जाजरकोटका २३ हजार विद्यार्थीलाई स्कुलमै कोरोना खोप लगाइने

४८ हजारले लगाए कोरोना खोप


जाजरकोट  । जाजरकोटमा हाल सम्म ४८ हजार २ सय ४१ जनाले कोरोनाविरुद्ध खोपको दुवै मात्रा लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिएका हुन् ।

गत बर्ष देखि जिल्लामा सञ्चालन भएको खोप कार्यक्रममा ४८ हजार बढीले खोप लगाएको बुढाथोकीले बताए । जिल्लामा खोपको उपलब्धता पर्याप्त मात्रामा रहेको छ । स्थानीय सरकारले जनतालाई खोप लगाउन जागरुक गराउनुपर्ने दायित्व भएपनि उनीहरूले भनेजति चासो नदेखाउने गरेकाले खोप अभियानमा लक्ष्य प्राप्ति गर्न सकिएको छैन ।

जिल्लाका सात वटै पालिकामा कोरोना विरुद्धको खोप अभियान चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

२३ हजार बालबालिकालाई विद्यालयमै कोरोना खोप
जिल्लाका १८ वर्ष मुनिका बालबालिकाहरुलाई पनि कोभिड विरुद्धको मोडर्ना खोप लगाईने भएको छ । १८ वर्ष माथिका नागरिकका लागि विगत १ वर्ष अगाडि देखि नै खोप कार्यक्रम संचालन भएकामा अव भने १८ वर्ष मुनिकालाई पनि खोप लगाउन लागिएको छ । पुष ४ गतेदेखि १४ गतेसम्म जिल्लाभरमा मोडर्ना खोप कार्यक्रम संचालन हुन लागेको हो । १८ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरेर मोडर्ना खोप कार्यक्रम बिद्यालयमै संचालन हुन लागेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर बुढाथोकीले जानकारी दिए ।

१२ देखि १८ वर्षका बालबालिकाहरु बिद्यालय उमेर समुहभित्र पर्ने भएकाले बिद्यालयमा पुगेर खोप लगाईने उनले बताए । मन्त्रालयबाट २ सय सम्म बिद्यार्थी भएका विद्यालयमा खोप केन्द्र राख्ने मापदण्ड रहेको भएपनि जिल्लामा भौगोलिक अवस्थालाई हेरेर त्यो भन्दा कम बिद्यार्थी संख्या भएको विद्यालयमा पनि खोप केन्द्र राखिने उनले बताए ।

तोकिएको उमेर समुहका कोहि पनि बालबालिका खोपबाट नछुटुन भन्नका लागि बिद्यालयमै पुगेर खोप कार्यक्रम चलाउन लागिएको खोप सुपरभाइजर अधिकृत बुढाथोकीको भनाई छ । उनका अनुसार जिल्लामा २३ हजार ७ सय ४० जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । स्वास्थ्य सेवा कार्यालयले खोप कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गरेको छ ।

स्थानीय तह, बिद्यालय, सुरक्षा निकाय, नागरिक समाज, विभिन्न संघसंस्था, मिडिया लगायत सबैलाई खोप कार्यक्रम सफल पार्न कार्यालयले आग्रह गरेको हो । त्यस्तै कार्यालयले आफ्ना बालबालिकालाई अनिवार्य खोपका लागि बिद्यालयमा लिएर सहयोग गर्न सबै अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया