सेनाको आक्रमणबाट बच्न गुफाको बास, हजारौं बर्मेली देश छोड्न बाध्य

 एजेन्सी : दुई दिनअघि मात्र सडकमा स्कुटरमा सवार यात्रुलाई म्यानमारको सेनाले चरालाई गुलेली हानेझैं निशाना नचुकाई ढालिदियो ।

स्कुटरमा सवार तीनमध्ये दुई जनाले ज्यान बचाउन सफल भए। एक जना गोलीले ढले। म्यानमारमा सेना क्रुरता दिन प्रतिदिन बढ्दै गएको छ। शनिबार पनि म्यानमारको वायुसेनाले सीमाको छेउमा एक मान्छेको अन्तिम यात्रामा अन्धाधुन्ध गोली हान्यो।

त्यहाँ केहि बच्चा लगायत धेरै व्यक्तिको मृत्यु भएको पनि दाबी अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

रोयटर्सले स्थानीय मिडियालाई उद्धृत गर्दै म्यानमारको दक्षिण पूर्वमा करेन राज्यमा सेनाको हवाई आक्रमणबाट सुरक्षित रहन नजिकका गुफामा लुकेको जनाएको छ। सेनाको आक्रमणको डरले करिब ३ हजारले बर्मा छोडेर थाइल्याण्डतर्फ लागेका छन्। केरन क्षेत्र यसअघि विद्रोही समूह करेन नेश्नल युनियन (KNU) द्वारा कब्जा गरेको क्षेत्र हो।

केएनयूका अनुसार सेनाले राति ८ बजेतिर आक्रमण गरेको थियो। फाइटर जेटहरूले उनको ब्रिगेड फोर्स-नियन्त्रित क्षेत्रमा बम खसालेको थियो। विद्रोही समूहले गत महिनाको सैनिकलाई कुटपिट गरेपछि गृहयुद्धको सम्भावना बढेको थियो।

सैनिक बर्बरता बढेसँगै अमेरिकाले व्यापार सम्झौता स्थगित गरिसकेको छ। ह्वाइटहाउसले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको बताएको छ। अमेरिकाले म्यानमारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको जनाएको छ।
सैनिक कारबाहीलाई लिएर विश्वका१२ देशका रक्षा प्रमुखहरूले म्यानमार सेनाको आलोचना गरेका छन्। यसमा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, इटली, डेनमार्क, ग्रीस, नेदरल्याण्ड, क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया र जापान समावेश छन्। उनीहरुले संयुक्त विज्ञप्तिमा जारी गर्दै म्यानमारको सेना र सुरक्षा सेवामा निःशस्त्र जनताको शक्ति प्रयोगको निन्दा गरेको जनाएको छ।

सेनालाई हिंसा रोक्न र म्यानमारका जनतासामु सम्मान र विश्वास पुनर्स्थापना गर्न आग्रह विज्ञप्तिले गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पेशागत सेना अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दछ। जनताको सुरक्षाका लागि सेना जिम्मेवार हुनुपर्छ। न कि उनीहरुलाई क्षति पुर्‍याउनका लागि।’

हालसम्म ४ सय भन्दा बढी जनताको मृत्यु भएको बताइएको छ। जसमा सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।

सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रुरता प्रदर्शन गरिरहेको छ। मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेको घटना बाहिरिएको थियो।

जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिनमायो चित सबैभन्दा कम उमेरका बालक हुन्।

तपाईको प्रतिक्रिया