कुशेमा सञ्चारको पहुँच विस्तार गर्न दश वटा रेडियो सेट वितरण

कालीप्रसाद थापा
कुशे । जिल्लाको कुशे गाउँपालिकामा सञ्चारको पहुँच विस्तार गर्न दश वटा रेडियो सेट वितरण गरिएको छ । दैविक प्रकोप, बाढी पहिरो लगायतका विपद्का घटनामा परेकाहरुलाई तत्काल उद्धार गर्न सजिलो हुने भएकोले दश वटा रेडियो सेट वितरण गरिएको हो । गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवाले काम नगर्दा निकै समस्या भएपछि रेडियो सेटहरुको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित अन्य वडाध्यक्षहरु र स्थानीय पत्रकारहरुलाई उक्त सेट वितरण गरिनेछ । कुशे गाउँपालिकामा नेपाल टेलिकमका मोबाइल नेटवर्कका लागि टावर बनेपनि सञ्चालनमा नआउँदा स्थानीयलाई निकै समस्या हुने गरेको छ ।

आफन्त संग कुराकानी गर्न, स्थानीय जानकारी दिन समेत मुस्किल परेको अवस्थामा गाउँपालिकाले रेडियो सेटहरु वितरण गरेको गाउँपालिकाले जनाएको छ । आफुहरु मोबाइल टावर सञ्चालनमा पहल गरिरहेको समेत अध्यक्ष बस्नेतले बताए । कुशेमा सञ्चालनमा आएको स्थानीय रेडियो पृथ्वी एफ.एमलाई समेत सूचना प्रवाहमा सजिलो हुने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया