जुनीचाँदेका वडाध्यक्ष नेपाली पक्राउ

May be an image of 1 person, standing, outerwear, suit and outdoors
खलंगा, २१ साउन । जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष नेपालीलाई बिहीबार घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले बाँधेर अध्यक्ष नेपालीले कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

वडा अध्यक्षलाई पक्राउ गरेर जिल्लामा ल्याइरहेको छ प्रहरी निरिक्षक पाण्डेले भने–‘हामीले सिडिओ साब, कानुन व्यवसायी सबैसंग समन्वय गरीरहेका छौं, अध्यक्षलाई कानून बमोजिम कारबाही हुन्छ, युवालाई कुटेको भिडियोका आधारमा हामीले मुद्दा चलाउँने छौं ।’

पीडित युवा सर्पे दमाइलाई पनि हामीले सदरमुकाम बोलाइएका छौं, पीडितले अहिलेसम्म जाहेरी नदिए पनि उहाँको धारणालाई पनि हामीले बुझ्छौं प्रहरी निरिक्षक पाण्डेले भने–‘अमानविय तरिकाले युवालाई कुटपिट गर्ने अध्यक्षलाई पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही गर्न प्रहरी तयारी अबस्थामा रहेको छ ।’

तपाईको प्रतिक्रिया