थापित गर्दै उन्नत जातका थप्ने सोच बनाएको बताए ।

बाख्रापालनका लागि यो क्षेत्र निक्कै अनुकुल भएको बताए । पछिल्लो समय बढ्दै गएको बेरोजगारीका समस्यालाई समाधान गर्नका लागि आफ्नो ठाउँ र सो अनुसारको वातावरणमा लगानी गर्न सके आत्मनिर्भरता बढ्दै जाने उनी बताउँछन् ।

सल्यानबाट महिनामा २०० देखि ३०० वटा सम्म खसीबोका जिल्लाबाहिर निर्यात हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार सल्यानमा झन्डै ४ लाख बाख्रा रहेका छन् ।

तपाईको प्रतिक्रिया