सेनाको बर्बरता बढेसँगै अमेरिकाले म्यानमारसँग रोक्यो व्यापार सम्झौता


एजेन्सी : संयुक्त राज्य अमेरिकाले सोमबार म्यानमारमा लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यानमारसँगको व्यापार सम्झौता स्थगित गरेको छ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ।

सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ। अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गर्नु भएको विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्बहाली भएको हेर्न चाहन्छ भनिएको छ।

संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ।’

साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यानमारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ। उक्त सम्झौताबमोजिम दुई मुलुकले म्यानमारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ।

म्यानमारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो। तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन। यही कारण संयुक्तराज्य अमेरिकाले म्यानमारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदै छ।

उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यानमारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यानमार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही वर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिइन्। म्यानमार र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन।

गत वर्ष अमेरिकाले म्यानमारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो। तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यानमारका तयारी पोसाकका प्रमुख खरिदकर्ता छन्। यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन्। यी कारखानाले गरिबीको चपेटामा परेको म्यानमारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए

तपाईको प्रतिक्रिया