घट्ट नै जीवनको आधार

बन्द्री पन्त
जाजरकोट, ११ चैत्र । पछिल्लो समय जाजरकोटका धेरैजसो स्थानीयवासीको लागि घट्ट व्यवसाय स्वरोजगारको भरपर्दो माध्यम बनेको छ । यो व्यवसायबाट अधिकांश स्थानीयहरूको जीविकोपार्जन चलाउन सहज भएको देखिन्छ । घट्ट व्यवसाय थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने व्यवसाय हो । गाउँघरमा अन्नबाट पिठो पिस्न घट्टबाट जीविकोपार्जन गर्न सजिलो भएको छ । पानीबाट सञ्चालन हुने घट्टमा काठको पुदालो तथा पाइपबाट सञ्चालन हुन्छन् ।

अहिले सबैको सजिलो र जीवनस्तरमा परिवर्तन गर्न समेत यसले ठुलो टेवा पु¥याएको देखिन्छ । यसबाट कतिलाई स्वरोजगार बन्ने बाटो खुलेको बताउनुहुन्छ ३० वर्षदेखि घट्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका बारेकोटका भागिन्ते रावल । घट्टलाई व्यावसायिक रुपमा अघि बढाउँदा घर व्यवहार धान्न सहज भएको छ । घट्ट सञ्चालन गरेर जीवन गुजारा चलाउने परिवारको सङ्ख्या जाजरकोटमा १ हजारभन्दा बढी छ ।

यो व्यवसाय विशेष गरी यहाँका दलित समुदायको मुख्य पेसाको रुपमा रहेको छ । जग्गा जमिन तथा घर बासको अभाव हुने भएको हुँदा घट्ट व्यवसाय गरेर सानोतिनो गर्जो टार्दै आएको नलगाड–९ की घट्ट व्यवसायी मनकुमारी सिंहले बताईन् । अन्य विकल्प नभएपछि घट्टबाट गाउँलेहरूले पिठो, मकै, गहुँ, जौ लगायतको अन्नबाली उठाउँदै परिवारको गुजारा चलाउँदै आएका छन् । गाउँ गाउँमा सञ्चालन भएका घट्टको प्रवर्द्धन हुन भने सकेको छैन ।

पछिल्लो समय घट्टको लागि आवश्यक पर्ने पानीको स्रोत सुक्दै गएपछि समस्या भएको देखिन्छ । आधुनिक घट्टको विकास गर्न सके यसबाट सहज हुने बारेकोट–८ का वडा अध्यक्ष लालभक्त सिंहले बताए । गाउँ पिच्छे घट्ट सञ्चालनमा छन् । आर्थिक आम्दानी, सामाजिक ब्यवहार लगायत हिसाबले पनि यो पेसा धेरैको रोजाइ बन्न पुगेको छ । आधुनिक घट्टको विकास गर्न सके स्थानीयको जीवनस्तर परिवर्तन सहज हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया