जसपाले निलम्बन गर्‍यो मुख्यमन्त्री पोखरेलको सरकारमा मन्त्री भएका चारै जनालाई

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सपथ खाएका चारै जनालाई स्पष्टीकरण सोध्दै पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।

उसले पार्टीको निर्णयविपरीत मन्त्री पदको सपथ लिएको भन्दै चारै जनालाई सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजीनामा गरी स्पष्टीकरण बुझाउन भनेका छन्। साथै, चित्तबुझ्दो जवाफ नदिएसम्म उनीहरूलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको जसपा यादवले जनाएका छन्।

सोमबार नै कांग्रेस, जसपा र माओवादीसहितका ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको सपथ लिएका थिए।

अयक्ष यादवले राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख गरेका छन्।

पार्टीले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा हस्ताक्षरसमेत गरेका साथीहरू कसरी मन्त्री बनेर जानुभयो किन यस्तो भयो, हामीले सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छौं,’ जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले सेतोपाटीसँग भने, ‘राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्नेछौ।’

यसैबीच जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरु सहभागि हुनु अनैतिक काम भएको बताएका छन्।  जसपा अध्यक्ष यादवले अत्यन्त गैर जिम्मेवारी र फोहोरी राजनीति भएको समेत बताए।

‘आफैंले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छ। अनि त्यसकै दुई घण्टामै मन्त्री बन्नु भनेको यो भन्दा अनैतिक काम केही हुन सक्दैन,’ उनले भने, ‘यसबारेमा हामी पार्टीमा छलफल गर्छौ। कसैले उक्साएको होकि भनेर छानविन समेत गर्छौं।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरूद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदले आजै मन्त्रीको सपथ लिएका छन्।

तपाईको प्रतिक्रिया