जुम्लामा एमालेको सिंगो जिल्ला समिति नै एकीकृत समाजवादीमा


जुम्ला । नेकपा एमाले जुम्लाको सिंगो जिल्ला समिति नै एकीकृत समाजवादी पार्टीमा खुलेको छ । नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एकजना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका हुन्।

नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेका सबै संगठनहरु समाजवादी पार्टीमा रहेको जनाएको दाबी गरेको हो।

नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन्। धीरबोहोरा मनोनीत सदस्य भएकोमा पार्टीले यसअघि निष्कासन गरिसकेको थियो। योसँगै युवासंघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्रध्यापक संघ, शिक्षक संगठन, निजामती कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादीतिरै रहेको एकीकृत समाजवादीले दाबी गरेको हो।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको छ। सचिव आदिप्रसाद न्यौपानेले जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकायालगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए। उनले भने, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जितेका सबै जनप्रतिनिधिले समाजवादीमा सनाखत गरिसकेका छन्। केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले यही २२ गते सम्म गर्ने तयारीमा छन्।’

जुम्लामा सूर्य चिन्हको अवधि सकियो

जुम्ला प्रदेश क्षेत्र ‘ख’ का सांसद पदमबहादुर रोकायालगायत ७० प्रतिशत समाजवादीमा लागेको जनप्रतिनिधिले जुम्लामा सूर्य चिन्हको अवधि सकिएको बताए। केन्द्रदेखि जिल्लासम्म केपी ओली गुटमा बा प्रवृति हाबी भएका कारण सूर्य चिन्हको समय अवधि सकिएको बताए।

केपी बाले गरेका गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको खुल्ला किताब चिन्ह उदाएको सचिव आदिप्रसाद न्यौपानेले बताए।

त्यस्तै सांसद रोकायाले भने, ‘यो पार्टी कुर्सीका लागि होइन। यो पार्टी हरेक अनैतिकताको विरुद्ध लड्ने जुझारु पार्टी हो। ’जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओलीनिकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए। सांसद रोकायले भने, ‘अहिले हामी संकटमा छौँ। पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि हामी नै हौँ। अहिले अर्को पार्टी गठन गर्नु परेको छ। यो केपीको अहंकारका कारणले हो।‘

उनले आफूले २०७० र २०७४ सालको चुनावमा माधव कुमार नेपालको प्यानलबाट चुनाव लडेको बताए। पहिले माओवादी केन्द्रसँग पार्टी एकता गर्नु केपी ओलीको ठूलो भूल रहेको पनि बताए। एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी सञ्चालनमा भएका समझदारी कार्यन्वयन इमान्दारीता साथ कार्यन्वयन गरेको भए यो अवस्था नआउने पनि उनले बताए।

‘हरेक बाडफाँडमा विभेद गर्न थाले। माधव नेपाल निकटलाई पेल्न थाले। विधि,पद्धति र प्रक्रिया मिच्न थाले। यो एकीकृत समाजबादी त्यसैको उपज हो’ उनले भने।

जुम्लामा ओलीको एमाले शून्यमा झ¥यो

सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरेका छन्। उनले पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे।

उनले कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कव्जा गर्ने ठोकुवा गरे। तत्कालीन नेकपा एमालेका सचिव तथा हालका नेकपा एकीकृत समाजवादीका नेता आदिप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्यता रहेको बताए।

उनले थपे,‘ एमाले २५ प्रतिशत होला तर अब यो पनि घट्दैछ। ’उनले आगामी चुनावमा माओवादीसँग तालमेल गरेर भए पनि चुनाव जित्ने बताए। नेता न्यौपानेले भने,‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ। एक वर्षभित्र पार्टीको आफ्नै भवन हुनेछ। एमालेभन्दा ठूलो पार्टी बन्नेछ ।‘

तपाईको प्रतिक्रिया