दुई मन्त्रालय लिएर सरकारमा जाँदै कर्णालीमा काँग्रेस


सुर्खेत, २० जेठ । कर्णाली प्रदेशमा कांग्रेस सरकारका जाने भएको छ । कांग्रेसले दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने भन्दै आजसम्म चुप बसेको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन वैशाख ३ गते माओवादी केन्द्र नेतृत्वको सरकार अर्थात् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर शाहीको सत्ता जोगाएको थियो । केही समयमै सरकारमा जाने सहमति भएको कांग्रेस तर आफूले दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने भन्दै मौन बसेको हो ।

कर्णाली प्रदेशसभाको तेस्रो ठूलो दलको रुपमा नेपाली कांग्रेस रहेको छ। प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्षसमेत रहेका सांसद दीनबन्धु श्रेष्ठले साँझ छलफल भइरहेको र साँझसम्ममा निर्णय बाहिर आउने बताए । प्रदेश सरकारले दुईवटा मन्त्रालय दिने भएपछि आजै (बिहीबार) सरकारमा जाने तयारी भएको हो ।

कांग्रेस स्रोतका अनुसार सरकार तथा पार्टीसँगको सहमतिमा कांग्रेसले सुर्खेतका सांसद यज्ञबहादुर बिसीलाई सामाजिक विकास मन्त्रीमा र जुम्लाका सांसद दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा पठाउने भएको छ ।

पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने शर्त राखेको थियो ।

हाल ३५ सदस्य रहेको कर्णालीमा प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ ।

नेपाली कांग्रेसले माओवादी सरकारलाई जोगाउन वैशाख तीन गते विश्वासको मत दिएको सँगै ६ महिनापछि संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् ।

तपाईको प्रतिक्रिया