जननेता बिपी कोइरालाको अप्रसारित त्यो अन्तर्वार्ता


स्वर्गीय बिपी कोइराला, नेपाली राजनीतिका सर्वकालीन शिखर पुरुष हुन् । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए भने नेपाली भाषाका अत्यन्त प्रभावशाली साहित्यकार पनि। नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपी २०१५ सालमा भएको आमनिर्वाचनमा दुईतिहाइ मतका साथ प्रधानमन्त्री बने। तर, तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते गरेको राजनीतिक ’कू’ पछि बिपीले पटक–पटक जेलनेल बेहोर्नुप¥यो। राणा शासन अन्त्यका लागि नेतृत्वदायी भूमिकामा रहेका बिपीले शाह राजालाई अधिकार दिलाउन निकै ठूलो भूमिका खेले पनि उनको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रह्यो।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वासनमा बसेर नेपालमा प्रजातन्त्र पुनर्स्थापित गर्न लागिपरेका बिपी भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएपछि उनको कदमको विरोध गर्दै वि.सं. २०३३ सालमा ’राष्ट्रिय मेलमिलाप’ को नीति अँगाल्दै नेपाल फर्किएका थिए।

नेपालमा आउनेबित्तिकै राजा वीरेन्द्रले उनलाई जेलमा कैदीको रूपमा राखेका थिए। बिपी क्यान्सर पीडित भएका कारण वि.सं. २०३५ सालमा उनलाई उपचारका लागि विदेश जान अनुमति दिइएको थियो।

स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर उनी लन्डन पुगेका थिए। उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका वेला बिबिसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइरहन्थ्यो। तर बिबिसी वर्ल्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी बिपीलाई ’लन्च’का लागि बोलायो। नेपाली सेवा छुट्यो।

त्यसपछि बिबिसी नेपाली सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारी बिपी बसेकै ठाउँमा पुगेर आधा घण्टा लामो अन्तर्वार्ता गरे।

तर त्यसवेलाको समसामयिक राजनीतिक विषयमा गरिएको अन्तर्वार्ता बिबिसीबाट प्रसारण भएन। प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसका नेता बिपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन भन्ने कुरा अहिलेसम्म पनि आफूहरूलाई जानकारी नभएको अन्तर्वार्ताकार बताउँछन्।

अन्तर्वार्ता लिनेमध्येका अर्का वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका अनुसार २०३५ सालमा अन्तिममा नेपालमा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिएको भोलिपल्ट लन्डनमा यो अन्तर्वार्ता लिइएको थियो।

प्रस्तुत छः नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालासँग वरिष्ठ पत्रकारद्वय राणा र अधिकारीले त्यस समयमा लन्डनमा लिएको अन्तर्वार्ता।

कोइरालाज्यू, स्वास्थ्यबारे नै प्रश्न गरौं– अहिले यहाँको स्वास्थ्य कस्तो छ?

अहिले मलाई राम्रो छ। अहिले मलाई घाँटीको समस्या छैन। यो लन्डनमा मौसमका कारण छातीमा समस्या भएर बिरामी परें। समग्रमा मेरो स्वास्थ्य राम्रो छ।

एकफेर राजनीतितिर जाऊँ, हालै नेपालमा श्री ५ महाराजाधिराज सरकारसँग यहाँको समझदारीमा वृद्धि भएको छ। यसको नतिजा तपाईंको विचारमा कस्तो होला जस्तो लाग्छ ?

महाराजाधिराज (तत्कालीन राजा वीरेन्द्र)सँग मैले नोभेम्बरमा दर्शन गरें र मलाई लागेका कुरा मैले बिन्ती गरें। महाराजाधिराजसँग के भयो, त्यो अहिले भन्न ठिक पर्ने छैन। तर वर्तमान परिस्थितिमा राजा र प्रजाको राम्रो समझदारी भएर मात्र हामी अगाडि बढ्न सक्छौं भन्ने जुन हाम्रो नीति छ, त्यो स्पष्टसँग मैले महाराजाधिराजका अगाडि राखें।

यदि हामीले राजतन्त्रलाई पनि जोगाउने हो र नेपाललाई पनि जोगाउने हो तथा सानो मुलुक, अप्रगतिशील मुलुक या सिद्धिने मुलुक नराखेर त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने हो भने हामी एक हुनैपर्छ।

त्यतिमात्रै होइन, मलाई लाग्छ ‘साउथ एशिया’मा हामी नेपालीले एउटा भूमिका निर्वाह गर्न सक्छौं। ‘साउथ एशिया’मा अहिले हामी एशियाको हालत देखिरहेका छौं, पाकिस्तानको हालत त्यस्तै छ, अनिश्चितजस्तो लाग्छ। बङ्गलादेशमा ‘इलेक्सन’ त भयो तर अवस्था त्यस्तै छ। इन्डिया पनि ‘स्टेबल’ त छ तर त्यस्तै छ। तर, हामी एक भयौँ भने सानो मुलुक भए पनि छाप छोड्न सक्छौं। यो कुरा महाराजाधिराजलाई बिन्ती गर्दा महाराजाधिराजको बडो ’एप्रिसियटिभ जेस्चर’ थियो।

महाराजाधिराजले दुई–चार ठाउँमा तिमीले भनेको कुरा ठिक हो भन्ने हुकुम भयो। म फर्केर (नेपाल) गएपछि फेरि महाराजाधिराजसँग भेट्ने कोसिस गर्दै छु। पक्कै पनि भेट होला, त्यसवेला एक भेटले पुग्दैन, बीचबीचमा भेटिरहनुपर्छ भन्ने कुरा भएको थियो। खालि मलाई लागेको एउटै दुःखको कुरो के भने यत्रो राम्रो वातावरण
भइरहेको थियो, हामी पनि राम्रो गर्ने कोशिस गरिरहेका थियौं। महाराजाधिराजले पनि जसमाथि यत्रो ‘क्रिमिनल चार्जेज’ छ त्यस्तो मान्छेलाई दरबारमा भेट्नु भयो। यद्यपि महाराजाधिराजमाथि पनि दबाब थियो। नभेट नभेट भन्ने दबाब थियो। त्यही पनि मलाई भेट्नु भयो। त्यो एउटा ‘जेस्चर’ थियो।

त्यस्तो राम्रो भइरहेका बखत दुईजना राजनीतिक बन्दीलाई प्राणदण्ड दिइयो, त्यो पनि दुई वर्षपहिले तिनीहरूले प्राणदण्डको सजाय पाएका थिए र त्यसको ‘मर्सि पेटिसन’ महाराजाधिराजकहाँ थियो। राम्रो भइरहेका वेला हठात् लगेर गोली हानेर मारियो। त्यसले अलिकति वातावरण खलबलियो। यो दुर्भाग्य भए पनि राम्रो प्रयत्न रहनुपर्छ। त्यो कुरा म कुरा फर्केर गएर गर्छु। यो मृत्युदण्ड पनि राजामाथिको दबाबका कारण होला। कुनै ‘हार्डलाइनर’हरूको तत्कालीन विजय उनीहरूको दिगो विजय हो जस्तो लाग्दैन।

राजा र प्रजामा मेल नहोस् भन्ने जुन तत्त्वहरू थिए‚ तिनीहरूले परिस्थिति बिगार्न मृत्युदण्ड दिन लगाएको जस्तो लाग्छ तर जे होस् म आशा लिएर फर्किन लागेको छु। ६ तारिखका दिन म ‘कोर्ट’मा हाजिर हुनुपरेको छ। तपाईंहरूलाई थाहा होला जुन मान्छेलाई मृत्युदण्ड भयो, त्यही ’केस’मा बहस हुन लागेको छ। त्यही ’केस’मा ६ तारेखमा म अदालतमा हाजिर हुनुपरेको छ। मलाई त्यसमा रिहाइ दिइएको छ।

मेरा लागि पनि यो एउटा ’ग्रिम सिचुएशन’ (खराब अवस्था) भयो नि तर जे होस् मैले आशा लिएको छु। किन आशा लिएको छु भने नेपालको ’फ्युचर’ छ। ’फ्युचर’ नै छैन, नेपाल अगाडि बढ्ने नै हैन, नेपाल सानो भुटानजस्तो भएर बस्ने हो भने अर्कै कुरा हो, हैन भने नेपालको भविष्य छ भने हामी एक त हुन्छौं, हुन्छौं। राजा र प्रजामा एकता हुन्छ, हुन्छ। अनि मात्रै हामी प्रगति गर्न सक्छौं भन्ने विश्वासले म पूरा आशावादी छु।

अहिले नेपालमा तपाईंको के राजनीतिक आकांक्षा छ ?
मेरा दुईवटा कुरा छन् – नेपालमा पूर्ण प्रजातन्त्र स्थापना होस् र आर्थिक विकास होस्। राजनीतिक ’भायबल सिस्टम’ ’डेमोक्रेसी’भन्दा कुनै हुन सक्तैन र आर्थिक दृष्टिबाट पनि एउटा भायबल स्टेट (सक्षम देश) होस्। अहिलेको विकास र आधुनिक कुरामाथि माथि मलाई विश्वास छैन। म के चाहन्छु भने नेपालका गाउँ सुधार होऊन्।

मेरो लक्ष्य जब हाम्रो जिम्मेवारी या केही होस्, योजना भयो भने हामीले गाउँलाई लक्षित गर्नेछौं। गाउँका मान्छेलाई के कुराको जरुरत छ ? त्यो पूरा गर्नेछौं। अहिलेसम्म के कुरा भइरहेको छ भने पढेलेखेका मान्छेहरू सहरमा मात्र केन्द्रित छन्। गाउँका मान्छे भाग्दै सहर पुग्न थालेका छन्। गाउँ छुट्न थालिरहेको छ।

त्यसकारण गाउँका मान्छेलाई यसरी ’मोटिभेट गर्ने कि गाउँका मान्छे गाउँमा बसून्। पहिला गाउँको विकास हुनुप¥यो अनि मात्र हाम्रो न्यूनतम विकास हुन्छ। त्यसकारण अहिले मलाई राजनीतिक, स्थिरता, प्रजातन्त्र, ’मोनार्किकल डेमोक्रेसी’ (संवैधानिक राजतन्त्र) र अर्को त्यस्तो अर्थ व्यवस्था जसले गाउँको सुधार गरोस्। गाउँका आवश्यकता पूरा गरोस्।

फेरि शक्तिमा आउने, प्रधानमन्त्री बने कुनै आशा इच्छा छ ?
त्यो र मेरो व्यक्तिगत कुरा हो। प्रधानमन्त्रीभन्दा पनि ठूलो उद्देश्य छ। प्रधानमन्त्री त मान्छे मान्छे बने, कति मान्छे बनेनन्। अहिले पनि प्रधानमन्त्री छँदै छन्। त्यसकारण प्रधानमन्त्री मेरा लागि ठूलो उद्देश्यको कुरा भएन। मलाई देशलाई अगाडि लैजाने मन छ।

देशले आफ्नो भूमिका खेल्ने अवसर पाएन। हामी एकताबद्ध भएनौं। मेरो त देशलाई लिएर कत्रो उद्देश्य छ भने साउथ एशियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं। अहिले त हाम्रो ’रियाक्सन पोलिटिक्स’ छ। कहिले ’इन्डियालाई खुसी पार, कहिले चीनलाई खुसी पार, कहिले के गर। हामीले कुनै योगदान गरेका छौं ’साउथ एशियन’ क्रान्तिमा ? त्यो चाहि हामी गर्न सक्छौं भन्ने लाग्छ। त्यसकारण म प्रधानमन्त्री हुने–नहुने ’नो रिलेभेन्ट (प्रासङ्गिक छैन)।

वर्तमान पञ्चायती प्रजातन्त्रप्रति यहाँको के राय ?
यो न पञ्चायत हो न प्रजातन्त्र हो। यो ’करप्सन’ र डिक्टेटरसिप’को अर्को नाम हो। ’डिक्टेटरसिप’ भनौं भने यो राजालाई पनि फाइदा छैन। मैले यो कुरा पनि राजासँग भने। यो सरकारको निहित स्वार्थको कुरा हो, यो व्यवस्था राख्ने भन्ने कुरा। सरकारले यसलाई टेवा दिएर अड्याइरहेको छ। ’नट द्याट सिस्टम ह्याज कन्ट्रिब्युटेड एनी स्ट्रेन्थ टु द स्टेबिलिटी अफ द थ्रोन।’ (यो व्यवस्थाले राजगद्दीलाई स्थिरता प्रदान गरेको छैन।)

’थ्रोनले चाहिँ यसलाई अड्याएर राख्नुपर्छ। त्यसो हुनाले यो ’सिस्टम ब्लेजर अफ द पिपुल नट अफ द क्राउन। दिस सुड बी डिसमेन्टल्ड एज सुन एज पोसिबल इन द इन्ट्रेस्ट अफ द कन्ट्री।’

कोइरालाजी, तपाईंले वेलावेला भन्दै आउनुभएको छ, नेपालमा राजसत्ता हुनैपर्छ। यो चाहिँ हाम्रो देशका लागि एकताको प्रतीक हो। तर, राजाको अहिले जुन भूमिका छ, त्यसमा तपाईं अवश्य केही फरक चाहनुहुन्छ होला।

मैले ’डेमोक्रेसी’ त भनेकै छु नि। मैले के भनेको छु भने ’मोनार्की र डेमोक्रेसी इज कम्फर्टेबल कन्सेप्सन’। ’मोनार्की डिक्टेटरसिप’ पनि हुन सक्छ। ’डेमोक्रेटिक’ पनि हुन सक्छ। जहिले म ’प्राइमिनिस्टर’ थिएँ, त्यसबखत पनि ’मोनार्की थियो। हाम्रै नेपालमा ’मोनार्कीले विभिन्न रूप धारण गरेको छ। कहिले ’मोनार्की बन्दी भएर बसेको छ (राणाको पालामा १०४ वर्षसम्म)।

कहिले दुईवटा ’मोनार्की भएर बनेको छ, एउटा भागेर दिल्ली बसेको छ (तत्कालीन राजा त्रिभुवन) एउटा चाहिँ सानो ज्ञानेन्द्र राजा भएर बसेको छ। एकचोटि ’इलेक्ट्रोल’ भएर ’कन्स्टिच्युसनल’ भएर बसेको छ। फेरि अहिले ’डिक्टेटरियल मोनार्की छ। त्यसकारण ’मोनार्की भनेर भएन। हाम्रो इच्छा के हुन्छ भने ’इन द डेमोक्रेटिक फ्रेमवर्क मोनार्कीको ठाउँ छ। ठाउँ मात्रै होइन, बडो ’इफेक्टिभ’ र इज्जत छ र रोल पनि छ।

किनभने अहिले देशलाई अगाडि जानुपरेको छ। स्क्र्याचबाट डेभलप गर्नुपरेको छ। सबैको ’एफोर्ट, ’नेसनल एफोर्ट चाहिएको छ। ’किङकोको अपरेशन नभई त्यो पनि गाह्रो पर्छ। त्यो कुरा ’लेट किङ’ (महेन्द्र) सँग पनि भनेको थिएँ। ’लेट किङ’सँग मेरो एकपटक बाझाबाझजस्तो पनि भएको थियो। ’लेट किङ’ले या तिमी बस या म बस्छु भने जस्तो कुरा गरे।

त्यसमा मैले भनेको थिएँ, दुवैको ’रिप्रेजेन्टेटिभ अवयव छ जनताको पनि र ’मोनार्की पनि। किनभने विकासको ’जब हार्ड जब’ हो। यसका लागि ’नेशनल एफोर्ट’ चाहिन्छ त्यसैले ’मोनार्की’ पनि राख्न चाहन्छु म तर ’अन्डर द डेमोक्रेटिक फ्रेमवर्क’।

तपाईंले नेपालमा जुन प्रजातन्त्रको परिकल्पना गर्नुभएको छ, त्यस स्थितिमा राजाको कुन भूमिका भएको देख्न चाहनुहुन्छ ?
मैले त अस्ति राजासँग यो कुरा बिन्ती गरें। म एकै पटक ’डेमोक्रेटिक सिचुएशन’ हुन्छ भनेर अहिले कल्पना पनि गरिरहेको छैन। यो अलि व्यावहारिक कुरा पनि छ। तर ’लिशरलाइजेशन प्रोसेस’ भने हुनुपर्छ। तर ’द्याट प्रोसेस विल लिड टु रिभ्यालुयशन अफ द मोनार्की। जो कि एउटा संवैधानिक होला।

जसले अलिकति ’पावर वेस्ट’ गर्ला। या पूरै संवैधानिक होला। यो त क्रान्तिको एउटा प्रक्रिया भयो। ’प्रोसेस मस्ट बी स्टार्टेड, पिपुल मस्ट ह्याव द राइट्स। मलाई लाग्छ ’मोनार्की’ कहिले पनि एउटा संवैधानिक ’आर्टिकल’को ’फ्रेमवर्कमा ’डिफाइन’ हुने ’टर्म्स’ होइन। यो त कस्तो छ भने ’डे टुडे इन्भल्भ’ भएर ’इन द प्रोसेस अफ द वर्किङ इन द कन्सिट्च्युसन’। संसद् र राजाबीच सम्बन्ध विकास गर्छ। त्यो कसरी गर्ने हो? ’ह्वाट रोल द किङ विल प्ले ह्वाट रोल द पार्लियामेन्ट’। यो त राजाको इच्छाशक्ति र राजनीतिक नेतृत्व लिने व्यक्तिमा भरपर्छ।

२००७ सालमा तपाईं हामी सबैले भन्यौं कि प्रजातन्त्र पायौं। ००७ साल अगाडि (राणा शासनकाल)को स्थिति र अहिले (पञ्चायत) को स्थितिलाई कसरी दाँज्नुहुन्छ?

००७ सालमा प्रजातन्त्र पायौँ भन्नुको मतलब के थियो भने प्रजातन्त्रका विभिन्न अङ्गजस्तो राजनीतिक दललाई काम गर्न दिने, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, बिना रोकतोक बोल्न पाउने स्वतन्त्रता त्यो सबै पाएका थियौं त्यो समय।

राजनीतिक दल बने। कम्युनिस्ट पार्टी पनि बने। २०१५ सालमा निर्वाचन पनि भयो। त्यसमा कम्युनिस्ट पार्टी पनि चुनिएर संसद्मा पुगे आयो। प्रजातान्त्रिक
गतिविधि भएकै थिए। त्यसैले हामीले प्रजातन आयो भनेका हौं। हामीले प्रजातन्त्र बलियो भयो भनेका थिएनौं। तर अब र हामी यो पुरानै अवस्थामा गयौं। कस्तो रोचक भने अहिले जुन पञ्चायत भन्ने नाम छ, २००४ सालमा पद्म शमशेरले पञ्चायत नभनी यस्तै कुरा गरेका थिए। त्यसैले यो कुनैं कुरा होइन।

राजाहरूले देशका लागि सोचेर नयाँ कुरा गरेका हैनन्। आफूले कसरी अधिकार नछोड्ने भनेर सोचेका हुन्। आफ्नो अधिकार दिनु नपरोस् भनेर पुकारिएको हो।

त्यसो भए ००७ सालपूर्वको नेपाल र अहिलेको नेपालमा तपाईं केही फरक देख्नु हुन्न?
होइन, म धेरै फरक देख्छु। फरक किन देख्छु भने मान्छेको ’एटिच्युट’मा, मान्छेको ’मेन्टालिटी’मा म फरक देख्छु। मान्छे शिक्षित भएका छन्। तर भित्रपट्टि ’पोलिटिकल सिन गभरमेन्टल सिन’ चाहिँ पहिला राणा शासनमा जस्तो थियो‚ अहिले पनि त्यस्तै छ।

विभिन्न जाति, भाषा, संस्कृति तथा चालचलन भएको नेपाल जस्तो देशमा दलगत राजनीति हुन दिँदा समेत दल, जाति, भाषा, सम्प्रदायले आ–आफ्नो स्वार्थमात्र हेर्ने हुन्छ र त्यस्तो अवस्थामा राष्ट्रिय एकता नरहेर देश टुक्रिन जान्छ भन्ने धेरैको भनाइ छ। यसमा यहाँको के धारणा छ ?

यसलाई राम्ररी बुझ्नुपर्छ। ००७ सालको क्रान्ति हुनुपूर्व नेपालीलाई गोरखाली भन्थे। हामी विराटनगरबाट काठमाडौं जाँदा नेपाल जाने भन्थ्यौँ। त्यो तपाईंहरूलाई पनि सम्झना होला।

विराटनगर जाने हुँदा मधेश जाने भनिन्थ्यो, नेपाल भनिदैनथ्यो। बाहुनका लागि अर्कै, मगरका लागि अर्कै, क्षेत्री र गुरुङका लागि अर्कै कानुन थियो। ००७ सालको क्रान्ति हुँदा मलाई लाग्छ‚ नेपालको इतिहासमा पहिलोचोटि जातिलाई बिर्सिएर बाहुन, क्षेत्री, मगर, गुरुङ, नेवार सबै राणा सिध्याउने भनेर क्रान्तिमा लागेका थियौं।
पहिलो ’नेशनल इमोशन’ त्यही भयो, हामीले ’जय नेपाल’ भनेर ’कल’ दियौं। मेचीदेखि महाकालीसम्म नेपाल हो भन्यौँ। नत्र हाम्रा राजालाई गोर्खाली राजा भन्थे।

त्यसपछि राजनीतिक दलहरू बने। मानौँ हामी ठूलो पार्टी भयौँ रे। कम्युनिस्ट पार्टीले पनि महाकालीदेखि मेचीसम्म उही नारा दिन्थ्यो। कम्युनिस्ट पार्टीको जो सदस्य हुन्थ्यो, चाहे बाहुन होस्, गुरुङ होस्, नेवार होस् त्यही कुरा त्यहाँ बोल्नुपर्थ्यो। म नेपाली कांग्रेसमा जे कुरो बोल्थेँ, देशभर नेपाली कांग्रेसको सदस्यले मैले बोलेकै कुरा बोल्थ्यो। मधेशी भनेर बोल्दैनथ्यो।

त्यसको परिणाम ०१५ सालको निर्वाचनमा विभिन्न साम्प्रदायिक पार्टी पनि बने। तराई कांग्रेस भन्ने पनि बन्यो। त्यसका अध्यक्ष वेदानन्द झा थिए। अहिले राजाले राजदूत बनाएर राखेका छन्। अध्यक्षले भने अहिले तराईका नागरिकलाई ’सेकेन्ड क्लास सिटिजन’ पारियो। त्यो अध्यक्षको खिलाफमा सिरहामा हामीले टिकट दिलाउनुपर्छ त्यो पनि उसकै समुदायमा भनेर म आफै सिरहा गएँ।

एउटा गरिब पहाडी, जोसँग तीन बिगाहामात्र जमीन थियो, उसलाई टिकट दियौं। त्यो व्यक्तिले निर्वाचनमा वेदानन्द झाको ’सेक्युरिटी डिपोजिट’ जफत गराए। त्यसमा राष्ट्रियता थियो कि थिएन ? अर्को कुरा सरोज कोइराला महोत्तरीमा थिए। त्यहाँ एकजना राजपूत थिए। मलाई धेरैले भने– सरोज त पहाडी भए, राजपूतलाई उभ्याइदियो भने तराई भनेर जित्छ।

मैले तराईका पार्टी नेता कार्यकर्तालाई बोलाएर यस्तो कुरा आइरहेको छ भनेर कसलाई टिकट दिने भनेर सोधें। त्यहाँ भनियो, तराईमा तराईकै व्यक्तिलाई टिकट दिने हो भने तपाई किन पार्टी खोलेर बस्नुहुन्छ ? त्यसो हो भने हामी वेदानन्द झाको पार्टीमा जान्छौं। कार्यक्रममा भोट नपाउने र जातिमा भोट पाउने हो भने के भयो र ? तराईमा मान्छेले मलाई भने, झाहरूले भने। सरोज कोइरालाले टिकट पाए। उनले पनि वेदानन्दको पार्टीको उमेदवारको ’सेक्युरिटी डिपोजिट’ जफत गराए।

फेरि अर्को कुरा भन्छु,लिम्बूवानमा। अहिलेसम्मकै सबैभन्दा ठूलो लिम्बूलाई पाँचथरमा बाहुनले धक्का दिन्छ। पार्टी नरहेको भए त उनीहरूको बोलवाला हुन्थ्यो नि।
पार्टी भन्नेबित्तिकै त्यहाँ ह्विप हुन्छ। मेचीदेखि महाकालीसम्म कम्युनिस्टले उही झण्डा लिन्छ। उही कुरा भन्छ। मेरा मान्छेलाई भोट देऊ हामी यसो गर्छौं। त्यो हुनाले पार्टीले जातिगत भावनालाई तोड्छ अरूले सक्तैन। सकेन भने राजनीतिक दलले कार्यक्रम दिन्छ। अहिले पार्टी छैन।

यही नै घातक हो। अहिले चुनाव भयो भने तपाई मलाई भोट देऊ भनेर माग्नुहुन्छ। अरू के भन्न सक्नुहुन्छ ? म संसद्मा गएर यो गर्न सक्छु भन्न सक्नुहुन्छ ? एउटा मान्छेले संसद्मा के गर्छ? पार्टीले नै जिम्मेवारी र अधिकारका साथ बोल्न सक्छ, कार्यक्रम दिन सक्छ। त्यसलाई कार्यान्वयन गर्न सक्छ।

राष्ट्रिय विषयमा छलफल र बहस गर्न सक्छ। राजासँग सम्बन्ध राख्ने कि नराख्ने भन्ने विषयमा कांग्रेसभित्र बहस हुन्छ, कम्युनिस्टभित्र बहस हुन्छ। पार्टीभित्रको एउटा सदस्य राईले आफ्नो कुरा राख्न सक्छ।

पार्टीको विचार राख्छ उसले। राई भनेर त राख्दैन। त्यसैले पार्टी नहुँदा चाहिँ अहिले राष्ट्रियता खतरामा छ। तपाईं अहिले काठमाडौं जानुभयो भने जनता भन्छन्– नेवारले बिगा¥यो। दरबारभित्र नेवार छिरेका छन्, त्यसैले बिगा¥यो भन्छन्।

पर्वतेहरूले त्यस्तै, मधेशमा भयो दोस्रो दर्जाको नागरिक भयौं भन्छन्। किनभने कुनै पनि विषयमा जनतालाई सहभागी गराइएको छैन। पार्टीको कार्य हो जनतालाई कार्यक्रम दिने र त्यसमा सहभागी गराउने।

००७ सालको क्रान्तिको कुरा गर्दा राणाजीहरूले ००७ सालअगाडि उनीहरूले १०४ वर्ष एकलौटी शासन चलाए त्यसको विरुद्धमा ००७ सालमा क्रान्ति भयो। तपाईंको व्यक्तिगत विचारमा के राणाजीहरू त्यत्तिका खराब थिए कि उनीहरूका विरुद्ध त्यत्रो क्रान्ति हुनुप¥यो ?

त्यो वेला उनीहरू शासक थिए। राणा भनेर होइन। राणा त मेरा ’बेस्ट फ्रेन्ड’ थिए। क्रान्तिमा ’कमरेड इन आम’ (सुवर्ण शमशेर) राणा नै थिए। महावीर शमशेर थिए। अरू पनि कति राणा थिए। अहिले पनि कति राणा मेरा साथी छन्। मेरा शुभचिन्तक कति राणा नै छन्। ’ए’ क्लासका राणा पनि छन्। त्यसैले मैले राणा परिवारको विरोध गरेको हैन। उनीहरूले शासन गरेका हुनाले हामी राणावाद भन्थ्यौँ। त्यो ’सिस्टम’को खिलाफ थियो, राणाको खिलाफ थिएन।

त्यो सिस्टममा सुधार भएको भए त्यो वेलाको स्थिति हुँदैनथ्यो होला ?

त्यसमा सबैभन्दा पहिला त वंशका आधारमा प्रधानमन्त्री हुनु हुँदैनथ्यो। दुईवटा समानान्तर अफिस (श्री ५ र श्री ३) हुनु हुँदैनथ्यो। अनि एउटा संसद् हुनुपर्थ्यो। सबै कुरा थिएन। प्रजातान्त्रिक अधिकार नै थिएन।

धेरै भन्छन्– त्यो वेलाका राणाहरूले हिन्दुस्तानमा अंग्रेजहरूले जे गरिहेका थिए, नेपालमा पनि उनीहरूले त्यही गर्न खोजिरहेका थिए। अथवा उनीहरू अंग्रेजको सल्लाहमा बढी भर गर्थे। सन् १९४७ मा अंग्रेजले हिन्दुस्तान छाडेको केही समयपछि नै नेपालमा राणा शासन अन्त्य भयो। यसमा यहाँको कतिको सहमति छ?

ब्रिटिसको सबैभन्दा ठूलो ’क्राउन’ थियो ’इन्डिया’। त्यसैले ब्रिटेनले ’इन्डिया’मा अलिकति ’डाइरेक्ट आफ्नै रुल’मा राखेको थियो भने अलिकति ’न्याटिभ स्टेट’को जिम्मामा दिएको थियो। त्यो ’न्याटिभ स्टेट’मा पनि ’हाइरार्की’ थियो। कसैलाई धेरै अधिकार, कसैलाई थोरै अधिकार थियो। कसैलाई धेरै तोपको सलामी त कसैलाई कम तोपको सलामी थियो। त्यही ’हाइरार्की’मा सबैभन्दा माथि नेपाल पनि थियो तर पूरै नियन्त्रण गरेको थियो।

कतिसम्म भने १९२३ मा ’ट्रिटी अफ फ्रेन्डसिप’मा ’इन्टरनल इन्डिपेन्डेन्स’ स्वीकार गरे पनि ’फरेन रिलेशन’ उनीहरूकै सल्लाहमा हुन्थ्यो। नेपालको स्वतन्त्र सम्बन्ध बाहिर कतै पनि थिएन। उनीहरूले अनुमति दिएपछि मात्रै हुन्थ्यो। अर्को बडो चाखलाग्दो कुरा ’इन्डिया’मा स्वतन्त्रताको आन्दोलन जतिजति हुन थाल्यो, उतिउति ’न्याटिभ स्टेट’लाई सार्वभौम बनाउँदै गएका थिए।

सन् १९४७ मा छोड्ने वेलामा ६ सय ’स्टेट’लाई सार्वभौम बनाएर छोडेका थिए। यद्यपि ’दे एडभाइज्ड’ कि तिमीहरू ’इन्डिपेन्डेन्ट’ हुन सक्तैनौँ। तर हाम्रो ’ट्रिटी ल्याप्स’ ग¥यो।

त्यो बेला कश्मीरलगायत धेरै स्वतन्त्र हुन खोजका थिए। नेपाललाई गोर्खा भनेर चिन्थे र नेपालको ’नेशनल सेन्टिमेन्ट’ नआओस् भन्ने चाहन्थे। दार्जीलिङमा पनि त्यही थियो। दार्जीलिङमा पनि मैले एक वर्ष वकालत गरेको छु। गोर्खालीहरूलाई ‘इन्डियन नेशनल प्लान’बाट अछूतो राख्ने उनीहरूको योजना थियो। राणाहरूलाई ठूलो भर थियो। हठात् उनीहरूले छोडेर जानुपरेपछि राणाहरू आधाररहित भए र ’पावर होल्ड’ गर्न सकेनन्।

अन्त्यमा, नेपालको वर्तमान एउटा नीतिबारे प्रश्नः हाम्रो देशको असंलग्न परराष्ट्र नीति छ, त्यसबारे यहाँको के विचार छ?
असंलग्न त हामीले गर्नैपर्छ। नेपालको ’एक्जिस्टेन्स’का लागि पनि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपरेको छ। तर, यो जुन असंलग्न परराष्ट्र नीति छ, अहिले ‘पोजेटिभ’ भएको छैन भन्ने मेरो भनाइ छ। कस्तो छ भने ’इन्डिया’लाई केही ’कन्सिडर’ गर्नेबित्तिकै चीनलाई पनि गरिदिनुपर्छ।

’इन्डियासँग कुरा गर्नेबित्तिकै चीन तर्सियो होला भनेर एउटा ’डेलिगेशन’ जानुपर्ने अवस्था छ। यो त कुनै स्वतन्त्र राष्ट्रको जस्तो त भएन। असंलग्नजस्तै हुनुप¥यो नि। चीनलाई खुसी पार्ने हो कि ’इन्डिया’लाई खुसी पार्ने हो ? यसमा मलाई के लाग्छ भने असंलग्न नीति ’विकनेस’ जस्तो भएको छ। ’पोजेटिभ पोलिसी’ भएको छैन।

(राजा महेन्द्रले प्रधानमन्त्रीबाट बिपी कोइरालालाई बर्खास्त गरी जेल हालेको दिन पुस १ गतेको सन्दर्भ)

(वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको सौजन्यबाट प्राप्त) #thahakhabar.com#

तपाईको प्रतिक्रिया