शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

 

काठमाडौं : नेपालमा पछिल्लो समय कोभिड–१९ संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्र एक हजार ९६ जना र भने सोमबार १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जारी कोरोना महामारीकै असर शिक्षा क्षेत्रमा सबैभन्दा बढी परेको छ। सरकारले अति प्रभावित १४ जिल्लामा विद्यालय वैशाख मसान्तसम्म बन्द राख्ने निर्णय लिइसकेको छ। गत वर्षदेखि नै महामारीका कारण पठनपाठनमा अवरोध झेलेका विद्यार्थीहरूको शैक्षिक भविष्षमा कोरोनाको जारी दोस्रो लहरले थप असर पार्ने पक्कापक्की छ।

घना आवादीयुक्त क्षेत्र नै कोरोनाको उच्च जोखिममा रहने गर्छ। यस्ता क्षेत्रमा बसोबास र पठनपाठन गर्ने विद्यार्थीहरूकै पढाइ कोरोनाका कारण बढी बिथोलिएको छ।

ललितपुरमा वैकल्पिक प्रणाली अपनाउन निर्देशन

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरपालिका क्षेत्र भित्रका सबै निजी तथा सामुदायिक विद्यालय ७ गतेबाट वैशाख मसान्तसम्म बन्द गरी वैकल्पिक प्रणालीबाट पठनपाठन सञ्चालन गर्न सबै विद्यालयहरूलाई निर्देशन दिइसकेको जानकारी दिए।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पनि अघिल्लो कोभिड लहरमा समेत वैकल्पिक माध्यमबाटै पढाइलाई निरन्तरता दिएको बताए। उनले भने, ‘कोरोनाको पहिलो लहरपछि पनि स्वास्थ्यलाई ध्यानमा राखेर भौतिक कक्षा सञ्चालन गर्‍याैं, सबै विद्यालयलाई साबुन, माक्स र सेनिटाइजर प्रयोग गर्न लगाएकाले एक-अर्कामा रोग सर्न सकेन।’

महानगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय रहेका र कोभिड नियन्त्रणका लागि पनि आफूहरूले पहल गरिरहेको उनले बताए।

‘हामीले बढी भीडभाड नगर्न सर्वसाधारणलाई चेतना दिइरहेका छौं,’ उनले भने, ‘कोरोना नियन्त्रण गर्न थप योजनामा जुटेका छौं, दोस्रो चरणको खोप अभियान अगाडी बढाएका छौं, सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अपिल पनि गर्दछु।’

बालबालिकालाई कोरोना संक्रमण जोखिम अधिक हुने हुनाले विद्यालय समेत बन्द गरिएको उनको भनाइ छ।

भक्तपुरमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बढी स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्‌।

‘व्यक्ति शिक्षित र स्वास्थ्य बन्नुपर्छ, त्यसैले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेका छौं,’ उनले भनिन्‌, ‘कोरोना कारण कतिपय बृद्धबृद्धा र गर्भवती महिला घरभित्र बसिरहेका हुन्छन्‌, हामी निर्वाचित भएर आएदेखि नै नर्सहरू पठाएर औषधी उपचारसेवा दिइरहेका छौं, वडाहरूमा शिविर पनि चलाइरहेका छौँ, यतिखेर पुन: कोरोना संक्रमण बढेको छ, नियन्त्रण अभियान तीव्र बनाउँछौं।’

जनसंख्याको हिसाबले भक्तपुरमा बढी रहेकाले ती ठाउँमा बढी विभिन्न प्रकारका रोगीहरू भेटिने गरेको पनि उनले सुनाइन्‌। ‘हामीले ख्वप अस्पताल पनि निर्माण गरेका छाैं,’उनले भनिन्‌, ‘सञ्चालन गर्न स्वीकृति पाइसकेका छौं, निर्माण पनि सम्पन्न भैसकेको छ, अब सञ्चालनमा ल्याएर त्यहाँ पनि बिरामीको उपचार गर्छौं।’ आइसोलेसन कक्षाहरूको पनि व्यवस्था गर्ने तयारीमा जुटेको उनी बताउँछिन्।

‘पहिला पनि नगरबासीका लागि भक्तपुरको ब्रम्हायणी बहुउद्देश्यीय भवनलाई क्वारेन्टाइन बनाएर सञ्चालन गरी सेवा दियौँ, अब पनि आइसोलेसन व्यवस्था गर्दैछौँ, सरकारको सहयोग अनुसार हाइ डिपेन्डेन्ट युनिट(एचडीए)पनि सञ्चालन गर्न तयारी गरेका छौं,’ जोशीले थपिन्‌। कन्ट्याक्ट ट्रेसिङ कार्यलाई पनि अगाडी बढाउने उनको भनाई छ।

कोरोना संक्रमणदर बढ्दै गएकाले भौतिक उपस्थितिमा पढ्ने वातावरण नमिले अब बढी वैकल्पिक माध्यमबाट पढाई अघि बढाउने उनले बताएकी छिन्‌। उनका अनुसार नगरपालिकाभित्र ९२ वटा विद्यालय छन्। यी मध्ये ३६ वटा सामुदायिक र बाँकी निजी हुन्‌।

तपाईको प्रतिक्रिया