दिवसमा मात्र बाल अधिकार, सरकारी काममै श्रम बेच्न बाध्य बालबालिका

                                                               गिट्टी कुट्दै बालिका : तस्विर
जाजरकोट । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना अभाव तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोग कार्यक्रमको अभाव लगायतका कारण समेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।

दशकौँदेखि जाजरकोटमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैँचा कारखाना, जरी कारखाना, इँटाभट्टा, आदि) लगायत घरेलु श्रममा पनि बालबालिकालाई संलग्न गराइएको देखिएको छ ।

प्रत्येक बर्ष भाद्र २९ गते राष्ट्रिय बालदिवस मनाईछ । दिवसको असर पारी विभिन्न संघ संस्था तथा सरकारी कार्यालयले बाल अधिकारका कुरा गर्छन् । बालदिवसको रौनकता सकिए संगै बालअधिकारको समेत कुरा हुन् छाड्छ । यस बर्षको बालदिवसमा पनि जाजरकोटका सरकारी तथा गैरसरकारी कार्यालयको आयोजनमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । बालदिवसका दिन मात्र सरकारी निकायले कुरा उठाउने अन्य समय बालबालिकाको क्षेत्रमा चासो नदिएको बालबालिकाहरुको गुनासो छ ।

सन् २०१९ मा चीनको वुहान सहर बाट सुरु भएको कोरोना भाइरस ( कोभिड १९) ले बालबालिकाहरुमा ठुलो असर पा¥यो । जाजरकोट जिल्लामा पनि कोरोना महामारीले बालबालिकाको क्षेत्रमा मानसिक तथा सामाजिक क्षेत्रमा ठुलो असर पारेको त्रिभुवन माद्यामिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत विनिता विकले बताईन् ।

उनले भनिन्, ‘कोरोना महामारी फैलिएको वेला, हामीलाई के गरौं, कहाँ जाने, एक्लो भएको महसुस हुने, मानसिक चिन्ता पढ्ने लगायतका समस्या देखिए, तर सरकारी कुनै निकायले हामीलाई कुनै खालको तालिम, प्रशिक्षण दिनुभएन’, ‘दिवसका दिनमा मात्रै बालबालिकाले बाँच्न पाउँनुपर्छ, सहभागीता जनाउने, संरक्षण कुरा गर्छन् कोरोना महामारीमा परेका बालबालिकालाई आत्मा बलियो बनाउने थालका कार्यक्रमको आयोजना समेत गरिएन्’ उनले थपिन् ।

उनी मात्र होइन् कार्यक्रममा सहभागी बालबालिकाहरुले सरकारीवाला निकाय संग गुनासो पोखेका छन् । ‘लामो समय सम्म विद्यालय बन्द रहे, विकसित मुलकमा बालबालिकाहरुलाई अनलाईन माध्यम बाट पढाई गरियो, हाम्रो गाउँमा फोनले समेत काम गर्दैन कसरी अनलाईन कक्षा पढ्न सकिन्थो र ?’ शिव माद्यामिक विद्यालय कालेगाउँमा अध्ययनरत्त छात्रा कौशिला वलीले प्रश्न गरिन् । विद्यालय शिक्षा बाट व्यञ्चित भएका बालबालिका सरकारी काममा निकै व्यस्त देखिन्थे ।

सरकारी काममा श्रम वेचेर दुुई पैसा कमाउन बाध्य भएको नागरिक समाज जाजरकोटले जनाएको छ । बालदिवसमा लगाएका नारा सधैं प्रयोगमा आउने हो भने बालबालिकाहरुलाई निकै सहज हुने सहिद स्मृति यूवा क्लव जाजरकोटका अध्यक्ष प्रेम विकले बताए । उनले भने, ‘हामी बालदिवसको दिनमा मात्रै बालबालिका सम्बन्धी नाराहरु लगाउँछौ, अगाडि पछाडि बालबालिका सम्बन्धी कुनै खालको कुरा समेत गर्दैनौं ।’ सरकारी काममा बालबालिले धमाधम श्रम वेचिररहेका हुन्छन् सरकारी निकाय मौन भएर बस्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको भनाई छ ।

बालबालिका भनेको एउटा गिलो माटो जस्तै हो । गीलो माटोलाई जे बनाउन खोज्दापनि सकिन्छ त्यस्तै बालबालिकाहरुलाई पनि आफ्नो परिवारसँग भरपर्छ । आफ्नो छोराछोरीलाई कुन वाटो देखाउँदा राम्रो हुन्छ भन्ने कुरामा आफ्नो परिवारले धेरै नै ध्यान दिनुपर्ने भेरी नगरपालिका कार्यपालिका सदस्य मनकला नेपालीले बताईन् ।

बालबालिकालाई आफुले जे कुरा सिकायो त्यही कुरा सिक्ने गर्छन् । त्यसैले हामीले आफ्नो बालबालिकाहरुलाई सधै राम्रो बोल्न, सिकाउने गर्नुपर्छ । त्यस्तैगरी राम्रो काममा लाग्नलाई मात्र सिकाउनुपर्छ । यदि आफ्नो बालबालिकाहरुलाई राम्रोकुरा सिकाएन भने कुलतमा फस्ने शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका प्रमुख रमेश मल्लले बताए । अहिलेको समयमा हेर्ने हो भने, कतिपय मान्छेहरु कुलतमा फसेर बिग्रिएको देखिन्छन् । कतिको छोराछोरीहरु कुलतले गर्दा नै अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । त्यसैले गर्दा आफ्नो बालबालिकहरुलाई हामीले समयमै राम्रो कुरा सिकाउने गर्नुपर्छ सहिवाटो देखाउने गर्नुपर्छ । नेपालमा दिनहुँदिन घटिरहेको बलात्कार, हत्या, हिंसाहरुलाई अन्त्य गर्नको लागि भाषण मात्र होइन् ।

संबिधानमा लेखिएका कानुनहरु पनि कार्यन्वयन गर्न आवश्यक रहेको छ । त्यस्तैगरी बालबालिकामाथि यसरी दिनानुदिन घटिरहेको हिंसा, दुव्र्यवहार, बलात्कार रोक्नको लागि प्रहरी, नागरिक समाज, घर परिवार तथा व्यक्ति आफै एकजुट हुनुपर्छ । बलात्कार गर्नेलाई सजाय दिने र पिडितलाई न्याय दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।

तपाईको प्रतिक्रिया