मुगुमा मेसिन नहुँदा स्वाव परिक्षणमा समस्या, एम्वुलेन्स मार्फत जुम्ला पु¥याईन्छ

मुगु, १७ वैशाख । कोरोना संक्रमणको जोखिम बढे पनि मुगुमा स्वाब परीक्षण कठिन बनेको छ । जिल्ला अस्पतालमा बिरामीको स्वाब परीक्षण गर्ने मेसिन नहुँदा मुगुमा संकलन गरिएको स्वाब एम्बुलेन्स मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाउनुपर्ने बाध्यता छ  । अक्सिजनको मौज्दात कम हुँदा संक्रमितको उपचारमा समस्या भएको छ  ।

जिल्ला अस्पतालमा अहिले ३ वटा मात्र अक्सिजन सिलिन्डर मौज्दात छ । ‘कसैलाई जटिल समस्या देखिए संक्रमितको ज्यान बचाउन मुस्किल हुने देखियो,’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले भने, ‘स्थानीय तहले पनि पूर्वतयारी अझै सुरु गरेका छैनन्, संक्रमण बढे स्थिति भयावह हुने देखियो ।’ स्थानीय तहले बेवास्ता गर्दा स्वाब संकलन गरी चेकजाँच गर्न जुम्ला पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । कार्यालयका अनुसार अहिलेसम्म मुगुमा चार जनालाई कोरोना संक्रमण देखिएको छ । सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सूचना अधिकारी नेपालीले बताए  ।

उनका अनुसार भारत र जिल्ला बाहिरबाट आउनेहरू बढेपछि जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको हो । ‘स्थानीय तहले पनि पूर्वतयारी गर्न आवश्यक छ,’ उनले भने, ‘तत्काल बाहिरबाट आउनेको स्वास्थ्य परीक्षण, औषधी व्यवस्थापन, आइसोलेसन स्थापना लगायत काम नगरे अवस्था नियन्त्रण गर्न गाह्रो हुने देखियो ।’ जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका चारवटै स्थानीय तहका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वार्षिक परीक्षा सञ्चालन भइरहेका विद्यालयको परीक्षा रोक्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।

उनका अनुसार कोरोना महामारीको जोखिम रोक्न जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र स्वाब परीक्षणका लागि पीसीआर मेसिनको व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । ‘बाहिरबाट आएकालाई अनिवार्य रूपमा १४ दिन होम आइसोलेसनमा बस्न अनुरोध गरेका छौं,’ उनले भने, ‘जोखिम फैलन नदिन सबै स्थानीय तहलाई पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ ।’ बजार क्षेत्रमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कुनै पनि भेला, पर्व र समारोहमा २५ जनाभन्दा बढीको जमघट नगर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया