२९ बर्षको उमेरमा ३५ बच्चाका पिता बनेका एक युवकको रोचक कथा


एजेन्सी । कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका छन । अमेरिकाको लस एन्जल्स निवासी केली गार्डीको अनलाईन ब्यापार पनि अहिले निकै फस्टाएको छ । तर उनी कुनै दैनिक उपभोग्य बस्तुको विक्रेता भने हैनन् । उनी स्पर्म डोनर अर्थात शुक्रकिट दान गर्ने एक पुरुष हुन । जसअनुसार अहिले गार्डीको अनलाईनबाट शुक्रकिट दान गर्ने अभियानले निकै तिब्रता पाएको छ ।

यस बारेमा उनले ब्रिटिस टिभी स्काई न्युजसंगको अन्तर्वार्तामा शुक्रकिट दान गर्दै आएको आफ्नो रोचक कथाका बेलिबिस्तार लगाएका छन । २९ बर्षका गार्डीले बताए अनुसार शुक्रकिट दान गरेर उनी अहिलेसम्म ३५ बच्चाका पिता भैसकेका छन ।


कोरोना महामारीका कारण विश्वभरका महिलाहरुसंग अनलाइन जोडिनु पर्दा आफ्नो ब्यस्तता निकै बढेको गार्डीले बताए । गार्डी लस एन्जल्सस्थित एक कंपनीमा पार्ट टाइम एकाउन्टेन्टको काम गर्छन । उनका दुईवटा फेसबुक एकाउण्ट छन । गार्डीले दुवै एकाउण्टबाट शुक्रकिट खोज्ने अभिभावकहरुलाई सहयोग गर्दै आएका छन ।

गार्डीको एउटा फेसबुक एकाउन्ट अमेरिकीहरुका लागि हो भने अर्को एकाउन्ट विश्वभरका मानिसहरुका लागि हो । २२ बर्षको उमेरदेखि शुक्रकिट दान गर्दै आएको केली गार्डीले बताए । गोरो वर्ण, राम्रो जिउडाल, तेजिलो दिमाग र स्वस्थ शरीरका कारण धेरैजसो महिलाहरु गार्डीको शुक्रकिट लिन चाहन्छन ।


स्काई न्युजसंग गार्डीले भने, “म दुनियाँलाई सहयोग गर्न चाहन्छु । त्यही भएर म शुक्रकिट दान गर्छु । त्यही क्रममा संसारका विभिन्न ठाउँहरु घुम्ने अवसर मिलेको छ ।” गार्डीले बताए अनुसार उनले शुक्रकिट दिएबापत पैसा लिंदैनन् । तर उनको घुमफिरको खर्च ब्यहोरिदिनु पर्छ । यो विषयको छिनोफानो एक सम्झौताको माध्यमबाट हुने गार्डीले बताए । गार्डीले भने, “यो विषयको निधो एक सम्झौताबाट गरिन्छ । मलाई घुमफिर गर्ने अवसर मिल्छ भने उनीहरुलाई स्वस्थ बच्चा मिल्छ । यसमा हामी दुवै पक्ष सन्तुष्ट छौं ।”

पछिल्लो रिपोर्ट अनुसार कोरोना महामारीका कारण मानिसहरुको यौन जीवन निरसपूर्ण बनेको छ । लकडाउन र सामाजिक दुरीका कारण डेटिङमा जाने र जोडी खोज्ने काम झण्डै बन्द जस्तै बनेको छ ।

गार्डीले बताए अनुसार आफुसंग शुक्रकिट लिंदा ९० प्रतिशत महिलाहरुले आर्टिफिसियल इनसेमिनेश प्रक्रिया अपनाउँछन । जबकी बाँकी महिलाहरु प्रत्यक्ष यौन सम्पर्कमा आउँछन ।

शुक्रकिट दान गर्ने तरिका कस्तो हुने भन्ने विषयको निर्णय शुक्रकिट लिन चाहने महिलाहरुले नै गर्ने गार्डीले बताए । गार्डीले बर्षमा ३ पटक यौनजन्य संक्रमणको परीक्षण गराउने द सनले जनाएको छ ।

तपाईको प्रतिक्रिया