सल्यानका ६४ स्थानीय जनप्रतिनिधिले नेकपा (एस) रोजे


सल्यान । सल्यानका स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

जिल्लाका १० स्थानीय तहका १४२ जनामध्ये एकैदिन ६४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले बिहीबार एकजनाले र बाँकी ६३ जनाले शुक्रबार सनाखत गरेको जानकारी दिए ।

स्थानीय तहका प्रमुख एक, उपप्रमुख एक र १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा (एकीकृत समाजवादी) सल्यानका सचिव रमेश गौतमले बताए। एमालेले एक मेयरसहित ४ स्थानीय तहमा निर्वाचित भएको थियो। सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले २७ वडा जितेको थियो । सिद्ध कुमाख गाउँपालिका ४ का वडाध्यक्ष शिक्षक भएर गएर पछि का.भा. अध्यक्ष एमालेले पाएको छ ।

जिल्लाका स्थानीय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले बताए ।

कार्यव्यस्तताले शुक्रबार आउन नसकेका जनप्रतिनिधिहरु भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया